कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किनमेल सीमापारि

कान्तिपुर संवाददाता

काँकडभिट्टा — सीमावर्ती भारतीय बजार पानीट्यांकीमा यतिबेला चहलपहल बढेको छ । पर्वका बेला किनमेल गर्ने ग्राहकको बाक्लो भीडले भारतीय बजार व्यस्त हुँदा वारिका नेपाली व्यवसायी भने फुर्सदिला देखिन्छन् । 

चाडपर्वका बेला नेपाली उपभोक्ता सीमापारिकै बजार पुग्छन् । उपभोग्य वस्तुको मूल्य अन्तरले ग्राहक उता तानिएका हुन् । ‘यता सस्तो पाइन्छ त्यही भएर आएको दमककी गृहिणी सीमा शंकरले भनिन्, ‘दुई चार पैसा भए पनि सस्तो हुँदा फाइदा हुन्छ ।’


‘नेपाली उपभोक्ताका कारण बजारमा खुट्टा राख्ने ठाउँ छैन’, स्थानीय व्यवसायी मुकेश राजवंशीले भने, ‘यो भीड अझै केही दिन जारी रहने छ ।’ भारतका पानीट्यांकी, नक्सलबारी, वागडोग्रा र सिलिगुडीसम्मै नेपालीको भीड देखिन्छ । पानीट्यांकी नेपालको पूर्वी भेगका सर्वसाधारणको मुख्य किनमेल गन्तव्य हो । नक्सलबारी झापाको उत्तरी गाउँ बाहुनडाँगीका साथै इलामको सलकपुरका बासिन्दाको मुख्य बजार हो ।


प्रहरीका अनुसार दैनिक ५ हजारभन्दा बढी उपभोक्ता किनमेलका लागि मेची तरिरहेका छन् । ५ हजार नेपालीले दैनिक न्यूनतम ५० लाख रुपैयाँ भन्दा बढी रकम भारतीय बजारमा खर्चिरहेका छन् । मेची उद्योग वाणिज्य संघका सदस्य सन्दीप ओलीले नेपाली उपभोक्तालाई स्थानीय बजारमै आकर्षित गर्न नसक्नु व्यवसायीको कमजोरी रहेको स्वीकार्छन् । ‘पारिभन्दा सस्तोमा सामान उपलब्ध गराउन सक्दा उपभोक्ता पारि तरेर जानुपर्ने थिएन,’ उनले भने, ‘यसो गर्दा हाम्रो पैसा बिदेसिने थिएन ।’


कुनै समय ‘हङकङ बजार’ को उपमा पाएको झापाकै चर्चित धुलाबारी बजारमा पनि खासै चमक छैन । पहिले यो बजारका मुख्य ग्राहक भारतीय थिए । अहिले भारतीय त परको कुरा नेपाली ग्राहक पाउन पनि सिला खोज्नु पर्ने स्थिति छ ।

प्रकाशित : आश्विन १८, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?