१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

हुलाकी मार्ग कालोपत्रे गरिँदै

कान्तिपुर संवाददाता

विराटनगर — सुनवर्षी नगरपालिकाको साढे १४ किमि हुलाकी मार्ग करौजा कैमी अमरदह सडक कालोपत्रे हुने भएपछि स्थानीय हर्षित भएका छन् । सडक कालोपत्रे नहुँदा लामो समयदेखि यस क्षेत्रका किसानहरूले सास्ती खेप्नु परेको थियो ।

सुनवर्षी नगरपालिका वडा ९ डाइनियादेखि अमरदहको सुगासम्म साढे १४ किमि सडक कालोपत्रे गर्न नगरपालिकाले दुईवटा प्याकेजमा ठेक्का लगाएको छ । २६ करोड ३० लाख कुल लागत अनुमान गरिएको उक्त सडकखण्डको ७ किमि कालोपत्रेको कामको ठेक्का महादेव खिम्ति साह जेभी र साढे सात किमि कालोपत्रेको काम रायमाझी हिमालयन जेभीले पाएको छ ।


पहिलो चरणको सात किमि कालोपत्रेका लागि १२ करोड ८४ लाख ९० हजार ६ सय लागत अनुमान गरिएको थियो । उक्त सडक खण्डका लागि साह जेभीले कुल लागत अनुमानको ३२ प्रतिशत ८ करोड ६९ लाख ८९ हजारमा ठेक्का पाएको छ । त्यस्तै १३ करोड ४६ लाख ५० हजार ६ सय २३ रुपैयाँ कुल लागत अनुमान गरिएको बाँकी साढे सात किमि सडक रायमाझी हिमालयन जेभीले २९ प्रतिशत घटी कम ९ करोड ४४ लाख ७० हजार ५ सय ६५ मा ठेक्का पाएको छ ।


बुहुवर्षे योजनाका रूपमा काम अघि बढाइएको उक्त सडकको शुक्रबार सुनवर्षी नगरपाकिलाका मेयर कालिप्रसाद दासले शिलान्यास गरे । सुनवर्षीबाट मोरङको उर्लाबारी जोड्ने उक्त सडक निर्माणको काम २ वर्ष भित्रमा सम्पन्न गर्ने गरी ठेक्का लागेको छ । दुई वर्षको समयसीमा रहेको बताउँदै निर्माण कम्पनी साह जेभीका सन्तोष साहले समय अगावै काम सक्ने बताए ।


प्रकाशित : कार्तिक ३०, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?