वर्ष नबित्दै एकै परिवारका ९ जनाको निधन

रमेशचन्द्र अधिकारी

धनकुटा — कुनै दैवी विपत्ति वा दुर्घटनाबिना छोटो अवधिमा एकै परिवारका धेरैको निधन हुनुलाई अनौठो संयोग मान्न सकिन्छ । यहाँका एकै परिवारले वर्ष दिन नबित्दै परिवारका नौ सदस्य गुमाउनुपरेको छ ।


चौबीसे गाउँपालिकाका बराल परिवारले एक वर्ष नपुग्दै नौ जना आफन्त गुमाएका छन् । एकपछि अर्को गर्दै परिवारका सदस्यको निधन भएपछि उक्त परिवारलाई न त कुनै चाडपर्वले छोएको छ, न कुनै खुसियालीको अवसरमा रमाउन पाएको छ ।

स्थानीय रेवतीप्रसाद, चिरञ्जीवी र लीलानाथ सहोदर दाजुभाइ हुन् । ७० वर्षका साइँला रेवतीको निधन भएको ६ महिना नपुग्दै ७४ का माहिला चिरञ्जीवी र दुई महिनापहिले ६४ वर्षका अन्तरे लीलानाथको निधन भयो । सबैको एकै प्रकारको स्वास्थ्य समस्या रहेको परिवारजनले जनाएको छ । अधिकांश श्वासप्रश्वासबाट ग्रसित रहेको परिवारका सदस्य घनश्याम बरालले बताए ।
दुई महिनाअघि ५९ वर्षकी बुहारी यमुनादेवी र ६० वर्षीया गायत्राको पनि कालगतिले निधन भयो । गत साउन महिनामा मात्र बालकदेखि ज्येष्ठ सदस्यसमेतले ज्यान गुमाएका छन् ।

उक्त महिना सोही परिवारका ३ जनाको लगातार निधन भयो । निधन हुनेमा १३ वर्षका सुदीप, ८२ का खेमप्रसाद र ७० की
सेतीकुमारी छन् । सुदीपको ब्लड क्यान्सरले ज्यान गएको छ भने अन्यको श्वासप्रश्वासको समस्याले निधन भएको जनाइएको छ । तीन महिनाअघि ज्वाइँ नारायणप्रसाद पोख्रेलको पनि निधन भएपछि परिवारले शोकैशोकमा दिन बिताउनुपरेको घनश्याम बताउँछन् । ‘हामी त यो शृंखलाले मर्माहत भएका छौं,’ उनले भने, ‘कहिल्यै यस्तो नियति भोग्नुपरेको थिएन ।’ पत्नी गुमाएका ६५ वर्षीय खड्गप्रसाद पनि यो उमेर आइपुग्दासम्म यस्तो सामना कहिल्यै गर्नु नपरेको बताउँछन् ।

कल्पनाभन्दा बाहिरको घटनाले दिनरात पिरोलिरहेको उनको भनाइ छ । निधन हुने सबै एकै दाजुभाइका सन्तान तथा कुटुम्ब भएको खड्गप्रसादले बताए ।

ठूलो भूकम्प र कैयौं लामो सवारी यात्रामा पनि उक्त परिवारले यसरी सदस्य गुमाएका थिएनन् । तर कालगतिले एकपछि अर्को सदस्य गर्दै नौ जना गुमाउनुपर्दा अधिकांश परिवार चिन्तित रहेको धनेश बरालले बताए ।

उनले चार दाजुभाइमध्ये दुई दाजु र एक भाइलाई यसै वर्ष गुमाएका छन् । ‘हामी चार जनामध्ये वर्ष दिन नबित्दै तीन जनालाई गुमाउन पुगेका छौं,’ उनले भने, ‘जस्तो अवस्थामा पनि धैर्यगर्नैपर्ने रहेछ ।’ यो परिवारको पुर्ख्यौली थलो कुरुलेतेनुपा भए पनि हाल मोरङ, झापा, धनकुटामा बसोबास गर्दै आएकोठाकुर बरालले जानकारी दिए । उनले भने, ‘वर्ष नबित्दै नौ जना गुमाउँदा अत्यास नै लागिसकेको छ ।’

