कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलु खेतीमा किसान आकर्षित

अर्जुन राजवंशी

(दमक) — कमल गाउँपालिका २ का इन्द्रप्रसाद दाहालले गत वर्ष ३ कट्ठामा ७५ मन आलु फलाएका थिए । १० मन राखेर ६५ मन बिक्री गरे । करिब ८ हजार रुपैयाँ खर्च कटाएर दाहालले आलु खेतीबाट २ महिनामा ५५ हजार रुपैयाँ खुद आम्दानी गरे । 

आलु खेतीमा किसान आकर्षित

उत्पादन र आम्दानी राम्रो हुने भएपछि यो वर्ष कमल २, सुनारभालु गाउँमा आलु खेती गर्ने किसानको संख्या बढेको छ । समूह तथा व्यक्तिगत रूपमा किसानले खेती विस्तार गरिरहेका छन् । गाउँपालिका क्षेत्रमा गत वर्ष ३७ बिघामा आलु खेती गरिएको थियो । यो वर्ष विस्तार भएर ५० बिघा नाघेको स्थानीय आईपीएम कृषि सहकारी संस्थाका सहजकर्ता टंक कटेलले जानकारी दिए । गाउँपालिकामा ‘आलु पकेट’ कार्यक्रम सञ्चालित छ । जमिन र किसानको संख्या बढेकाले ‘पकेट’ बाट ‘ब्लक’ कार्यक्रम सञ्चालन गर्न किसानहरूले माग गरेका छन ।


सुनारभालु गाउँमा गत वर्ष ६० किसानले आलु खेती गरेका थिए । कटेलकाअनुसार यो वर्ष १५० किसानले आलु लगाएका छन् । उक्त गाउँका किसानले उत्पादन गरेको आलु स्थानीय बजारमै बिक्री हुने गरेको छ । क्याम्पा, केर्खा, दमक, धरमपुर, झिलझिले, बिर्तामोडलगायत क्षेत्रमा आलु खपत हुने गरेकाले किसान आलु खेतीतर्फ आकर्षित भएका हुन् । गाउँको माटो आलु खेतीका लागि उपयुक्त रहेको किसान बिष्णु अधिकारीले बताए । ‘यो गाउँको माटो आलु खेतीलाई सुहाउँदिलो छ । एक कट्ठामा २५ देखि ३० मनसम्म आलु फल्छ,’ उनले भने । आलु खेतीमा लागेका किसानलाई गाउँपालिका र सहकारीले विभिन्न शीर्षकमा अनुदान दिने गरेका छन । सहकारीले बुधबार ५० प्रतिशत अनुदानमा बीउ आलु वितरण गरेको छ । पहिलो चरणमा ५० जना किसानलाई मात्र बीउ आलु वितरण गर्न सकेको सहकारीका अध्यक्ष यामबहादुर राईले बताए । यो बर्ष अनुदानमा मात्र ८ सय बोरा आलु वितरण गर्ने लक्ष्य राखेको राईले बताए । किसानले कुप्रे सिन्धुली, लाल गुलाब, डिजिरे जातको आलु रोप्ने गरेका छन् ।


कमल गाउँपालिकामा उत्पादन हुने आलु रासायनिक मल तथा विषादीरहित हुने गरेको छ । गाउँपालिकाले २ वर्षदेखि विषादीरहित खेती कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम सुरु भएदेखि किसान आफैले उत्पादन गरेको ‘जैविक मल’ खेतीमा प्रयोग गर्छन । जैविक मल बनाउन नसक्ने किसानलाई आईपीएम सहकारीले व्यावसायिक रूपमा उत्पादन गर्दै आएको जैविक मल बिक्री वितरण गर्ने गरेको छ । जैविक मल प्रयोग गर्दा खेतीमा लाग्ने किराबाट बच्न सहकारीले जैविक ढुसिनाशक विषादी (टाइकोडर्मा) पनि वितरण गर्ने गरेको छ ।


ढुसिनाशक विषादी पनि सहकारीले नै उत्पादन गर्दै आएको छ । सहकारीले जैविक विषादी उत्पादनका लागि बाली संरक्षण निर्देशनालय तथा साविकको जिल्ला कृषि विकास कार्यालयबाट १६ लाख मूल्यको ल्याबका सामान प्राप्त गरेको छ । ल्याबबाट एक हप्तामा २० केजी जैविक विषादी उत्पादन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । एक प्याकेट विषादीले ५० केजी गोबरमा मिसाएर १ कटा जमिनमा प्रयोग गर्न मिल्ने उनले बताए । उक्त विषादी सहकारीले आफना सदस्य किसानलाई नि:शुल्क वितरण गर्दै आएको छ ।


प्रकाशित : कार्तिक २७, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?