कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटचोक–घिनाघाट सडक ४ लेनको बन्दै

(मोरङ) — विराटचोक–घिनाघाट सडक चार लेनको बन्ने भएको छ । प्रदेश सरकारले गौरवको आयोजनाअन्तर्गत सडकलाई नमुना बनाउन लागेको हो । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सडकको सोमबार ग्रामथान गाउँपालिकास्थित नेताचोकमा शिलान्यास गरे । ‘यो प्रदेशकै नमुना सडकको रूपमा निर्माण हुन लागेको छ,’ उनले भने, ‘सुशासनसहितको यो सडक बन्द, हडताल निषेधित रहन्छ ।’


यो सडक निर्माण भएपछि विराटनगर–इटहरीको सवारी चाप घट्नुका साथै पूर्वबाट विराटनगर आउन छोटो बाटोसमेत हुने उनको भनाइ थियो । निर्माण कम्पनीलाई गुणस्तरहीन काम गर्ने छुट नहुने र २४ सै घण्टा निगरानी गर्ने प्रतिबद्धता जनाए ।


प्रदेश सरकार मातहतका पूर्वाधार विकास कार्यालय मोरङले विराटचोक–घिनाघाट २२.७ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का लगाएको छ । विराटचोकदेखि १० किलोमिटर नेताचोकसम्म र नेताचोकदेखि मिलनचोकसम्म अर्को १० किलोमिटर गरी

२० किलोमिटरको २ खण्ड ठेक्का लगाएको हो ।


यसअघि सडक डिभिजन कार्यालय विराटनगरले बर्सेनि ६ महिना लगाएर सडकको निर्माण गर्ने र ३ महिना नबित्दै भत्किने गरेको थियो । सडक गत आर्थिक वर्षमा प्रदेश सरकार मातहत संघीय सरकारले हस्तान्तरण गरेको हो ।


पूर्वाधार विकास कार्यालय प्रमुख सुशील श्रेष्ठले ठेक्का गरिएको दुवै सडक खण्ड श्रेष्ठ/रमन/एपेक्स जेभी काठमाडौंले ठेक्का लिएको बताए । १ अर्ब ६० करोड रुपैयाँ लागतमा ठेक्का आह्वान गरिएको थियो ।

प्रकाशित : भाद्र २५, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?