प्रकाशित : भाद्र ९, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्

हिल्सामा चिनियाँ मोबाइलको भर

छपाल लामा

सिमकोट — चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सामा बसोबास गर्ने स्थानीयका लागि चिनियाँ मोबाइलको विकल्प छैन । त्यही मोबाइलमा महँगो शुल्क र रिचार्ज गर्न समस्या हुँदा निकै सास्ती खेप्नुपरेको स्थानीय बताउँछन् ।


हिल्सामा व्यापार–व्यवसाय र अन्य कामका लागि करिब २ सय नेपाली बसोबास गर्छन् । चिनियाँ मोबाइलका सिम भने करिब सयवटा प्रयोगमा रहेका छन् । हिल्सामा प्रयोग हुने सिम दुईखाले ५० युआन (८ सय ५० रुपैयाँ) र सय युआन (एक हजार ७ सय रुपैयाँ) मूल्य पर्ने छन् ।

नाम्खा गाउँपालिका १ घर भई हिल्सामा व्यवसाय गर्ने नरबहादुर लामाले सिम किन्नुभन्दा रिचार्ज गर्नु जटिल हुने गरेको बताए । उनका अनुसार चिनियाँ मोबाइल कम्पनीका रिजार्ज कार्ड नेपालमा जस्तो सहजै पाइँदैन । कम्पनीको कार्यालयमै गएर रिचार्ज गर्नुपर्दा निकै समस्या झेल्नुपरेको उनले बताए ।

पाँच महिनादेखि हिल्सामा होटल व्यवसाय गर्दै आएका इन्द्र लामाले आफ्नो देशमा बसेर अर्काको देशको मोबाइल प्रयोग गर्नुपर्दा निकै दुःख लाग्ने गरेको बताए । उनका अनुसार चिनियाँ सिमबाट नेपाली सिममा सम्पर्क गर्दा महँगो पर्ने गरेको छ । नेपाली सिममा फोन गर्दा प्रतिमिनेट १५ रुपैयाँसम्म पर्छ ।

नेपालबाट १४२४ डायल गरेर फोन गर्दा भने प्रतिमिनेट ३ रुपैयाँ शुल्क लाग्ने गरेको छ । त्यसैले गर्दा हिल्सामा बस्ने नेपालीले नेपालमा फोन गर्नुपरे ‘मिसकल’ गर्ने गर्दछन् । ‘नेपाल टेलिकमको सेवा नभएपछि महँगो नै भए पनि चिनियाँ सिम प्रयोग गर्न बाध्य छौं,’ लामाले भने, ‘व्यापार–व्यवसाय र अन्य कामका लागि हिल्सा आएकालाई महँगो नै भए पनि चिनियाँ सिम बोक्नुको विकल्प छैन ।’ आफूले पनि घरपरिवारसँग यही सिमबाट सम्पर्क गर्ने गरेको उनले बताए ।

हिल्सामा रहेको नेपाल प्रहरीलाई नेपाल टेलिकमको सेवा नहुँदा झन् सास्ती खेप्नुपरेको छ ।कहिलेकाहीँ सञ्चार सेटले काम नगर्दा अफिसियल सम्पर्क नै विच्छेद हुने गरेको हिल्सास्थित सीमा प्रहरी पोस्टका असई दलबहादुर श्रेष्ठले बताए । स्थानीयलाई चिनियाँ सिमको भर पर्नुपर्नाको प्रमुख कारण नेपाल टेलिकमले आफ्नोसेवा विस्तार नगर्नु हो ।

टेलिकमले नारा लेकमा मोबाइल टावर स्थापना गर्ने योजना बनाए पनि अहिलेसम्म टावर बनिसकेको छैन । प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले काठमाडौंबाट आएको टेलिकमको प्राविधिक टोलीलाई छिटो काम गर्न निर्देशन दिएको बताइन् । नेपालीले नेपालमै चिनियाँ मोबाइल सेवाको भर पर्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारले ठोस पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्