कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२० टिपर स्थानीयले रोके

उदयपुर — बेलका नगरपालिका ४ र ६ को सीमा क्षेत्रमा पर्ने सिसुवा खोलामा अवैध उत्खनन् गरेको भन्दै ढुंगा ओसार्दै गरेका २० वटा टिपर र एउटा स्काभेटरलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले टिपर ३ दिनयता रोकिदिएका हुन् । मापदण्डविपरीत दोहनले पछि खेतीयोग्य जमिन बगर बन्ने स्थानीयले बताए । ‘जथाभावी गरेर ढुंगा उत्खनन गरेकाले टिपर रोकिएको हो,’ स्थानीय प्रेम अधिकारीले भने, ‘नगरपालिकाले ठेकेदारसँग गरेको सम्झौतापत्रमै नदीजन्य पदार्थ उत्खनन्, संकलन र ढुवानी गर्दा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र गर्नुपर्ने उल्लेख छ तर टिपरहरूले रातको १२ बजे ढुवानी गरेपछि रोकेको हो ।’


नगरपालिकाले भने मापदण्डविपरीत ढुंगा उत्खनन् नभएको बताएको छ । ‘नियमविपरीत ढुंगा उत्खनन् भएको छैन । सम्झौतामा तोकिएअनुसारै सबै काम भइरहेको छ,’ नगर प्रमुख दुर्गाकुमार थापाले बताए । स्थानीयको माग के हो बुझिएको छैन, कोसँग बार्ता गर्ने भन्ने पनि नसकिएको र अनियन्त्रित भीडमा सुरक्षाका कारण आफू स्थानीयले भने अनुसार खोलामा वार्ता गर्न नसकेको थापाले बताए । ‘हामीले उहाँहरूलाई छलफलका लागि नगरपालिका बोलायौं । उहाँहरू आउनु भएन,’ थापाले भने ।


गत भदौमा नगरपालिका र बीपी कन्स्ट्रक्सनबीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता पत्रमा नगरपालिकाको १० वटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुंगा, गिटी लाने भनिएको छ । अहिले विवाद देखिएको सिसुवा खोलाको १५ हजार २ सय ७९ घनमिटर पर्छ ।

प्रकाशित : मंसिर १, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?