कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल पूरा नगरी ठेकेदार भागे

कान्तिपुर संवाददाता

झापा — मेचीपारिको नेपाली गाउँका बासिन्दालाई मेची नदी वारपार गर्न सजिलोका लागि सरकारले झोलुंगे पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । २०७२ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पुल शिलान्यास गरेका थिए ।

शिलान्यास गरेको ४ वर्ष बित्दा पनि पुल बनेको छैन । ‘पुल आधा छाडेर ठेकेदार सम्पर्कमै छैनन्,’ मेचीपारिका स्थानीय लेकेरु राजवंशी भन्छन्, ‘वारपार गर्नै समस्या छ ।’ निर्माण कम्पनीले करिब २ सय ८० मिटर लामो र १० मिटर चौडाइको पुल जडानका साथै पुल चढ्ने र ओर्लने बाटो निर्माण गर्न बाँकी नै छ । पुलमा जाली लगाएको छैन ।


दसैं अघिदेखि काम भएको छैन । तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुलका लागि बजेट विनियोजन गरी ठेक्का आह्वान गर्दा भ्याटसहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा नीलगिरि सेवा प्रालि काठमाडौंले ०७२ भदौ ७ गते १८ महिनामा निर्माण सक्ने सम्झौता गरेको थियो । तर, हालसम्म पनि पुल पूर्णरूपमा सम्पन्न भएको छैन ।


‘आधाकल्चो पुल छाडेर ठेकेदार नै बेपत्ता छन्,’ भद्रपुर नगरपालिका ३ नम्बर वडा सदस्य अरुण राजवंशीले भने, ‘पुल निर्माणका लागि सम्बद्ध निकायलाई निरन्तर दबाव दिइरहेका छौं ।’ मेचीपारिको स्कुलमा अध्ययनरत विद्यार्थी जोखिम मोलेर पुल तर्छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?