२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

अन्त्येष्टि गर्नै समस्या

कान्तिपुर संवाददाता

विराटनगर — महानगरपालिकाको परोपकार घाटमा एक अधबैंशे र तिन बृद्धले शव वाहनमा एउटा लास लिएर अन्त्येष्टीका लागि लिएर पुगे । उनीहरूले सकिनसकी लासलाई शव वाहनबाट निकालेर चिता बनाउने ठाउँमा पुर्‍याए ।

लास डढाउन प्रयोग गरिने दाउरा बोक्ने मलामी पनि उनीहरूसँग थिएनन् । अर्को चितामा जलिरहेका विराटनगर पिपल चोकका सुभाषचन्द्र दुवेका मलामी रामकुमार बुढाथोकी लगायतले दाउरा बोक्न सघाइदिए । फेरी उनीहरूसँग चिता बनाउने जनशक्तिको अभाव भयो । घाटकै सहयोगी कुमार आचार्यले चिता बनाइदिए । त्यसपछि ती बृद्धहरूले मुस्किलले लासलाई चितामाथि राखे अनि मट्टितेल छर्केर आगो छाडे । त्यसरी जलाइएको लास कुनै बेवारिसेको नभई विगत ६ वर्षदेखि विराटनगर–८ को विराटेश्वर बृद्ध आश्रममा वस्दै आएका ८२ वर्षीय मानबहादुर राईको थियो । यो आश्रममा मृत्यु हुने राईको मात्र होइन । मलामीको अभावमा अन्यको पनि यसरी नै अन्त्यष्टि हुँदै आएको छ ।


आश्रममा अधिकांश ८० वर्ष आसपासका बुढापाका मात्रै छन । उनीहरूको स्वास्थ्य मलामी जान सक्ने अवस्थाको छैन । आश्रमका बृद्धबृद्धाको मृत्यु हुँदा आसपासका स्थानीय मलामी नजाँदा सदगतमा समस्या छ । गएको इतिहास छैन । आश्रमका कर्मचारी दिलीप आचार्यले भने बृद्धबृद्धालाई पालन पोषण गर्नभन्दा उनीहरूको निधनपछि मलामीको अभावमा लासलाई घाट पुर्‍याएर अन्त्येष्टि गर्न गाह्रो पर्दै आएको छ । राईको अन्त्येष्टिका लागि घाटसम्म लैजानका लागि दिलीपसहित आश्रमकै ८४ वर्षिय प्रेम तामाङ, ७८ वर्षिय दिपक राई र ७२ वर्षीय इन्द्र गजमेर जुटे । उनीहरूले ९ सय रुपैयाँ भाडामा शव वहान बोलाएर मुस्किले शवलाई परोपकार घाटमा पुर्‍याएका थिए । प्रहरी प्रशासन, राजनीतिज्ञ लगायत जो कोहीले बेवारिसे अवस्थामा फेलापारेका बृद्धबृद्धालाई पालन पोषणका लागि सिधै यही बृद्धआ श्रममा पुर्‍याउँछन् । आ श्रमले उनीहरूलाई चन्दा र मुठिदानबाट संकलन हुने अन्नले पाल्दै आएको छ । आश्रममा जति नै बृद्धबृद्धा भए पनि पालन पोषणका लागि अहिलेसम्म आवश्यक प्रबन्ध जुट्दै आएको छ । तर जब तिनै बृद्धबृद्धाको निधन हुन्छ । तब आश्रमलाई मलामीको समस्या आइपर्ने गरेको छ । यहाँ मृत्यु हुनेको अन्त्येष्टि गर्न कुनै पनि संघसंस्थाले सहयोग गर्दैनन् ।


राईभन्दा पहिला प्रहरी प्रशासनले पालन पोषणका लागि जिम्मा लगाएका ७८ वर्षिय नरबहादुर भुजेलको मृत्यु हुँदा दुईजना मात्र मलामी थिए । आचार्यले भने कारागारबाट छुटेपछि भुजेल बेवारिसे बनेका रहेछन् । उनलाई आश्रममा प्रहरीले ल्याएर छाडेको थियो । उनको मृत्यु भएपछि आश्रमले प्रहरीलाई खवर गर्‍यो । प्रहरी आएर शवको फोटो खिचेर फर्कियो तर अन्त्येष्टिका लागि सघाएनन् ।

प्रकाशित : आश्विन २९, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?