कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसमा आँखा उपचार केन्द्र

कम्प्युटर, मोबाइल र टेलिभिजनजस्ता विद्युतीय उपकरणको अधिक प्रयोगले बालबालिकामा ‘दूरदृष्टि दोष’
देवनारायण साह

मोरङ — विराटनगर आँखा अस्पतालले बालबालिकाको विद्यालयमै पुगेर आँखा जाँच गर्नका लागि ‘भिजन बस’ ल्याएको छ । बसभित्रै आँखा उपचार केन्द्र सञ्चालन गरी यस्तो सेवा दिइने भएको हो ।

बसमा आँखा उपचार केन्द्र

बातानुकुलित उक्त बसमा बालबालिकाको आँखा परीक्षण, औषधि, चश्मा बनाएर तत्काल दिने सुविधा रहेको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमका संयोजक सुधीर ठाकुरले बताए ।


विराटनगर ७ स्थित गायत्री संस्कृत माविका २ सय ४२ विद्यार्थीको आइतबार आँखा परीक्षण बसैबाट गरिएको छ । आँखा परीक्षणको शुभारम्भ विराटनगर महानगरका प्रमुख भीम पराजुलीले गरे । ‘बसमा दृष्टि परीक्षण उपकरण, स्लिट लेम्प, टोनोमिटर, फनडस जाँच तथा आँखाको आकार अनुसारको चश्मा तयार गर्ने उपकरण जडान गरिएको छ,’ ठाकुरले भने, ‘बसभित्रै आँखा उपचार केन्द्रमा हुने सबै सामग्री जडान गरिएकाले ग्रामीण क्षेत्रमा सेवा पुर्‍याउन सहज हुने भएको छ ।’


नेत्र ज्योति संघको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत विराटनगरमा सञ्चालित विराटनगर आँखा अस्पतालले सुनसरी जिल्ला र विराटनगर महानगरपालिकाका सबै विद्यालयका विद्यार्थीहरूको निःशुल्क आँखा जाँच अभियान सञ्चालन गर्दै आएको छ ।


चश्मा आवश्यक भएका विद्यार्थीलाई निःशुल्क चश्मासमेत प्रदान गर्दै आएको हो । उक्त अभियानअनतर्गत पहिलो चरणमा विराटनगर महानगर र सुनसरी जिल्लाका सबै विद्यालयमा अध्ययनरत ३ लाख विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्यसाथ अभियान सुरु गरेको ठाकुरको भनाइ छ ।


हालसम्ममा सुनसरी र विराटनगरका २ सय ५० विद्यालयका १ लाख १ हजार बालबालिकाको आँखा परीक्षण गरिएको उनले सुनाए । विद्यालयमा अध्ययनरत ६ प्रतिशत विद्यार्थीमा दूरदृष्टि दोष पाइएको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमका निर्देशक डा. संजय सिंहले बताए ।


सामुदायिकभन्दा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमा यो समस्या बढी छ । ‘आँखा परीक्षण गरिएका विद्यार्थीमध्ये ५ हजार ५ हजार ८७ बालबालिकामा दूरदृष्टि दोष रहेको पाइयो,’ उनले भने, ‘सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकामा ३ प्रतिशत र निजी विद्यालयमा अध्ययनरत ९ प्रतिशत बालबालिकामा दूरदृष्टि दोष पाइयो ।’


नजिक हेर्न सकिने तर टाढा नदेखिनु वा मधुरो देखिनुलाई दूरदृष्टि दोष भनिन्छ । दूरदृष्टि दोष भएका बालबालिकाले निःशुल्क चश्मासमेत प्रदान गरिरहेको छ । ‘विद्यार्थीहरूले नियमित चश्मा लगाउँदै गएपछि बिस्तारै टाढा देख्न सक्छ,’ निर्देशक सिंहले भने, ‘चश्मा नलगाएपछि आँखाको हेर्ने क्षमता हराउँदै गएर आँखा सुस्त भएपछि अन्धो हुनसक्ने जोखिम हुन्छ त्यसैले दूरदृष्टि दोष भएका बालबालिकालाई नियमित चश्मा लगाउन अभिभावकले प्रेरित गर्नुपर्छ ।’


