‘कृषि प्रवर्द्धनका लागि सहकार्य जरुरी’

कान्तिपुर संवाददाता

धनकुटा — कृषि व्यवसाय प्रवर्द्धन गर्न लगानी वृद्धि गर्न सरकार, निजी तथा सहकारी क्षेत्रबीच सहकार्य गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले शनिबार हिलेमा आयोजना गरेको अन्तक्रियाका सहभागीले तुलनात्मक लाभका क्षेत्र पहिचान गरी लगानी बढाउनुपर्ने बताएका हुन् ।


महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले प्रदेश १ मा आर्थिक सम्मृद्धिका लागि छरपस्ट कार्यक्रमभन्दा तुलनात्मक लाभका क्षेत्र पहिचान गरी कृषिको व्यवसायीकरण र विशिष्टिकरण गर्नुपर्नेमा जोड दिए ।


पूर्वाधार विकास गरी गाउँलाई शहरसँग जोड्नुपर्ने, पर्याप्त अध्ययन अनुसन्धान गरी अर्ग्यानिक उत्पादन, बजारको खोजी गर्नुपर्ने, कृषि उपजको प्रशोधन, प्याकेजिङ र ब्राण्डिङ मार्फत मूल्य अभिवृद्धि र बजार विस्तार गर्नुपर्ने उनले बताए ।


कृषि उपज सुरक्षित राख्न शीत भण्डार, वेयरहाउस, मण्डी, अक्सन हाउस तथा निर्यात गृहजस्ता बजार पुर्वाधारहरु निर्माण र सञ्चालनमा सार्वजनिक तथा निजी क्षेत्रले लगानी सहकार्य गर्नुपर्ने सहभागीले बताएका थिए ।

प्रकाशित : कार्तिक ३०, २०७६ १७:११
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा पनि ‘माइक्रोबियल कल्चर कलेक्सन सेन्टर’ खोल्ने तयारी

गोविन्द पोखरेल

काठमाडौँ — सूक्ष्म जीवहरुको संकलन, संरक्षण, उत्पादन र पहिचान गर्ने उद्देश्यसहित नेपालमा पनि ‘माइक्रोबियल कल्चर कलेक्सन सेन्टर’ स्थापना हुने भएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नाष्ट)ले ‘कल्चर सेन्टर’ स्थापनाको तयारी सुरु गरेको छ । 

नाष्टकी विज्ञान संकाय प्रमुख जयश्री सिजापतिकाअनुसार कल्चर कलेक्सन सेन्टरमा राखिने जीवाणुहरुको ‘स्ट्रेन’ संकलन गर्न थालिएको छ । ‘स्ट्रेन’ सूक्ष्म जीवको नमुना हो । कल्चर कलेक्सन सेन्टर नेपालमा सञ्चालन हुँदा जीवाणुहरुको डाटावेस बन्ने नाष्टले जनाएको छ । यही तथ्या‌ंकको आधारमा विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई जानकारी दिने र लिने काम हुन्छ । मुलुकका विभिन्न संस्थाहरुबाट ‘स्ट्रेन’ संकलन गरेर जीवाणुको विवरण तयार गर्ने नाष्टको योजना छ ।

जीवाणुहरु इन्जाइम, इन्सुलिन, प्रोटिन, जैविक मल उत्पादन, उद्योग, औषधि निर्माणमा ‘एजेन्ट’को रुपमा प्रयोग हुन्छन् । औद्योगिक, औषधि, कृषि, खाद्य लगायत अध्ययन अनुसन्धानमा पनि यिनीहरुको प्रयोग उच्च हुन्छ ।

आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुहरुलाई जैविक विविधताको रुपमा पनि लिइन्छ । यस्ता जीवाणुहरुको बारेमा नेपालमा कमै अनुसन्धान भएका छन् । नेपालमा जीवाणुहरु सम्बन्धि गरिने अनुसन्धानमा कल्चर कलेक्सन सेन्टर बुहुउपयोगी हुने नाष्टकी मोलुक्युलर बायोटेक्नोलोजी शाखाकी प्रमुख ज्योति महर्जनले बताइन् । उनैको नेतृत्वमा कल्चर कलेक्सन सेन्टरको आधारभूत कामहरु भइरहेका छन् ।

नेपालमा सूक्ष्म जीवहरुको अनुसन्धान विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरुका अलवा औषधि, औद्योगिक, कृषि, खाद्य लगायतका क्षेत्रहरुमा प्रयोग हुने गरेको महर्जनले बताइन् ।

अनुसन्धानका क्रममा भेटिने यस्ता सूक्ष्म जीवहरु हरेक वर्ष लोप हुँदै जाने र उही प्रकारको जीव भेट्टाउन मुस्किल पर्ने भएकाले पनि यस्ता जीवहरुको दीर्घकालीन संरक्षणको आवश्यकता रहेको संकाय प्रमुख सिजापतिको भनाइ छ ।

‘सूक्ष्म जीवाणुहरु सम्बन्धिको अनुसन्धान कुनैपनि जर्नलमा प्रकाशित गर्नका लागि कल्चर कलेक्सन सेन्टरमा जम्मा गरिएको ‘स्ट्रेन आईडी नम्बर’ अनिवार्य रुपमा प्रयोग गनुपर्ने प्रावधान छ,’ महर्जनले भनिन्, ‘यस्ता जीवहरुको उचित संरक्षण र प्रयोगका लागि पनि कल्चर सेन्टर हाम्रो देशका लागि आवश्यक छ ।’

