कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटना कम गराउन सडकमा ‘डमी ट्राफिक’

काँकडभिट्टा —  झापा, धुलावारीका प्रल्हाद दाहाल राति बिर्तामोडबाट मोटरसाइकलमा पूर्वतिर हुइकिँदै आए । चारआली चोकमा ट्राफिक प्रहरी उभिरहेको देखे । गति घटाए । चोकपछि छक्क परे । उनले देखेको ट्राफिक प्रहरी डमी थियो ।

‘ट्राफिक प्रहरी भनेर गति घटाएको त डमी पो रहेछ,’ उनले भने, ‘झुक्किइने रहेछ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सडकमा ‘डमी ट्राफिक’ राखेको छ । काँकडभिट्टादेखि गौरीगन्जसम्म डकमा डमी प्रहरीसँगै ट्राफिक नारा पनि देख्न सकिन्छ ।


‘सधैं ट्राफिक प्रहरी सडक रुँगेर बस्न सक्दैन,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक होम अधिकारीले भने, ‘त्यही भएर डमी राखेका हौं ।’ उनका अनुसार डमी राखेपछि राखेपछि ‘ट्राफिक उभिरहेको छ’ भन्ने भान सवारी चालकमा पर्छ र सचेत हुन्छन् ।


डमी राखेपछि दुर्घटना कम भएको उनको दाबी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार केही अघि महिनामा १४, १५ जनाले दुर्घटनामा ज्यान गुमाउँदै आएका थिए । तर, साउनमा झापामा १४ दुर्घटना भए । जसमा २ जनाले ज्यान गुमाए । भदौमा २२ दुर्घटनामा २ को मृत्यु भएको छ । ‘डमी प्रहरी राखेपछि समग्र जिल्लाको दुर्घटना दर कम भएको हो,’ अधिकारीले भने ।


झापामा ४२ जना ट्राफिक प्रहरीको दरबन्दी छ । ८० कार्यरत छन् । बढ्दो सवारी चापका कारण यो संख्या पर्याप्त छैन । ‘यसले चालकहरूमा मनोवैज्ञानिक असर समेत पारेको देखिन्छ,’ अधिकारीले थपे, ‘तीव्र गतिमा सवारी गुडाउनु हुन्न भन्ने चेतना समेत भएको देखिन्छ ।’


पूर्वी क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक भीम दाहालले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोरङपछि झापामा डमी राखिएको हो । प्रदेश १ का सबैजसो जिल्लामा राख्ने योजना रहेको दाहालले बताए ।

झापामा दुर्घटना न्यूनीकरणका लागि डमी ट्राफिकसँगै सवारीको गति नाप्ने ७ वटा राडर गन र मादक पदार्थ जाच्ने १७ ब्रेथलाइजर प्रयोग भइरहेको छ ।


प्रकाशित : आश्विन ३, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?