सन्थालले मनाए ‘दसाएँ एनेका’
काँकडभिट्टा — पहाडे समुदायले टीका र जमरा लगाएर दसैं मानिरहेका बेला आदिवासी सन्थाल (सतार) समुदायलाई भने ‘दसाएँ एनेका’ अर्थात् दसैं नाचले भ्याइनभ्याइ थियो । उनीहरू बिहीबारदेखि आफ्ना परम्परागत बाजागाजासहित सहर पसे ।
‘पञ्चमीदेखि दसाएँको चटारो हुन्छ हामीलाई,’ झापाको धुलाबारीमा नाच्दै गरेको भेटिएका टोमलाल सन्थालले भने, ‘दिनभरि नाचेर भेला पारिएको पैसाले मीठोमसिनो खाएर रमाइलो गर्छौं ।’
उनीहरू समूह समूहमा बाँडिएर गाउँ, सहर र टोल-टोलमा वाद्यवादनसहित नाच्न व्यस्त भए । वाद्यवादन टोलीहरू साइकिल गन्जी, पन्ची र घुंघरु पहिरिएर तुम्दा, ड्राम र राहाडको तालमा नाचिरहेका थिए । धेरैले आफ्नो मातृभाषाकै लोकभाका सुनाउने गरेका छन् । नृत्य सुरु गर्नुपूर्व सन्थालहरू लामो बाँसमा मयूरको प्वाँख बाँधिएको आलम अगाडि उभ्याउँछन् । तुम्दा, तामाक, कुरताल, दारामलगायतका बाजा बजाउँदै क्रमैसँगै तालमा ताल मिलाएर नाच्छन् । सन्थालहरू मयूरको प्वाँखलाई सद्भाव र विजयको प्रतीकका रूपमा लिन्छन् । नर्तकहरूले शिरमा फेटासित मयूरको प्वाँख सिउरिन्छन् ।
झापाका गौरादह, लखनपुर, कोहबरा, बैगुनधुरा, कोरोबारी र गरामनीलगायत सन्थालहरूका उच्च बसोबास भएका क्षेत्रमा यो पर्व धुमधामसँग मनाउँछन् । पञ्चमीदेखि पूर्णिमासम्म नाच्ने चलन छ ।
दसाएँमा उनीहरू सामूहिक नृत्य गर्छन् । एक समूहमा २० देखि १ सय २० जनासम्म नर्तक सहभागी हुन्छन् । महिलालाई भने नृत्यमा सहभागी गराइँदैन । ‘तर, उनीहरू नर्तकलाई भरपुर हौसला प्रदान गर्छन्,’ गरामनीका टेप्रा मुर्मु भन्छन्, ‘नृत्यमा शक्ति प्रदर्शन र वीरगाथा गाउने हुनाले पुरुष मात्रै सहभागी भएका हुन् ।’
सन्थाल समुदायका पूर्वसांसद मोहन टुडुका अनुसार पहाडे समुदायको तीजमा झैं उनीहरू दसैंमा चेलीबेटी बोलाएर मीठोमसिनो ख्वाउँछन् । दुर्गाको पूजा गर्छन् । टीकाचाहिँ लगाउँदैनन् । ‘हिजोआज त टीका लगाउने चलन पनि भित्रिएको छ,’ उनले भने, ‘समाज मिलेर बसे पनि एकअर्काको संस्कृति पनि सरेको छ ।’
पहाडे समुदायसँग बिहेबारी चलाएका सन्थाल परिवारमा दसैंमा टीका लगाउने चलन भित्रिएको उनले बताए । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा रहेका सन्थाल समुदाय अल्पसंख्यकमा पर्छन् । २०६८ को जनगणनाअनुसार सन्थालको जनसंख्या ५१ हजार ७ सय ३५ छ ।
प्रकाशित : आश्विन २७, २०७६ १०:१५