कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सडक अनुगमन : स्थानीय तहसँग समन्वय गर्न निर्देशन

कान्तिपुर संवाददाता

ओखलढुंगा — सडक डिभिजन कार्यालयले खनेको सडकले क्षति पुर्‍याउँदा पीडित नगरपालिकामा उजुरी लिएर जान्छन् । नगरपालिकालाई भने सडकको कामबारे जानकारी नै हुँदैन ।

‘नगरक्षेत्रको व्यक्तिको घर सडकले जोखिम हुँदा न ठेकेदार सम्पर्क आउँछन्, न त सडक डिभिजन जवाफदेही हुन्छ,’ सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले भने, ‘संघ र प्रदेशअन्तर्गतका कार्यक्रम सञ्चालन हुँदा स्थानीय तहसँग समन्वय त के जानकारी पनि हुँदैन ।’


जिल्लाको साँघुटार–घोराखोरी–कोषहाट–ओखलढुंगा सडकको स्थलगत अनुगमन र अन्य विकासको अवस्था बुझ्न आएको संघीय संसद्को विकास समितिलाई सिद्धिचरण नगरपालिकाका मेयर श्रेष्ठले गुनासो पोखेका हुन् । बुधबार जिल्ला समन्वय समितिको हलमा आयोजित अन्तर्क्रियामा अन्य स्थानीय तहका प्रमुखको पनि एकै किसिमको गुनासो थियो ।


सरोकारवाला सरकारी निकायका प्रतिनिधिलाई संसद्को विकास समितिका सभापति कल्याणी खड्काले निर्देशन दिइन् । ‘अबदेखि सम्बन्धित संघ र प्रदेश मातहतका सबै कार्यालयले विकासका काम गर्दा अनिवार्य स्थानीय तहसँग समन्वय गर्नु ।’ सभापति खड्काले भनिन्, ‘समस्या आउँदा हामीलाई सम्झिने र स्थानीय तहलाई दोष दिने अनि काम सुरु गर्ने बेला समन्वय नगर्ने ? अब अनिवार्य समन्वय गर्नुस् ।’ उनले अनुगमन गरिएको आयोजनाको सम्बन्धमा समितिले आवश्यक सहयोग मात्र नभएर काम नगर्ने पक्षलाई कारबाहीका लागि सिफारिस गर्ने बताइन् । साँघुटार–घोराखोरी सडक कालोपत्रे गर्ने भनेर बजेट विनियोजन गरेको वर्षौं बित्दासमेत काम नभएपछि विकास समितिको

टोली स्थलगत अनुगमनका लागि आएको थियो ।


अनुगमनसँगै जिल्लाभित्र अवरुद्ध भएका विकासका संरचनाका बारेमा समेत सरोकारवालाले समितिलाई जानकारी गराएको थियो ।


मान्द्रे दोभानस्थित मोलुङ खोलाको पुल, स्वास्थ्य, शिक्षाका भवन जस्ता संरचना निर्माणमा अलपत्र पारेका ठेकेदारलाई कारबाही गर्नुपर्ने स्थानीयले भनाइ थियो । तर सार्वजनिक खरिद ऐनले ठेकेदारलाई संरक्षण गरेको कारण संशोधन हुँदा त्यसलाई ध्यान दिनसमेत सुझाव दिए । भौतिक विकासको काममा जिल्ला ठेकेदारबाट बढी पीडित जिल्लाका रूपमा रहेको समितिका सदस्य तथा सांसद यज्ञराज सुनुवारले बताए ।


समितिका सदस्यद्वय यज्ञराज सुनुवार, बिना थापा र सभापति कल्याणी खड्काको टोलीले तीन दिन लगाएर रामेछापको साँघुटार हुँदै ओखलढुंगाको विभिन्न आयोजना अनुगमन गरेको हो । प्रदेश सांसद मोहनकुमार खड्काले प्रदेश राजधानी विराटनगर जोड्ने द्रुतमार्गको रूपमा रहने उदयपुरको घुर्मी–चतरा सडकखण्डको काम तत्काल सुचारु गर्न समितिले पहल गर्न सुझाव दिए । त्यसैगरी मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने सिन्धुली खण्डका अलपत्र पुलको काम अघि बढाउनसमेत समितिले पहल गर्नुपर्ने बताए । सभापति खड्काकै टोलीले गत जेठमा सिन्धुली खण्डमा पर्ने सोखु, बादुरा खोलालगायतको पुल अनुगमन गरे पनि कुनै प्रगति हुन सकेको छैन ।

प्रकाशित : कार्तिक २९, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?