कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यकर्मीलाई प्रशासनिक काम

आनन्द गौतम

(ताप्लेजुङ) — मैवाखोला गाउँपालिकाले अहेव जितेन्द्र राजवंशीलाई वडा सचिवको जिम्मेवारी दिएको छ  । यसै महिना गरिएको निर्णयअनुसार उनले अब सेतो पोसाक थन्क्याएर निजामती कर्मचारीको पोसाकमा वडा ३ साँघुको वडा सचिवको जिम्मेवारी पूरा गर्नुपर्नेछ  ।

साँघु स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी उनलाई प्रशासनतर्फ ल्याइएको हो । प्रशासनसम्बन्धी कुनै ज्ञान नभएका उनले नागरिकताको सिफारिस, पञ्जिकरण, सामाजिक सुरक्षा भत्ता, वडाको बजेट कार्यान्वयन जस्ता जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

मेरिङ्देन गाउँपालिका १ स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट हेमन्त प्रधान चार महिनादेखि वडा सचिवको जिम्मेवारी पूरा गर्दैछन् । बिरामी जाँच गर्ने उनले वडाको जन्म, मृत्यु, बसाइँसराइ दर्ता गर्ने, टोलटोलमा गएर उपभोक्ता समिति गठन गर्ने, सम्झौताका लागि गाउँपालिकामा सिफारिस गर्ने, नागरिकता सिफारिसको फाराम भर्नेजस्ता काममा लाग्नुपरेको छ ।

मैवाखोला र मेरिङदेन होइन सदरमुकाम फुङलिङ नगरपालिका बाहेकका जिल्लाका अधिकांश गाउँपालिकामा वडा सचिवको जिम्मेवारी स्वास्थ्यकर्मीलाई दिन थालिएको छ । यसले गाउँपालिकामा स्वास्थ्य कि प्रशासन सेवा महत्त्वपूर्ण भन्ने बहस पैदा गरेको छ । मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले भने, ‘अरू कुनै उपाय नभएपछि बाध्य भएर खटाउनु पर्‍यो ।’ आवश्यकताअनुसार बिरामी पनि हेर्ने र प्रशासनिक काम पनि गर्ने गरी जिम्मेवारी दिएको उनले बताए ।

‘कर्मचारी छैन भनेर सेवाग्राहीले नाराजुलुस गर्ने अवस्था सृजना गर्नुभएन,’ अधिकारीले भने, ‘सकेसम्म भएको जनशक्तिलाई कसरी परिचालन गर्न सकिन्छ भनेर प्रयास गरिएको हो ।’

सबैभन्दा बढी मेरिङदेन गाउँपालिकाले स्वास्थ्यकर्मीलाई वडा सचिवको जिम्मेवारी दिएको छ । प्रशासनतर्फ प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्वे मात्रै छन् । भीम बस्नेत सरुवा भएपछि र डम्बरबहादुर आउनु अघि झन्डै एक वर्ष प्रशासकीय अधिकृतको जिम्मेवारी पनि सिनियर अहेव सूर्य ओख्रावुले बहन गरेका थिए ।

स्वास्थ्य क्षेत्रकै व्यक्ति प्रशासन प्रमुखमा बसेर लामो समय काम गरेकाले स्वास्थ्यकर्मीलाइ प्रशासनको काम लगाउन सहज भएको हो । ‘तपाइँहरूलाई प्रोत्साहन गर्छौं, दुवैतिरको काम हेरिदिनुहोस् भनेर अनुरोध गरेका छौं,’ गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले भने, ‘सरकार भन्छन् कर्मचारी पठाउँदैनन् न त नियुक्ति गर्न दिन्छन् सञ्चालनमा समस्या भएको छ ।’ ३२ जनाको दरबन्दी भएको मेरिङ्देनमा प्रशासनतर्फ प्रशासकीय अधिकृत मात्रै छन् । अरू सबै दरबन्दी खाली रहेको अधिकृत आङदेम्बेले सुनाए ।

सिरिजंघा गाउँपालिकामा पनि ८ मध्ये दुई वडामा मात्रै प्रशासनका सचिव रहेको प्रशासकीय अधिकृत प्रसन्नदिप राईले बताए । बाँकी स्वास्थ्यकर्मीलगायत प्राविधिक क्षेत्रका कर्मचारी परिचालन गर्नुपरेको छ ।

गत आर्थिक वर्षमा २५ लाख रुपैंयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि स्वास्थ्यकर्मीको भरमा चलाउनु परेको गुनासो अधिकृतको छ । कर्मचारीका कारण कामलाई गति दिन निकै कठिन भएको गाउँपालिका अध्यक्ष टिका गुरुङले बताए ।

प्रकाशित : आश्विन ९, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?