जितिया मनाउन माइत आए चेली
(विराटनगर) — तराईबासी महिलाले मनाउने जितिया पर्व यसपालि ४–५ असोजमा परेको छ । घटस्थापनाको साताअघि पर्ने यो पर्वलगतै तराई–मधेसमा दसैं तयारी सुरु हुन्छ । पहिले घरभित्रै तीन/चार दिनसम्म मनाइने यो पर्वको स्वरूप अचेल फेरिएको छ ।
पर्वअघि लोक सांस्कृतिक कार्यक्रम गर्न थालिएको छ । अवसरमा दल निकट महिला सञ्जाल र विभिन्न जातीय संघसंगठनले समेत मनोरञ्जनात्मक लोक साँस्कृतिक कार्यक्रम गरिरहेका छन् ।
‘पहिलेपहिले आमा र सासु आमाले घरभित्रै मनाउनु हुन्थ्यो, अरूलाई थाहा हुँदैन्थ्यो,’ मोरङको कटहरी–१, जमटोकी टोलकी गृहिणी ५० वर्षीया गौरा माझीले भनिन्, ‘अचेल सांस्कृतिक तामझामसाथ मनाउने हुनाले सबै समुदायको सहभागिता हुन थालेको छ ।’
जमटोकीकै हिमानी माझी जितियालाई थारू समुदायको सबैभन्दा ठूलो पर्व मान्छिन् । ‘एक किसिमले थारू समुदायको तीज नै हो,’ उनले भनिन्, ‘साथीभाइलाई घर बोलाएर खानेकुरा खुवाउँछौं, बिहे भइसकेकाहरू जितिया मनाउन माइती फर्कन्छन् ।’
दाजुभाइले दिदीबहिनीलाई ससुरालीबाट माइती ल्याउँछन् । दाजुभाइ नभए माइतीतिरका नातेदारले चेलिबेटीलाई लिएर आउने गरेको विराटनगरको जतुवाका मन्तलाल यादवले बताए । यो पर्वमा सफलताको प्रतीकका रूपमा सूर्यको छोरा जितमहान देउताको पूजा हुन्छ । स्थानीयका अनुसार जित भनेको जित्नु वा विजय प्राप्त गर्नु र महान्को अर्थ विशाल वा ख्याति हो । ‘जित र महान शब्दको मेलबाट जितमहान कहलिएको हो,’ विराटनगरका ३५ वर्षीय प्रवीण चौधरीले भने ।
जितियामा आश्विन कृणपक्ष सप्तमीमा नुहाएर तयारी सुरु हुन्छ । पहिलो दिन ब्रतालुले नदी, खोला, पोखरी र इनारमा नुहाइ रातो माटो र खैर/खल्लीले कपाल पखाल्छन् । घिरौंलाको पातमा घिरौंलाको फूल, रातो माटो, पिना, तेल, सिन्दुर राखेर पूर्वतिर फर्कि पितृलाई चढाउँछन् । यसपछि फलफूल, दही, पानसुपाडी, च्यूरा र मिठाइ किनेर ल्याउँछन् । थारू समुदायले भने माछा र मरुवा (कोदो) को रोटीलगायत पकाउँछन् ।
त्यही रात बिहानको चार बजे उठेर घिरौलाको पातमा ती सामग्री राखेर पूजा गर्छन । त्यसपछि ब्रतालुले प्रसाद खान्छन् र परिवारलाई उठाएर खुवाउँछन् । ‘यो विधिलाई दर खाने (ओटघन) भनिन्छ,’ चौधरीले भने । थारू व्यवसायी ४० वर्षीया सीता माझीका अनुसार यो कठिन र महत्त्वपूर्ण पर्व हो । उनका अनुसार जितियाबारे एउटा चर्चित उखान छ,
जितिया पावैन बर भारी,
धियापुता के ठोइक सुताबी,
अपना ला भैर थारी ।
‘यो एक खाले ठट्यौली हो जसमा छोराछोरीलाई सुताएर आमाले थालभरी खान्छन् भनेको हो,’ उनले भनिन् । मूल पूजाको आसय सन्तान कल्याण भए पनि मधेसकै विभिन्न जाति र समुदायमा बेग्लाबेग्लै ढंगले जितिया मनाउँछन् । ‘कुनै समुदायले यो पर्वमा माछा, ओल र मरुवा (कोदो) को रोटी खान्छन्,’ उनले भनिन्, ‘कसैकसैले फलफूल, दही, च्यूरा र मिठाइ मात्र खान्छन् ।’
दोस्रो दिन दिउँसो केही समुदायका ब्रतालुले आँगन वा द्वारमा चारकुने सानो पोखरी खन्छन् । अधिकांशले पूजाको डालोमा कर्कलोको पात, केरा र घिरौंलाको पात, फूल, सानो केराउ, अक्षता, तोरीको तेल, सिन्दुर, दही, च्यूरालगायत राख्छन् ।
त्यसपछि जितमहान देउताबारे कथा वाचन हुन्छ । कथा वाचकको निर्देशन अनुसार पूर्व फर्केर पुजा गर्नुपर्छ । अन्तिम दिन बिहान सूर्योदयपछि आँगनमा गोबरमाटोले लिपपोत गरिन्छ । स्नान गर्न जाँदा डालोमा भएका सामग्रीलाई नदी वा पोखरीमा बगाइन्छ । घर आएपछि ब्रतालुले फेरि आँगनमा पूर्वतिर फर्केर पुजा गर्छन् ।