सामूहिक खेतीमा युवा

‘बिरूवा उमार्न र तापक्रम मिलाउन नसक्दा सुरूवाती दिनमा घाटा सहनुपर्‍यो, अहिले भने एक वर्षको अनुभवले धेरै कुरा सिकायो’
सुम्निमा चाम्लिङ

(इटहरी) — सुनसरीको बराहक्षेत्र ९, प्रकाशपुर ढोलबजियाका छविलाल चौधरी, रघुवीर चन्द्रवंशी र अमिर निरौला कृषि कर्ममा रमाउन थालेको डेढ वर्ष भयो । कृषि पेसा अँगाल्नुअघि चौधरी अफगानिस्तानमा, चन्द्रवंशी र निरौला भने रोजगारीको क्रममा दक्षिण कोरिया पुगेका थिए ।

विदेशमा रहे पनि आफ्नै ठाउँमा केही गरौं भन्ने इच्छा उनीहरूको थियो । विदेशमा रहँदा उनीहरूबीच सामाजिक सञ्जालमार्फत उनीहरूको तरकारी खेती गर्ने योजना बन्यो । विदेशबाट फर्किएलगत्तै उनीहरूले सञ्चालकमध्येका छविलालको जमिन करारमा लिएर तरकारी खेती सोच बनाए । उनीहरूले १ बिघा ८ कठ्ठामा ‘टनेल’ बनाएर तरकारी खेती गर्दै आएका छन् । ६ लाख रुपैयाँ लगानीबाट खेती सुरु गरेका हुन् । हाल उनीहरूको दैनिकी फर्ममा बित्ने गरेको छ । बेमौसमी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण कम हुने भएकाले टनेल बनाएर तरकारी खेती गर्दै आएको छविलाल चौधरीले बताए ।

बेमौसमी तरकारी उत्पादन गर्न सके राम्रो आम्दानी हुने भएकाले टनेलको प्रयोग गरेको उनको भनाई छ । टनेलभित्र खुर्सानी, बोडी, साग, करेला, परवललगायत तरकारी लगाइएको छ । खुला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनी बताउँछन् ।

रघुवीर र अमिर कोरियामा रहँदा बिदाको समयमा कृषि फार्म पुग्ने गर्थे । त्यहाँको आधुनिक प्रविधिद्वारा गरिएको कृषि फार्म देख्दा उनीहरूलाई नेपालमा पनि गर्न सकिन्छ भन्ने सोच थियो । रघुवीरले भने, ‘विदेशमा प्रविधिबाट खेती भइरहँदा नेपालमा भने परम्परागत रूपमा खेती हुँदा निकै दुःख लाग्थ्यो ।’ छविलालको सामान्य तरकारी खेतीको अनुभवलाई आधार मानेर निरौला र चन्दवंशीले ‘सुन्दर कृषि फर्म’ सुरु गरे ।
गत वर्ष उनीहरूले २० लाखको कारोबार गर्न सफल भएका छन् । तरकारी खेतीबाट हाल मासिक १ लाख रुपैयाँ कमाइ हुने गरेको छ । तीन जनालाई रोजगारी दिएका छन् । ‘बिरुवा उमार्न र तापक्रम मिलाउन नसक्दा सुरुवाती दिनमा घाटा सहनुपर्‍यो,’ अमिरले भने, ‘अहिले भने एक वर्षको अनुभवले धेरै कुरा सिकाएको छ ।’ बिरुवामा लाग्ने किराबारे सचेत हुनुपर्ने उनको भनाइ छ । अत्यधिक नोक्सानी भएपछि भने उनिहरूले जेटिएको परामर्श लिन थालेका छन् । तरकारी खेतीमा मौसम मुख्य चुनौती हुने गरेको छ । समयानुसार तरकारी उत्पादन गर्न सफल भए राम्रो मुनाफा आर्जन गर्न सकिने अमिर बताउँछन् । अर्गानिक तरकारी खेतीमा उनीहरूको प्रयास छ । जैविक मलको प्रयोग बढी गर्ने गरेका छन् । विषादीरहित तरकारी खुवाउने उनीहरूको योजना छ ।

‘नगरवासीलाई सकेसम्म अर्गानिक तरकारी खुवाउने प्रयास गरेका छौं,’ रघुवीरले भने । हाल उनीहरूले सुनसरीभित्र तरकारी निर्यात गर्दै आएका छन् । माग अनुसार उत्पादन गर्न नसकेको उनले बताए । ‘उत्पादन गरिएको तरकारीका लागि बजारको समस्या छैन ।’ उनले भने । यस वर्ष आलु खेती विस्तार गर्ने योजना छ ।

उनीहरूको कामको मूल्यांकन स्वरुप बराहक्षेत्र नगरपालिकाले जेटिए परामर्श व्यवस्था गरिदिएको छ । नगरले गन वर्ष विषादिरहित तरकारी उत्पादनसम्बन्धी तालिम प्रदान गरेको थियो । तालिमपछि विषादिरहित तरकारी उत्पादन गर्नमा थप ज्ञान मिलेको छ । नेपालमा वार्षिक खर्बौं तरकारी आयात हुने गरेको अवस्था छ । यस्तो अवस्थामा केही प्रतिशत भए पनि आयात रोक्ने उनीहरूको लक्ष्य छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पढाइसँगै सीपले बनायो आत्मनिर्भर

