कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘संसदमै समयको पालना हुँदैन’

सभामुखज्यू सरकारप्रति अधिक लचक भएको असर संसद बैठकमा समेत परिरहेको छ जसले बैठक समयमा सुरु हुन सक्दैन 
देवनारायण साह

मोरङ — प्रदेशसभाको चालु वर्षे तथा बजेट अधिवेशनको ५३ औं बैठक सोमबार तोकिएको समयभन्दा ४५ मिनेट ढिलो सुरु भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले दिउँसो १ बजे बोलाएको बैठक १ः४५ बजे सुरु भएको थियो । 

यस्तै, ५२ औं बैठक आइतबार ३५ मिनेट ढिलो सुरु भएको थियो । संसदको ५१ औं बैठक असोज १ गते ३० मिनेट ढिलो सुरु भयो । भदौ ३१ गते मंगलबार बजेट अधिवेशनको ५० औं बैठक १ बजे बोलाइएको थियो तर १ घण्टा ४५ मिनेट ढिलो मात्रै सुरु भएको थियो । प्रदेशसभा नियमावली २०७४ मा सभामुखले निर्धारण गरेको समयदेखि २ घण्टासम्म बैठक सुरु हुन नसकेको अवस्था स्थगित गरी अर्को बैठकको सूचना दिनुपर्ने व्यवस्था छ ।


प्रदेश १ सभाको चालु बजेट तथा वर्षे अधिवेशनमा हालसम्म बसेको ५२ वटा बैठकमध्ये एउटा पनि सभामुख भण्डारीले तोकेको समयमा सञ्चालन हुन सकेको छैन । तोकिएको समयभन्दा जहिल्यै पनि ३० मिनेटदेखि डेढ घण्टासम्म ढिलो संसद बैठक सुरु हुने गरेको छ । मन्त्री, प्रदेशसभा सदस्यहरू समयमा उपस्थित नहुँदा बैठक समयमा सुरु हुन सकेको छैन ।


५१ बैठक ३० मिनेट ढिलो सुरु भएर स्थगित भइसकेपछि करिब १० जना प्रदेशसभा सदस्यहरू बैठकमा सहभागी हुन आएका थिए । उनीहरू बैठकमा सहभागी नभए पनि हाजिरी पुस्तिकामा उपस्थिति जनाएका थिए ।


सत्तारुढ दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय दलको बैठक लम्बिएर समयमा नसक्दा संसद बैठक ढिलो सुरु हुने बाध्यात्मक अवस्था रहेको बताए । ‘प्रतिपक्षी र सत्तारुढ दलको संसदीय दलको बैठक लम्बिएर बैठक ढिलो बस्ने गरेको छ,’ उनले भने, ‘दलको बैठक बसिरहेको अवस्थामा सभामुख ज्यूले जबरजस्ती बेल बजाएर संसद बैठक सुरु गर्न मिल्दैन ।’ मन्त्रीहरू ढिलो आउने गरेकाले पनि बैठक सञ्चालनमा ढिलाइ हुने गरेको सत्तापक्षका सांसद बताउँछन् ।


सत्तारुढ दलका प्रदेशसभा सदस्य राजकुमार ओझाले संसदमा सभामुखले तोकेको समयमा मन्त्रीहरू नआइदिँदा समयमा बैठक सञ्चालन हुन नसकेको बताए । ‘संसद बैठक सञ्चालन गर्न कोरम पुग्ने प्रदेशसभा सदस्यको उपस्थिति भइसकेको हुन्छ तर मन्त्रीहरू आएको हुँदैन,’ उनले भने, ‘मन्त्रीको अनुपस्थितिमा बैठक बस्न नमिल्ने व्यवस्था भएकाले ढिलो हुने गरेको छ ।’


प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मन्त्रीहरू तोकिएको समयमा नआउने गरेकाले समयमा बैठक बस्न नसकिरहेको बताए । ‘सभामुख ज्यूले आफैंले तोकेको समयमा बैठक सुरु गर्नका लागि रुलिङ गर्न सकेको छैन,’ उनले भने, ‘सभामुखज्यू सरकारप्रति अधिक लचक भएको असर संसद बैठकमा समेत परिरहेको छ जसले बैठक समयमा सुरु हुन सक्दैन ।’


सभामुख भण्डारीले पनि मन्त्रीहरू समयमा नआइदिने गरेकाले बैठक समयमा सुरु गर्न नसकेको स्विकारे । ‘मन्त्रीको अनुपस्थितिमा बैठक सुरु गर्न मिल्दैन तर के गर्नु समयमा आइदिँदैनन्,’ उनले भने, ‘मन्त्रीहरू आ–आफ्नै धुनमा रमाइरहेकाले समयमा उपस्थित नहुने गरेको हो तर मन्त्रीहरूलाई समयमा उपस्थितिका लागि पटक–पटक भन्दै आएका छौं ।’ योभन्दा अघिल्लो अधिवेशन समयमा सञ्चालन हुने गरेको थियो यो अधिवेशनमा समयको पालना नभएको भण्डारीले सुनाए ।


मुख्यमन्त्री शेरधन राई सधैं मन्त्रीहरूकै कारण संसद बैठक ढिलाइ भएको स्वीकार्न तयार भएनन् । ‘कहिलेकाँही मन्त्रीहरूको ढिलाइले पनि संसद बैठक ढिलो भएको होला तर सधैं चाहिँ होइन,’ उनले भने, ‘कतिपय विषयमा छलफल गरेर मात्रै संसदमा उपस्थित हुनुपर्ने अवस्था हुने गरेको र छलफल लम्बिदा बैठकमा उपस्थित हुन मन्त्रीज्यूहरूलाई ढिलो हुने गरेको छ ।’

प्रकाशित : आश्विन ११, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?