दूर दृष्टि दोष भएका बालबालिकालाई प्रत्येक ६/६ महिनामा नियमित आँखाको जाँच गराउनुपर्ने उनले बताए ।

अस्पतालले उक्त कार्यक्रम अन्तर्गत चश्मा प्रदान गरेका विद्यार्थीले नियमित चश्मा लगाए नलगाएको अनुगमन समेत गर्दै आएको छ । कक्षाकोठामा विद्यार्थीले नियमित चश्मा लगाए पनि कक्षाकोठा बाहिर र घरमा नियमित चश्मा नलगाउने गरेको पाइएको निर्देशक सिंहले बताए । विद्यालयमा शिक्षकले र घरमा अभिभावकले बालबालिकालाई नियमित चश्मा लगाउन प्रेरित गर्न उनले आग्रह गरे ।


बाहिर शारीरिक खेलभन्दा घरभित्र मोबाइलमा र कम्प्युटरमा खेल्ने र टेलिभिजन बढी हेर्ने बालबालिकामा दूरदृष्टि दोष पाउने गरेको छ । ‘अहिले बालबालिकाहरू फुर्सदको समयमा मोबाइल, कम्प्युटर, टेलिभिजनजस्ता डिजिटल प्रविधिमा बढी व्यस्त रहने गरेका छन्,’ सिंहले भने, ‘यसले बालबालिकामा दृष्टि दोष निम्तियाइरहेको छ ।’


सामुदायिक विद्यालयहरू फराकिलो ठाउँमा हुने गरेको, प्रयाप्त खेल्ने ठाउँ रहेको तर निजी विद्यालय साँगुरो क्षेत्रमा रहँदा कक्षाकोठा बाहिर खेल्ने प्रयाप्त ठाउँ पनि नरहेकाले समस्या भएको सिंहको भनाइ छ । उनले ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रका बालबालिका बढी समस्या रहेको बताए । उनले मोबाइल, कम्प्युटर, टेलिभिजनलगायत कुनै पनि डिजिटल उपकरणतर्फ लामो समयसम्म एकोहोरिएर नहेर्न सुझाए । डिजिटल उपकरणतर्फ हेरिरहँदा छिनछिनमा आँखा झिम्कियाइरहने अन्यत्र पनि आँखा डुलाउन उनको आग्रह छ ।


अस्पतालले सुनसरी र मोरङको विराटनगर महानगरस्थित १ हजार बढी विद्यालयका बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने लक्ष्य रहेको जनायो । ५ करोड ५० लाख लागतको उक्त कार्यक्रममा अरबिसले ३ करोड र अस्पतालले २ करोड ५० लाख लगानी गर्ने पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमका संयोजक सुधीर ठाकुरले बताए ।


‘कार्यक्रमअन्तर्गत ३ लाख विद्यालयमा अध्ययनरत बालबालिकाको निःशुल्क आँखा उपचार गर्ने लक्ष्य रहेको छ,’ उनले भने, ‘बालबालिकाको आँखा जाँचपछि समस्या देखिए निःशुल्क औषधि, चश्मा वितरण र शल्यक्रिया गर्छौं ।’ यस कार्यक्रमअन्तर्गत ६ हजार चस्मा वितरण गर्ने लक्ष्य रहेको ठाकुरले बताए ।


विराटनगर आँखा अस्पतालले सन २०१८ मा ४ लाख १३ हजार ४ सय ८५ जनाको आँखा जाँच गरेको थियो भने ६८ हजार ५ सय ९८ जनाको आँखाको शल्यक्रिया गरेको अस्पतालका निर्देशक डा. सिंहले बताए ।

प्रकाशित : भाद्र १६, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?