कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजदूत जब हिमालको काख पुगे...

विप्लव भट्टराई

(सन्दकपुर, इलाम) — हुस्सुले छपक्कै छोपेको दिन । मेची राजमार्गको बिब्ल्याँटेदेखि ३ किलोमिटर कालोपत्रे छिचोलेपछिको सडक सबै कच्ची । केही किलोमिटरको कच्ची सडक यात्रा तय नगर्दै संयुक्त अरब इमिरेट्सका राजदूत साइद एचएम अल र साउदी अरबका नेपालका लागि आवासीय राजदूत मुसाइद सुलेमान थकित देखिन्थे । मौसम र सडकको अवस्थाका कारण उनीहरूले थप यात्रा छाडेर फर्कने मनसाय बनाएका थिए ।

राजदूत जब हिमालको काख पुगे...

३ हजार ६ सय ३६ मिटर उचाइको सन्दकपुर पर्यटकीय क्षेत्र हिँडेका उनीहरूका लागि बीचमै यात्रा टुंग्याउनु पनि सहज थिएन । पूर्वप्रधानमन्त्री एवं प्रतिनिधिसभाका लागि इलाम १ का सांसद झलनाथ खनालको आग्रहमा खनालसँगै उनीहरू सन्दकपुरतर्फ लागेका थिए । सगरमाथा, कञ्चनजंघा, कुम्भकर्णलगायत नेपाल, भारत र भुटानका विभिन्न हिमाल हेर्न पाइने सन्दकपुर उनीहरू राजी भएका थिए ।


सन्दकपुर गाउँपालिकालगायत विभिन्न स्थानका बासिन्दाले न्यानो स्वागत गर्दै राजदूतहरूलाई हौस्याए । माइपोखरी रामसार क्षेत्र, सन्दकपुर गाउँपालिकाको कार्यालय, जसवीरे, माइमझुवालगायत स्थानमा उनीहरूलाई यूएई र साउदीमा कार्यरत नेपालीको अवस्थाबारे स्थानीयले जानकारी गराएका थिए ।


साँझ अबेर राजदूतसँग सन्दकपुर पुगेका मावुका सुवास राईले साउदी बसाइको अनुभव उतैको भाषामा सुनाउन खोज्दै थिए । ‘हामी धेरै नेपाली उता गएर कष्ट सहेर भए पनि रोजगारी पाएका छौं,’ सुवासले भने, ‘यहाँ आएका बेला स्वागतसँगै त्यहाँका नेपालीको पीडा सुनाउँदा उनीहरूले पछि नीतिगत रूपमै सहयोग गर्न सक्छन् भन्ने लागेको छ ।’


पूर्वप्रधानमन्त्रीसँगै आएका राजदूतसँग साउदी र यूएईमा रोजगारी गरेर आएका धेरैले कुरा गर्न चाहन्थे । तर समय अभावमा धेरैले गुनासा पोख्न पाएनन् । ‘रोजगारी, सहकार्य, पर्यटन प्रवर्द्धनलगायत विषयमा दुई देशका राजदूतसँग छलफल भएको छ,’ सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले भने, ‘हामीले एकमुष्ट रूपमा त्यहाँ कार्यरत नेपालीका विषयमा जानकारी गराएका छौं ।’


दुई दिनसम्म सूर्योदय नगरपालिकाको पर्यटन, कृषिलगायत विषयबारे जानकारी लिई उकालो लागेका उनीहरूका लागि पछिल्लो यात्रा निकै कठिन बन्यो । अक्सिजनको कमी हुँदा राति सुत्न गाह्रो परेका राजदूत बिहान जिल्लाकै अग्लो टाकुरा चढ्ने क्रममा झन्डै बेहोस भए । मौसम खुलेका कारण लस्करै देखिएका हिमाल र वरपरको दृश्यावलोकनले भने उनीहरू मोहित भए । यात्राका क्रममा उनीहरूले यस क्षेत्रको पर्यटकीय सम्भावना अथाह रहेको मात्र बताएनन्, भ्रमण वर्षका बेला आआफ्ना देशका नागरिकलाई पनि घुम्न पठाउने प्रतिबद्धता जनाए ।


नेपाल, भारत र भुटानका समेत दृश्य देख्न पाएकामा मक्ख उनीहरूले भविष्यमा विकास निर्माणका लागि पनि सहकार्य गर्न सकिने बताए । राजदूतहरूको भ्रमणले यस क्षेत्रको विकासमा टेवा पुग्ने पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता खनालले बताए ।


प्रकाशित : कार्तिक १६, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?