कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्यो शिक्षक–कर्मचारीको तलब

अर्जुन राजवंशी

(बिर्तामोड) — न्यून तलब सुविधामा काम गर्दै आएका सामुदायिक विद्यालयका बाल विकास शिक्षक र कर्मचारीलाई झापाका दुइटा पालिकाले श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक दिने निर्णय गरेका छन् । 

मासिक ६ हजार रुपैयाँ मात्रै पाउँदै आएका बाल विकास शिक्षक तथा कर्मचारीलाई बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकाले न्यूनतम पारिश्रमिक मासिक साढे १३ हजार रुपैयाँ दिने निर्णय गरेका हुन् । दुवै पालिकाले गत साउन १ देखि लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।


‘सरकारले श्रम ऐन लागू गरिसकेको छ । ऐनअनुसार न्यूनतम पारिश्रमिक दिन सरकारले सबै उद्योग, प्रतिष्ठानमा दबाब पनि दिइरहेको छ,’ हल्दिबारीका उपाध्यक्ष डम्बर गिरीले भने, ‘हामी पनि एउटा सरकार हौं । श्रम ऐन हामीले पनि त कार्यान्वयन गर्नुपर्छ ।’


हल्दिबारीमा बाल विकास शिक्षक ३४, विद्यालय सहयोगी १९ र कर्मचारी ६ गरी ५९ जनाको तलब वृद्धि गरिएको छ । उनीहरू सबैको न्यूनतम तलब १३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।


उनीहरूलाई न्यूनतम पारिश्रमिक वितरणका लागि गाउँपालिकाले चालु वर्ष ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको घिमिरेले बताए । ‘हामी स्थानीय सरकारले पनि ऐन, कानुन कार्यान्वयन गरेर केन्द्र सरकारलाई सहयोग गर्नुपर्छ,’ गिरीले भने, ‘सबै कुरामा केन्द्र सरकारको मात्र मुख ताक्नु राम्रो हुँदैन । गर्न सकेजति काम हामीले पनि गर्नुपर्छ भनेर यो निर्णय गरेका हौं,’ उनले भने । पारिश्रमिक वृद्धिको निर्णयले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार कार्यक्रममा प्रत्यक्ष सहयोग पुग्ने उनले विश्वास समेत व्यक्त गरे । बिर्तामोड नगरपालिकामा बाल विकास शिक्षक ४७ र विद्यालय सहयोगी कर्मचारी २८ गरी ७२ जनाको तलब वृद्धि गरिएको मेयर ध्रुवकुमार सिवाकोटलीले जानकारी दिए । श्रम ऐनअनुसार उनीहरूको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको सिवाकोटीले बताए । ‘स्कुलमा साना बालबालिकालाई पढाउन सबैभन्दा धेरै मिहिनेत गर्नुपर्छ । बढी दुःख गर्नुपर्ने शिक्षकहरूकै तलब थोरै रहेकाले हामीले कम्तीमा श्रम ऐनअनुसार पारिश्रमिक दिने निर्णय गरेका हौं,’ सिवाकोटीले भने ।


उनीहरूको तलब वृद्धि गर्दा नगरपालिकालाई चालु वर्ष ३३ लाख ३७ हजार रुपैयाँ आर्थिक भार थपिएको प्रशासन शाखा अधिकृत देवराज कार्कीले जानकारी दिए । ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सामान्य तलबमा वर्षौंदेखि काम गर्दै आएका शिक्षक र कर्मचारीको पारिश्रमिक वृद्धि आवश्यक थियो,’ कार्कीले भने, ‘यो निर्णयले कुसल विद्यार्थी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’ तलब वृद्धिको निर्णयले आफूहरूलाई उत्साहित बनाएको बाल विकास शिक्षकहरूको प्रतिक्रिया छ । ‘यो स्कुलमा १६ वर्षदेखि कार्यरत छु । ५ सय रुपैयाँदेखि काम सुरु गरेकी थिए । अहिलेसम्म मासिक ६ हजारभन्दा बढी पाएकी थिइनँ,’ हल्दिबारी ४ स्थित दीपेन्द्र प्राविमा कार्यरत बाल शिक्षक यसोदा निरौलाले भनिन, ‘गाउँपालिकाले मासिक पारिश्रमिक साढे १३ हजार दिने निर्णय गरेको छ । यो निर्णयले उत्साहित बनाएको छ ।’


तलब वृद्धिको निर्णयले साँच्चिकै गाउँमा सिंहदरबार आएको आभास भएको शिक्षक जानुका तोलाङ्गीले बताइन् । १५ स्थानीय तह रहेको जिल्लामा बिर्तामोड र हल्दीबारी बाहेकका पालिकामा कार्यरत बाल विकास शिक्षक र विद्यालय कर्मचारीले मासिक ६ हजारदेखि ९ हजार रुपैयाँ पारिश्रमिकमा काम गर्न बाध्य छन् । जिल्लाका बाल शिक्षकहरू श्रम ऐनअनुसारको न्यूनतम पारिश्रमिकका लागि विभिन्न समयमा आन्दोलन समेत गर्दै आएका छन् ।


प्रकाशित : आश्विन ४, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?