दसैं घुमघामको मेलो

मुख्य पर्व भएकाले यो बेला कामकाजीले पनि लामो बिदा पाउँछन् । चाडबाडमा परिवारसहित घुमफिर गर्ने चलन अचेल अलि बढेको छ ।

आश्विन १८, २०७६

कान्तिपुर संवाददाता

इलाम — दसैंको आगमनसँगै आकाश खुलेको छ  । छरपष्ट सेता बादल, चिसो हुन थालेको वातावरण, रंगीचंगी फूलहरू फक्रिइरहेको मनोरम दृश्यले नेपालीको मुख्य पर्व दसैंलाई स्वागत गर्न लागेझैं भान हुन्छ  ।

मुख्य पर्व भएकैले यस बेला कामकाजीहरूले पनि अलि लामो बिदा पाउँछन् । अग्रजबाट टीका आशीर्वाद लिने, मीठो खाने, लगाउनेबाहेक यो बेला रमाइला ठाउँहरू घुम्ने अवसर पनि हो । यो बेला परिवारसहित घुमफिर गर्ने चलन अचेल अलि बढेको छ । अझ दसैंका बेला घुमफिर गर्नु त थप रमाइलो हुने नै भयो ।

कहाँ घुम्ने त ? प्रदेश १ मा प्राकृतिक सुन्दरताले भरिएका धेरै स्थान छन् । तीमध्ये एउटा आकर्षक गन्तव्य इलाम हो । कृषिमा अग्रणी, यसैबाट धानिएको जीवनशैली, मौलिक सांस्कृतिक पक्ष, प्राकृतिक सुन्दरता जस्ता अनेक पक्ष छन्, जो इलाम पुगेपछि साक्षात्कार हुन सकिन्छ । झापाको चारआलीबाट विस्तारै उकालिँदै सुनमाइ, कोलबुङ, हर्कटे हुँदै थुम्काथुम्कामा हरियाली छरिएको कन्याम पुगिन्छ । कन्याममा रहेको चियाबारीको हरियाली, त्यसभन्दा पूर्वको अन्तुडाँडा र उत्तरको सन्दकपुरबाट देखिने उदाउँदै गरेको ‘कलिलो’ सूर्य र हिमाल, पहाड, तराईका मनोरम दृश्यले लोभ्याउँछन् ।

सूर्योदयलगायत दृश्य अवलोकन गर्ने मुख्य सिजन भनेकै असोज लागेपछि हो । मौसम छ्याङ्ग खुल्ने भएकाले सहज रूपमा यस्ता दृश्यमा रमाउन सकिन्छ । सूर्योदय हेर्न अन्तुडाँडा पुग्दा त्यहाँ स्थानीय बासिन्दाले सञ्चालन गरेको घरबास (होमस्टे) मा बस्नुको रमाइलो बेग्लै हुन्छ ।

केही वर्ष अघिदेखि सुरु गरिएको होमस्टे अचेल विस्तार भएको अन्तुका धनबहादुर आले बताउँछन् । पहिलेभन्दा आगन्तुकको संख्यासमेत बढेको उनको भनाइ छ । त्यस क्षेत्रमा पुग्नेहरूले लाप्चा जातिबारे पनि बुझ्न पाउँछन् ।
उत्तरी लेकाली क्षेत्रको जैविक विविधतायुक्त माईमझुवा, माइपोखरी, जमुनालगायत क्षेत्रले पनि आगन्तुकलाई तान्ने गरेको छ । त्यसक्षेत्रमा पाइने दुर्लभ वनस्पति र जीवजन्तुले घुमन्तेमात्र होइन अनुसन्धानकर्तालाई पनि आकर्षित गर्ने गरेको उत्तरी इलामको जमुनाका उमेश गुरुङले बताए ।

इलाम सदरमुकामबाट करिब १३ किलोमिटर उत्तरमा रहेको माईपोखरी धार्मिक दृष्टिले मात्र होइन जैविक विविधताका लागि पनि प्रसिद्ध छ । विभिन्न धार्मिक तिथिका बेला मेला लाग्ने गरेको माईपोखरी नौकुने रुपमा आकर्षक भएर फैलिएको छ । यो स्थानमा पनि घुम्न जानेहरू प्रशस्तै हुने गरेका छन् ।

माईपोखरीभन्दा अझ उत्तर सन्दकपुर अर्को आकर्षक गन्तव्य हो । बाह्रैमास चिसो रहने यो स्थान असोजदेखि मंसिरसम्म घुम्न लायक मानिन्छ । फागुन, चैत र वैशाखमा पनि यहाँ घुम्न जानेहरू उल्लेख्य हुने गरेका छन् । सन्दकपुर डाँडाबाट सर्वोच्च शिखर सगरमाथालगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ ।

यसैगरी सदरमुकाम पूर्व नयाँबजारमा पर्ने सिद्धपोखरी, माईमझुवाको टोड्के झरना, सोयाङको साततले झर्ना, जमुनाको घना वनक्षेत्र, छिन्टापु, सिद्धिथुम्का, किराँत धार्मिकस्थल लारुम्बाजस्ता अनेकौं गन्तव्यले इलामलाई प्राकृतिक रूपमा निकै धनी बनाएको छ ।

इलाम घुम्न जानेहरू त्यहाँका प्रसिद्ध उत्पादन नलिई फर्कंदैनन् । छुर्पी, ललिपप, अलैंची, घिउ, अकबरे खुर्सानी, चिजजस्ता सामग्रीमा पर्यटकहरू हत्ते गर्छन् । ‘इलामबाट अकबरे खुर्सानी, घिउ, चिज अनि लेकाली आलु नलिई फर्कन मन लाग्दैन,’ समय मिल्यो कि घुम्न आइरहने विराटनगरका व्यवसायी धीरज पोखरेल भन्छन्, ‘यहाँको मौलिक उपज एकपटक प्रयोग गरेपछि लत जस्तै लाग्नेरहेछ ।’

कान्तिपुर

Link copied successfully