१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

अस्वाभाविक टाउकोले समस्या

कान्तिपुर संवाददाता

धनकुटा — छब्बीस महिनाकी रितु राईको टाउको वयस्क मानिसको भन्दा ठूलो छ । एक वर्षको उमेरदेखि बढ्दै गएको टाउको शरीरले थेग्न नसक्ने भइसकेको छ । टाउको थाम्न नसक्ने भएपछि ओच्छ्यानमा थलिएकी उनी बोल्न र सामान्य बालबालिकाले गर्ने व्यवहार समेत गर्न सक्दिनन् ।

धनकुटा नगरपालिका ९ बेलहारामा बस्दै आएका २७ वर्षीया तारा र काजीको तेस्रो सन्तानका रूपमा जन्मिएकी बालिकाको हालको तौल साढे ८ केजी छ । संखुवासभाको बाह्रबीसेका दम्पती हाल बेलहारामा अर्कैको बारीमा रहेको झुप्रोमा बस्दै बनिबुति गर्छन् ।


विराटनगरको न्युरो अस्पतालमा बालिकाको उपचारका लागि लगे पनि आर्थिक अभावका कारण घर फर्किएको ताराले बताइन् । ‘सामान्य मजदूरी गरेर कमाएको पैसाले उपचार गर्न सकिएन,’ उनले भनिन्, ‘अब बचाउन सकिनेमा आशा छैन ।’


चिकित्सकले टाउकोमा पानी जमेको भनेपछि घर फर्काएका छन् । बाबुआमालाई देख्दा सामान्य हास्ने उनी अरू कुनै प्रतिक्रिया देखाउँदिनन् । उपचार गराउन आर्थिक अभावका कारण चाहेर पनि नसकिएको बाबु काजीले दुखेसो पोखे । उनीहरूका तीन जनै सन्तानको जन्म दर्ता छैन । जन्म दर्ता नहुँदा राज्यबाट पाउने सुविधाबाट बालिका वञ्चित छिन् । १५ वर्षको उमेरमा प्रेमविवाह गरेकी ताराको नागरिकता छैन । काजीको मात्र नागरिकता छ ।


बालिकाको जस्तो स्वास्थ्य समस्या पछिल्लो समय बेलहारा तथा सहिदभूमि गाउँपालिका क्षेत्रमा समेत उल्लेख्य देखा परेको स्वास्थ्यकर्मी बताउँछन् । सहिदभूमि ४ मंसुवाटारमा दुई जना बालबालिकामा यस्तो समस्या देखा परेको स्वास्थ्यकर्मी मेनुका राईले बताइन् ।


टाउकोमा पानी जमेर दिनहुँ बढ्दै गएकी बालिकाको यो अवस्था हुनुमा हाइड्रोसेफालुस भन्ने समस्या रहेको जनाइएको छ । प्रत्येक १ हजारमा मुस्किलले एक जनामा मात्र देखा पर्ने यो समस्या बेलहारा गाउँमा दुई जना र सहिदभूमि गाउँपालिकामा चार जनामा देखा परेको स्वास्थ्यकर्मी वेदबहादुर कटुवालले बताए । खासगरी बालबालिका जन्मिएको १ हजार दिन अर्थात् सुनौलो एक हजारको अवधिमा उचित खोप तथा आवश्यक पौष्टिक आहारका कमीले पनि समस्या आउने सहिदभूमिका स्वास्थ्य संयोजक फकिर महम्मदले बताए ।


दुई वर्षको अवधिमा बालबालिकालाई विशेष खोप दिइनु पर्नेमा ग्रामीण क्षेत्रमा त्यसबारे अझै पनि सचेतना अभाव रहेको उनको तर्क छ । पछिल्लो समय खेतबारीमा प्रयोग हुने विषादीका कारण पनि बालबालिका तथा वयस्कमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा परेको महम्मदको भनाइ छ । ‘सुरक्षाका विधि नअपनाई तरकारी बालिमा विषादी छर्कने तथा आवश्यकभन्दा कयौं गुना प्रयोग गर्दा यस्ता समस्या आइपरेको छ,’ उनले भने, ‘घरघरमा क्यान्सर, महिलासम्बन्धी स्वास्थ्य समस्या, बालबालिकामा पनि असामान्य प्रकारका रोग देखा परेका छन् ।’

प्रकाशित : कार्तिक २९, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?