कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यात्रु प्रतीक्षालयमा प्रहरी

(बिर्तामोड) — पूर्व–पश्चिम राजमार्ग बनिसकेको थिएन । टाढाबाट बटुवाहरू थाकेर आउँथे । उनीहरूको थकान मेट्ने चौतारो थिएन । २०४० मा तत्कालीन प्रधानपञ्च गोविन्द बस्नेतले यात्रुको सजिलोका लागि चौतारो बनाउने सोचे । इँटा व्यवसायी तथा अन्य व्यवसायीले सघाए । चारपाने, रामचोकमा सिमेन्टको भव्य चौतारो बन्यो ।

पछि राजमार्ग सुचारु भएपछि चौतारो प्रतीक्षालय बन्यो । यात्रामा टाढा–टाढा निस्किने स्थानीयका लागि यो सवारी प्रतीक्षा गर्ने भरपर्दो थलो थियो । तर, अब यो प्रतिक्षालय रहेन, बुधबारदेखि प्रहरी विट बन्यो ।


बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले रिवन काटेर प्रतिक्षालय प्रहरीको जिम्मा लगाए । अब बस पर्खने यात्रुले प्रतिक्षालय छिर्न पाउने छैनन् । ‘केही समय अघिदेखि बेस्याहार थियो,’ स्थानीय सञ्चारकर्मी विनोद पाण्डे भन्छन्, ‘चिटिक्क पारेर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।’


चारपाने–अर्जुनधारा विकास समाजको पहलमा अस्थायी प्रहरी विट राखियो । पछिल्लो समय प्रतीक्षालय लागू पदार्थ दुर्व्यसनीको अखडा बन्दै गएको अध्यक्ष हरिप्रसाद भण्डारीले बताए । भने, ‘समाजलाई आवश्यक परेर प्रतीक्षालयमा प्रहरी राख्नु परेको हो ।’


यही संस्थाको पहलमा प्रतीक्षालयको रंगरोगन, फलामे ग्रिलका साथै प्रहरी कार्यालयलाई आवश्यक पर्ने कुर्सी, टेबल, पन्खा, टेलिफोनलगायतका भौतिक सामान समेत उपलब्ध गराइएको छ । ‘प्रतीक्षालयमा हुने विभिन्न गतिविधिका कारण समाज सुरक्षित थिएन,’ भण्डारीले थपे, ‘प्रहरीलाई जिम्मा लगाएपछि ढुक्क भएको छ ।’


इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाले स्थानीयबासीको मागबमोजिम अस्थायी प्रहरी विट राखिएको बताए । उनका अनुसार स्थानीयबासीले प्रतीक्षालय चिटिक्क पारेर प्रहरीलाई बस्न अनुरोध गरेका हुन् । डीएसपी थापाका अनुसार अहिले एक ट्राफिकसहित दुई प्रहरी खटाइएको छ । निकट भविष्यमा प्रहरी संख्या समेत थप गरिनेछ । उनले भने, ‘अहिले अस्थायी रूपमा मात्रै चौकी खडा गरेका हौं ।’

प्रकाशित : भाद्र १४, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?