कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योजना कार्यान्वयनमा सभासद सक्रिय

देवनारायण साह

(मोरङ) — प्रदेशसभाको चौथो अधिवेशन दसैंअघि अन्त्य भएपछि फुर्सदमा रहेका प्रदेशसभा सदस्यहरू चालु वर्षका योजना कार्यान्वयन र राजनीतिक भेटघाटमा व्यस्त भएका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सचेतक सूयर्माराज राई आफ्नो क्षेत्रमा प्रदेशका योजना कार्यान्वयनका लागि स्थानीय तह र जनतासँग पहल गर्न भेटघाटमा व्यस्त भएको बताउँछन् । ‘पूर्वाधार विकास कार्यक्रमका लागि पनि कस्ता योजना छनोट गर्नेलगायत विषयमा जनतासँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘गत वर्षका योजना कार्यान्वयनमा भएका कमी कमजोरी र कठिनाइका बारेमा समीक्षा गर्दै यस वर्ष प्रभावकारी कार्यान्वयनका लागि छलफल चलाइरहेका छौं ।’


सत्तारुढ दल नेकपाका प्रदेशसभा सदस्य उमिता विश्वकर्माले गत वर्ष भएका कामको अनुगमनका साथै चालु वर्षमा आएका योजनाको प्रभावकारी कार्यान्वयनका लागि गाउँगाउँमा छलफल चलाइरहेको बताइन् । उनले धरान उपमहानगरमा निर्वाचन भएकाले त्यसमा पनि प्रचार प्रसारमा लागेको सुनाइन् ।


संखुवासभाबाट निर्वाचित नेकपाका प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले अहिले दसैं सकेर सामाजिक कार्यमा लागेको बताए । उनले कात्तिक ३ गते सुशासन तथा योजना समितिको बैठक भएकाले त्यसको तयारीमा समेत जुटेको सुनाए ।


इलामबाट निर्वाचित नेकपाका प्रदेशससभा सदस्य खिनु लङबा लिम्बूले अलिहे आफ्नो निर्वाचन क्षेत्रको सबै योजनाको डिजाइन र स्टिमेट गराउनका लागि प्राविधिक लिएर गाउँगाउँ र टोलटलमा खटिरहेको बताइन् । ‘तिहार अगाडि नै सबै योजनाको काम सुरु गराउने गरी तयारीमा जुटेका छौं,’ उनले भनिन्, ‘विगतका वर्षबाट पाठ सिक्दै यस वर्ष समयमा योजना सकाउनका लागि अहिलेदेखि गाउँ र टोलका जनतालाई समेत उत्प्रेरित गर्दै काम सुरु गराउन लागेका छौं ।’


खोटाङका नेकपाका सांसद उषाकला राईले पर्वहरूको अवसरमा आयोजित शुभकामना आदान–प्रदानको कार्यक्रममा गएर जनताका समस्या बारेमा जानकारी लिई समाधानका पहल समेत गरिरहेको बताइन् । ‘जनताका समस्याका बारेमा जानकारी लिएर समाधानमा जुटेको छु,’ उनले भनिन्, ‘गत वर्ष निर्माण भएका योजनाको अनुगमनसँगै उद्घाटन र चालु वर्षको योजना कार्यान्वयनका लागि समेत काम गरिरहेको छु ।’


उदयपुरको नेकपाको सांसद अम्बिका थापाले क्षेत्रकै कार्यक्रममा व्यस्त रहेको बताइन् । ‘अहिले राजनीतिक भेटघाटका साथै योजना कार्यान्वयनको काममा जुटेको छु,’ उनले भनिन्, ‘गत वर्षको योजनाहरूको अनुगमन गरेर चालु वर्षको योजनाको प्रभावकारी कार्यान्वयनका लागि सर्वसाधारणसँग छलफल गरिरहेको छु ।’


सुनसरीको कांग्रसका सांसद मो. ताहिर मियाँले अहिले धान काट्ने समय सुरु भएको र चाडपर्वको समेत समय भएकाले ग्रामीण क्षेत्रको समस्या समाधानमा जुटेको बताए । उनले गत वर्षको योजना अनुगमन गरी चालु वर्षका योजनाको प्रभावकारी कार्यान्वयनका लागि छलफल गरिरहेको बताए ।


नेकपाका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले चालु वर्षको जेठ मसान्तभित्र प्रदेश सरकारले योजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएकाले सोही अनुसार योजना कार्यान्वयनका लागि पहल गरिरहेको छु ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?