२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

साना हतियारको बिगबिगी

जितेन्द्र साह

(विराटनगर) — कार्टुनभित्र लुकाएर ल्याउँदै गरेको पेस्तोलसहित गत सोमबार विराटनगर–१५ मा स्थानीय २५ वर्षीय दीपक गुरुङलाई प्रहरीले पक्राउ गर्‍यो । उनी हतियार कारोबारीको भरिया भएको अनुसन्धानमा खुलेको छ । 

यसअघि कात्तिक १६ मा विराटनगर सीमासँग जोडिएको कटहरीस्थित सिंघिया खोलाछेउ प्रहरीले केही उच्छृंखल युवकको खानतलासी गर्दा स्थानीय २३ वर्षीय विक्कीकुमार भगतबाट एक स्वचालित पेस्तोल, म्यागजिन र लोड गरिएको एक गोली बरामद भयो ।


थप सोधपुछपछि उनलाई हतियार र गोली उपलब्ध गराउने धनपालथान–७ कदमाहाका २८ वर्षीय मुकेशकुमार मण्डललाई विराटनगरको जलजला चोकबाट प्रहरीले समात्यो । विक्की विराटनगरकै एक कपडा पसलमा दुई वर्षदेखि र मुकेशकुमार उदयपुरको रामपुर ठोक्सिलास्थित एक लघुवित संस्थामा फिल्ड सहायकको रूपमा कार्यरत थिए । हतियारको कारोबारमा संलग्नसँग उनीहरूको सम्बन्ध खुलेको प्रहरीले जनाएको छ । विराटनगर–काठमाडौं चल्ने ना७ख ६३९ नम्बरको बसभित्र चामलको बोरामा असोज १२ मा पेस्तोल बरामद भयो । खोजतलासका क्रममा विराटनगर–४ बस्ने जहदा–७ का ३१ वर्षीय छोटेलाल सोरेन पक्राउ परे ।


भारतको विहार सीमावर्ती मोरङमा हतियार बरामद हुने, कारोबारी र भरिया पक्राउ पर्ने क्रम रोकिएको छैन । मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले सीमा पारी हतियारको सहज उपलब्धता यसको कारण भएको बताए । ‘आपराधिक घटनामा प्रयोग हुने भएकाले सीमा क्षेत्रमा सुराकी परिचालनसँगै कडा निगरानी गरिरहेका छौं,’ उनले भने ।


गत भदौं १६ मा सुन्दरहरैंचा–५ को नमुना सामुदायिक वनभित्र लोड अवस्थामा बेवारिस तीन भरुवा बन्दुक प्रहरीले फेला पारेको थियो । यसअघि १० साउनमा मोरङकै कानेपोखरी–७ को जनजागृति सामुदायिक वनमा प्रहरी र वन कार्यालयको संयुक्त गस्ती टोलीले कानेपोखरी–५ बस्ने उर्लाबारी–४ का २६ वर्षीय धनकेशर राई र ४४ वर्षीय शम्भु गहतराजलाई गोली लोड गरिएको दुई भरुवा बन्दुकसहित पक्राउ गर्‍यो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार पक्राउ पर्नेमा वारि नेटवर्क र सहयोगी भएका पारिका हतियार कारोबारी एवं ‘सार्प सुटर’ पनि छन् ।


गत जेठ २७ मा विराटनगर–९ स्थित एक होटलमा प्रहरीले छापा मार्दा भारत बिहारको सीतामढी बैरगनिया–७ का २० वर्षीय कुनाल कुमार पक्राउ परे । उनको साथबाट एउटा अटोमेटिक पेस्तोल, म्यागजिन, चारवटा राउन्ड गोली, एउटा कटुवा पेस्तोल, र त्यसमा लाग्ने चारवटा गोली बरामद भयो । उनी भारतका कुख्यात ‘सुपारी किलर’ भएको खुलेको प्रहरीले जनाएको छ । यसपछि कुमारका सहयोगी विराटनगर–८ बस्ने मनुकुमार गुप्ता र सर्लाही गोडैता–१ का ५० वर्षीय हरिनारायण झा पक्राउ परे । भारतीय आपराधिक समूहसँग मिलेर यिनीहरू एक नेपाली व्यवसायीको हत्या गर्ने योजनामा थिए ।


वारि अपराध गर्ने गिरोहबाट हतियार बरामद हुन थालेपछि सुरक्षा सतर्कता अपनाउँदै सुराकी परिचालन गरिएको प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले बताए । गत वर्षको १५ भदौमा सुन्दरहरैंचा–१० विराटचोकको एक सुनचाँदी पसलबाट ब्रासलेट लुटेर भागिरहेका धरान–१५ बस्ने भोजपुर दिङ्ला–२ का गोपाल दाहाल विकलाई पेस्तोल र दुईवटा गोलीसहित प्रहरीले पक्राउ गरेको थियो ।


प्रहरीका अनुसार सीमा क्षेत्रमा लागूऔषध कारोबारी, दुव्यर्सनी र हतियार ब्यापारीबीच समेत गहिरो साँठगाँठ देखिएको छ । प्रदेश १ को कुल अपराधको झन्डै ६५ प्रतिशत मोरङ र सुनसरीमा हुने गरेकोमा बढी हतियार बरामद हुने जिल्ला पनि यिनै हुन् । प्रहरीका अनुसार २०७६/७७ को हालसम्म मोरङका विभिन्न ठाउँबाट तीन भरुवा बन्दुक, चार पेस्तोल र गोलीसहित ६ जनालाई पक्राउ गरिएको छ । आव २०७५/७६ मा मोरङमा सातवटा भरुवा बन्दुक, १० पेस्तोल, एक राइफल र ४० गोलीसहित १८ नेपाली र तीन भारतीय पक्राउ परेका छन् । प्रदेश १ का जिल्लाहरूमा २०७३/७४ मा २६ र २०७४/७५ मा १४ वटा साना हतियार बरामद भए । २०७५/७६ मा २० र २०७६/७७ को हालसम्म नौवटा हतियार बरामद भएका छन् ।

प्रकाशित : कार्तिक ३०, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?