कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० किमि सडक छिचोल्न ६ घण्टा

तेह्रथुम — तेह्रथुमको टुटेदेउरालीबाट संखुवासभाको मुडेशनिश्चरे जोड्ने १० किमि सडक ठेकेदारको लापरबाहीका कारण यात्रुले कष्ट व्यहोर्नु परेको छ । नेपाली भूभाग भएर भारत र चीन जोड्ने यो सडक निर्माण र स्तरोन्नतीमा ठेकेदारले लापरबाहीपूर्ण तरकारीले काम गर्दा यात्रुले दुःख पाएका हुन् । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले निर्माण गरिरहेको जोगबनी–किमाथाङ्का राजमार्गको टुटेदेउरालीदेखि मुडेशनिश्चरे बजारसम्मको १० किमि सडक पार गर्न सवारी साधनलाई ६ घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय छिरिङ शेर्पाले बताए ।


१० किमि यो सडक कालोपत्रे गर्न ०७३ भदौमा याक्थुम्हाङ निर्माण सेवा पाँचथरले जिम्मा लिएको सडक डिभिजन कार्यालय तुम्लिङाटार संखुवासभाका प्रमुख कुबेर नेपालीले बताए । २६ करोड रुपैयाँ लागतमा ०७५ भदौ मसान्त सम्ममा सम्पूर्ण काम सक्ने गरी याक्थुम्हाङ निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो ।


निर्धारित समयमा काम सम्पन्न नगरेपछि ०७५ चैत मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले दोस्रो पटक म्याद थप गरेको सडक डिभिजन कार्यालय संखुवासभाले जनाएको छ ।


दोस्रो पटक थपिएको समयमा पनि काम सम्पन्न नगरेपछि सो निर्माण सेवालाई गत साउनमा १४ लाख ५० रुपैयाँ हजार जरिवाना तिराएको सडक डिभिजन प्रमुख नेपालीले बताए ।


संखुवासभाको धर्मदेवी नगरपालिका क्षेत्रमा पर्ने यो सडकमा हिलो र खाल्डो परेर ट्याक्टर समेत गुढ्न नसक्ने अवस्था भएको मुडेशनिश्चरे बजारका व्यापारी दिलबहादुर श्रेष्ठले बताए । सडक हिलो र खाल्डो परेका कारण १० किमि सडक पार गर्न ६ घण्टाभन्दा बढी समय लाग्ने गरेको उनले पीडा सुनाए । हिलाम्मे सडकमा भासिएका सवारी निकाल्न नसक्दा आहोर दोहोरमै समस्या भएको उनले बताए ।


सदरमुकाम खाँदबारी, चैनपुर लगायतका क्षेत्र बाट पूर्वी तराई र काठमाडौं तर्फ आउने र त्यसतर्फ हिंडेका सवारी समेत घण्टौंसम्म हिलोमा भासिएर रोकीने गरेका छन् ।

प्रकाशित : भाद्र १२, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?