अहिले कल्चर सेन्टर सञ्चालनका लागि नाष्ट परिसरमा भौतिक संरचना निर्माण गर्ने वा रिसर्च ल्याबको कुनै एक कोठामा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको सिजापतिले जानकारी दिइन् । ‘कल्चर सेन्टरका लागि इन्क्युबेटर, फ्रिज आवश्यक हुन्छन्,’ उनले भनिन्, ‘चालू आर्थिक वर्षमा सेन्टरका लागि १५ लाख बजेट विनियोजन भएको छ । यो रकमबाट ‘लिक्विड नाइट्रोजन फ्रिजर’ किन्ने तयारीमा छौँ । ’

माइनस ८० डिग्री सेल्सियसको तापक्रममा सुरक्षित गरेर राखिएका जीवाणु । तस्बिरः गोविन्द पोखरेल/कान्तिपुर ।

नाष्टले सन् २०१५ देखि नै कल्चर सेन्टर स्थापनाको तयारी गरेपनि अगाडि बढाउन नसकिरहेको सिजापतिले बताइन् । सूक्ष्म जीवाणुहरु धेरै नै हुने गरेकाले पनि यसको संकलन कार्यमा ढिलाइ हुन्छ ।

अहिले कुनै एकजना विद्यार्थीहरुले सूक्ष्म जीव सम्बन्धि अनुसन्धान गर्दा उसले बनाएको उक्त जीवको ‘स्ट्रेन’ सम्बन्धित संस्थालाई बुझाउनुपर्छ । स्ट्रेनमा जीवको 'जेनेटिक भेरियन्ट' वा उपप्रकार हुन्छ । यो नमुनाको रुपमा लिइन्छ ।

यसबाट उक्त जीवको वंशाणु संरक्षणका साथै यसबाट सोही प्रकारको जीव उत्पादन गर्न सकिन्छ । यसलाई एउटा निश्चित तापक्रम भएको फ्रिजमा सुरक्षित गरेर राखिन्छ ।

सूक्ष्म जीवहरुलाई ‘ग्लिसिरोल’ लगायतका अन्य रसायनिक घोलमा मिसाएर ‘पेट्रि डिस्क’मा राखिन्छ । प्रयोगशाला सानो भएर यसलाई बढाउने तयारी भइरहेको नाष्टले जनाएको छ ।

गत वर्ष विभिन्न १२ वटा स्ट्रेन संरक्षण गरिएको थियो । अहिलेसम्म २ सय वटा स्ट्रेनहरु संरक्षण गरिएको महर्जनले जानकारी दिइन् । ती मध्ये २५ प्रतिशतको पहिचान भइसकेको छ । अधिकांश ब्याक्टेरियाहरु रहेको उनले सुनाइन् । पहिचान भएकाहरुको ‘कोडिङ’ गर्ने काम भइरहको छ ।

सुक्ष्म जीवहरुको पहिचान गर्न पनि निकै गाह्रो हुने उनले सुनाइन् । भनिन्,‘कुनै-कुनै जीवहरु बाहिरी आवरणबाट हेरेर पहिचान गर्न गाह्रो हुन्छ । मोर्फोलोजिक्कली पहिचान हुन नसकेका यस्ता जीवहरुको पहिचान डीएनए सिक्वेन्सिङ गरेर थाहा हुन्छ । ’

त्रिविले यस्ता जीवहरुको संरक्षण गरेपनि दीर्घकालीन नभएको उनको भनाइ छ ।

नेपालमा सूक्ष्म जीवहरुको राम्रोसँग अभिलेखिकरण गरिएको छैन । स्ट्रेनलाई जीव चिन्ने सूचकको रुपमा सुरक्षित गरेर राखिएको हुन्छ । थेसिस गर्ने विद्यार्थीहरुले संरक्षण गरिएका स्ट्रेनहरु प्रयोग गर्छन् । विश्वविद्यालयमा लामोसमयसम्म स्ट्रेन संरक्षण नहुँदा समस्या हुने गरेको महर्जनको भनाइ छ ।

अन्य मुलुकहरुमा पनि कल्चर कलेक्सन सेन्टर छन् । अमेरिकामा एटीसीसी (अमेरिकन टाइप कल्चर कलेक्सन) भन्ने संस्थाले स्ट्रेन संकलन गर्छ र जीवाणु सम्बन्धि रिफेरेन्स दिन्छ । यो विशेष गरी अनुसन्धानमा प्रयोग हुन्छ । नेपालमा एटीसीसीलाई रिफरेन्स मानेर अनुसन्धान भएका छन् । भारतमा माइक्रोबियल टाइप कल्चर कलेक्सन एन्ड जिन बैंक(एमटीसीसी) भन्ने संस्था छ ।

माइक्रो बायोलोजिस्ट एवं उपप्राध्यापक मिलन उप्रेतीका अनुसार रिफरेन्सको रुमपा प्रयोग हुने स्ट्रेनहरु नेपालमै उपलब्ध भए अनुसन्धानको क्षेत्रमा उल्लेख्न उपल्बधी हुने बताए । वातवरणमा ब्याक्टेरियाहरु सजिलैसँग 'म्युटेसन'मा जान सक्ने हुँदा ‘वाइल्ड टाइप’ आवश्यक भएको उनले बताए । कल्चर कलेक्सन सेन्टरबाट माइक्रोबायोलोजिस्ट मात्रै नभएर अस्पताल र औद्योगिक क्षेत्रले अझ बढी फाइदा लिन सक्ने उनको भनाइ छ ।

प्रकाशित : कार्तिक ३०, २०७६ १७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×