कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षा बैठक– ‘प्रदेशको सुरक्षा सन्तोषजनक’

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताएका छन् । विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा राईले सुधारका सम्भावना रहे पनि समग्रमा स्थिति सकारात्मक देखिएको बताएका हुन् । 

विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीका क्रममा १४ वटै जिल्ला सुरक्षा समितिका प्रमुखहरूले जिल्लाको सुरक्षा अवस्थाबारे प्रतिवेदन पेस गरेका थिए । ‘जिल्लाहरूको सुरक्षा अवस्थाको प्रस्तुति हेर्दा प्रदेशको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक नै रहेको देखियो,’ मुख्यमन्त्री राईले भने, ‘यद्यपि सुधार गर्नुपर्ने र सुरक्षा व्यवस्थालाई प्रभावकारी र अझ मजबुत बनाउनु पर्ने थुप्रै ठाउँहरू छन् ।’


सुखी र समुन्नत प्रदेशको लक्ष्य प्राप्तिका लागि प्रदेश सरकारले तय गरेका कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारको विकास लगायतका लक्ष्य प्राप्ति गर्न सर्वप्रथम शान्ति सुरक्षा नै हुन जरुरी हुने भएकाले प्रदेश सरकार यसतर्फ गम्भीर रहेको उनले बताए ।

‘पहिलोपटक संघीय प्रणाली अपनाएर हिंडिरहेका छौं । धेरै कानुहरू बनाउँन बाँकी नै छ,’ उनले भने, ‘प्राविधिक हिसाबले कानुन बन्न बाँकी रहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी र अन्य सुरक्षा निकाय संघीय सरकार मातहतमा छन् । यसको अर्थ प्रजिअलगायत सुरक्षा निकायका अधिकारी संघीय सरकारको प्रतिनिधि मात्र हो, हामी संघ अन्तर्गत मात्रै छौं भन्ने बुझ्नु हुँदैन ।’


संघीय सरकारको गृह मन्त्रालय र प्रदेश एक आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न दुई दिने सुरक्षा गोष्ठीमा समग्र शान्ति सुरक्षाको अवस्था, सुरक्षा चुनौतीका तत्त्व, विप्लव समूहका गतिविधि र नियन्त्रणमा भएका प्रयास, सीमा क्षेत्रमा हुने अपराध र नियन्त्रणका लागि अपनाउनु पर्ने उपाय लगायतमा छलफल भएको थियो ।


नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा सुरक्षा सल्लाहाकार इन्द्रजित राईले समेत गोष्ठीमा प्रस्तुति गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?