सुम्निमा चाम्लिङ

धरान — हातमा सीप भए आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण यहाँको एक दम्पती बनेको छ । २९ वर्षीय उमेश परियार र ३१ वर्षीया सुनीता राई आफ्नै सीपका कारण स्वाविभानपूर्वक जीवन निर्वाह गरिरहेका छन् ।

उमेश दृष्टिविहिन छन् । सुनिता शारीरीक रुपमा अशक्त । उमेश जन्मजात दृष्टिविहीन हुन् । सुनिता भने १ वर्षको उमेरमा खुट्टामा समस्या भएपछि अशक्त बन्न पुगिन् । आर्थीक रुपमा सक्षम हुनुपर्छ भन्ने मान्यता राख्ने यी दम्पतीले गत वर्षदेखि हाङमाबुङ टेलर्स संचालन गर्दै आएका छन् । महेन्द्र बहुमुखी क्याम्पसको मुल गेट अगाडी उनीहरूको टेलर छ । त्यहाँ महिला पुरुषका सबै प्रकारका कपडा सिलाउने गरिन्छ ।

आजको समयमा समेत अपांगता भएका व्यक्तिलाई समाजले हेयको भावले हेर्ने गरेको यथावत छ । त्यसैले उनीहरू भने समाजमा अरुको साहारामा नबाची आफ्नो बलबुतामा केही गर्न चाहन्छन् । उमेश महेन्द्र क्याम्पसमा स्नातकोत्तर प्रथम वर्षमा र सुनीता स्नातक तेस्रो वर्षमा अध्यनरत छन् । इच्छा शक्तिलाई व्यवहारमा बदल्ने हो भने अपांगले सबलांग सरह केही गर्न सक्छन् भन्ने उनीहरूको बुझाई छ ।

‘शारीरीक रुपमा केही अप्ठ्यारा भएपनी मनमा इच्छा भए गर्न नसकिने भन्ने केही छैन ।’ सुनीता भन्छिन्, ‘मेरो श्रीमान संसार देख्न सक्नुहुन्न । म शारीरीक रुपमा अशक्त छु । तर पनि हामीले हरेस खाएका छैनौ ।’ पढाइलाई निरन्तरता दिने उनीहरूको योजना छ । पढाई खर्च जुटाउनका लागि टेलर्स संचालन गर्न परेको उनको भनाई छ । भोजपुरमा कक्षा १२ को परीक्षा साएर सुनिता धरान झरिन् ।

अपांग पुन स्थापना केन्द्रमा बस्दै दुई वर्षसम्म सिलाईकटाई तालीम सिकिन् । त्यही केन्द्रमा बस्दा उमेश र सुनीताको प्रेम बसेको थियो । केही वर्षको प्रेमसम्बधलाई उनीहरूले विवाहमा परिणत गरे । उमेश पनी सुनीताको साथ पाएपछी जिवनमा अघि बढ्न अझ सहज भएको बताउछन् । पढाई खर्च जुटाउनका लागि टेलर्स संचालन गर्ने योजना बन्यो । आफ्ना नातागोता साथै समाजसेवीहरूको सहयोग र १२ हजार रुपैया ऋण काढेर टेलर सञ्चालनमा आएको हो । हाल टेलर्सको कमाईबाट उनीहरूको घर चलेको छ । पढाइ खर्च जुटेको छ । उमेशले भने, ‘अपांगता भएकाहरूलाई सरकारले छात्रवृत्ति उपलब्ध गराईदिए शिक्षाबाट वन्चित हुनु पर्ने थिएन । तर बाध्यतावश पढाइ खर्चका लागि अन्य पेसा गर्न परेको छ ।’

उमेशले शिक्षा शास्त्रमा स्नातक पुरा गरेका छन् । उनीसंग शिक्षकको लाईसेन्स समेत छ । वर्षौ देखी शिक्षक आयोग खुल्न नसक्दा शिक्षक भएर काम गर्ने उनको सपना अधुरो रहेको छ । दृष्टिविहीन भएकै कारण कुनैपनि क्षेत्रमा रोजगार नपाएको उनको गुनासो छ । सुनीता भने पढाईसंगै सिलाईकटाईलाई निरन्तरता दिन चाहन्छीन् । अपांगता भएकालाई रोजगार पाउन मुस्किल हुने भएकाले टेर्लसलाई व्यवसायीक रुपमा अगाडी बढाउने उनी बताउँछीन् । सरकारको तर्फबाट अपागं भएकाहरूलाई आवश्यक प्रक्रिया पुरा गरी ऋण उपलब्ध गराईदिए व्यवसाय संचालन गर्न सहज हुने दुई दम्पतीको बुझाई छ ।

प्रकाशित : मंसिर २, २०७६ १०:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×