कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपद्‌बाट जोगिन सन्देशमूलक प्रदर्शन

कान्तिपुर संवाददाता

धनकुटा — मानिसको चहलपहल रहेको सिन्दुरे गाउँमा एक्कासि भाडदौड मच्चियो  । कोही भुइँचालो भन्दै भाग्दै थिए  ।

विपद्‌बाट जोगिन सन्देशमूलक प्रदर्शन

कतै घर भत्कियो, घाइते चिच्याइरहेका थिए । आइतबार धनकुटा बस पार्क क्षेत्रमा यस्तै दृश्य देखियो । यो कुनै वास्तविक घटना नभएर विपद आइपर्दा सावधानी गर्ने सन्देशमूलक प्रदर्शनी थियो । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा समुदायमा आधारित विपत् प्रतिकार्य सचेतनामूलक प्रदर्शनीका क्रममा सुरक्षाकर्मी, रेडक्रसकर्मी लगायतले प्रदर्शनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटा, वरखगण सल्लेरी व्यारेक, शसस्त्र प्रहरी बल नेपाल नं.६ छिन्ताङ गुल्म, नेपाल रेडक्रस सोसाइटी र जिल्ला अस्पतालले संयुक्त रुपमा प्रदर्शनी आयोजना गरिएको थियो । कार्यक्रममा भुइँचालो आउँदा बच्ने तरिका, विपद् पर्दा कसरी सुरक्षित स्थानमा जाने, आगलागी हुँदा मानवीय र धनमालको क्षति हुन नदिने लगायतका तौरतरिकाबारे काल्पनिक नाम रहेको सिन्दुरे गाउँमा प्रदर्शनी गरियो ।

प्रदर्शनीमा मादक पदार्थ खाएर झगडा गर्न नहुने, घाइतेको प्राथमिक उपचार कसरी गर्नेजस्ता नमुना प्रदर्शनीसमेत गरिएको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बताए । प्रदर्शनी हेर्न सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो । त्यहाँको दृश्य नियाल्दा कुनै वास्तविक ग्रामीण परिवेशको महसुस हुन्थ्यो । विपद्को समयमा रेडक्रसकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीले उद्धार गर्ने कौशल प्रस्तुत गरे । भूकम्पबाट विपद्मा परेका घाइतेहरूलाई उद्धार कार्य भइरहेको थियो ।

एम्बुलेन्समा बिरामी अस्पताल पठाउने काम भइरहेको थियो । त्यही बेला अचानक गाउँको एक घरमा आगलागी हुन्छ । मानिस सबै अतालिन्छन् । विपद् माथि झन् आपत् थपिन्छ । नगरपालिकाको दमकल र आगो निभाउन प्रयोग गरिने अक्सिजन ग्यास प्रयोग गरी आगो निभाएर विपद्मा परेकाको उद्धार गर्ने नमुना प्रदर्शनी गरिएको थियो ।

उक्त अवसरमा वरखगणका गणपति भगवान् थापा मगर, जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइराला, सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्मका प्रमुख सचिन कर्माचार्य, रेडक्रसका प्रदेश सभापति नगेन्द्र पोखरेल, धनकुटा रेडक्रसका महामन्त्री हरि राईलगायतले विपद् पर्दा गरिनुपर्ने सावधानीबारे धारणा राखेका थिए ।

प्रकाशित : आश्विन २८, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?