कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालीभाषी भारतीयमा उल्लास

कान्तिपुर संवाददाता

काँकडभिट्टा — सीमापारिका नेपालीभाषी भारतीयहरूमा दसैंको उल्लास सुरु भएको छ  । दार्जिलिङ, सिक्किम, असम, मणिपुर, मेघालय, मिजोरम, अरुणाञ्चल आदि राज्यका उनीहरू दसैंलाई सधैं नेपालीभाषी (गोर्खा) हरूको एकता पर्वका रूपमा मनाउने गरेका छन्  ।

मणिपुरका लेखक राहुल राई भन्छन्, ‘नेपालमा जस्तै तर फरक ढंगबाट हामी मणिपुरे नेपाली दसैं मनाउँछौं ।’ दुर्गा पूजा गर्ने, जमरा राख्ने, टीका थाप्ने चलन उता पनि यता जस्तै हुन्छ । किराँत समुदायले सेतो टीका ग्रहण गर्ने अनि अरू समुदायले रातै टीका लगाएर अग्रजको आशीर्वाद लिने गरेको राईले बताए ।

नेपालीभाषी रहेका केही राज्यमा पशु बलि गर्ने चलन छ । अष्टमीमा बोकाको मार हान्ने चलन पुरानै हो । बहुसंख्यक इसाई धर्म मान्ने भारतको मिजोरम राज्यमा करिब १० हजार नेपालीभाषी छन् । त्यहाँ दसैंलाई ठूलो पर्वको रूपमा मनाउने गरिएको छ ।

आइजोलको ठ्वामपुईस्थित नेपाली बस्तीमा दुर्गा मन्दिर स्थापना गरिएको छ । त्यही मन्दिरमा पूजा अर्चना, भजनकीर्तन गर्छन् । यसै मन्दिरमा जमरा पनि राखिन्छ र विजयादशमीका दिन सबै नेपालीलाई बाँडिन्छ । स्थानीय रैथाने नेपालीभाषी गुनु घर्तीका अनुसार दसैंलाई सम्मानित पर्वका रूपमा मनाउने चलन छ । करिब १४ लाख नेपालीभाषी रहेको असममा अन्य राज्यमा भन्दा बढी उल्लासका साथ दसैं मनाउने चलन छ । गुवाहाटीका पत्रकार रोहित गौतम भन्छन्, ‘भारतका अन्य राज्यमा भन्दा असममा दसैं विशेष हुने गरेको छ ।’

कतिपय टीका थाप्न भारतकै अन्य राज्यतिर पनि जान्छन् । कोही नेपालका आफन्तको आशीर्वाद लिन यता पनि आउँछन् । ‘नेपालसँग असमको ऐतिहासिक साइनो छ’, गौतमले भने, ‘नेपाल–असमबीच वर्षौं पहिलादेखि बिहेबारी चल्दै आएको छ, त्यही भएर यताको उता र उतावाट यता टीका थाप्न आउने चलन पुरानै हो ।’

दार्जिलिङ, सिक्किममा महिना दिन अघिदेखि दसैंको रौनक सुरु हुन्छ । माल्सिरी र मादलको धुन गुन्जन थाल्छ । नेपालमा मनाइने दसैं र दार्जिलिङमा मनाइने दसैंको फरक खासै छैन । तर कवि सुकराज दियाली भन्छन्,‘ असली दसैं त दार्जिलिङेले मात्रै मनाउँछन् जस्तो लाग्छ ।’ सांस्कृतिक पर्व, जातीय उत्सव तथा चिनारीको रूपमा दसैंलाई धुमधामसँग मनाउने चलन दार्जिलिङमा छ ।

प्रकाशित : आश्विन १८, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?