कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राधाकृष्ण रथयात्रा आज : ५ लाखभन्दा बढी सहभागी हुने

मोरङ — विराटनगरमा शनिबार धुमधामसाथ राधाकृष्ण रथयात्रा निकालिने भएको छ । यसमा ५ लाखभन्दा बढी श्रद्धालु भक्तजन सहभागी हुने आयोजकले अनुमान गरेका छन् ।

रथयात्रामा सहभागी हुनका लागि नेपालका विभिन्न जिल्ला र भारतको बिहारबाट समेत भक्तजन आउने गरेका छन् । ५२ औं राधाकृष्ण रथयात्रा महोत्सवको शुभारम्भ प्रदेश १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङ, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डित र मुख्यमन्त्री शेरधन राईले ३ः३० वजे गर्ने शुभ मुहुर्त रहेको आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले बताए ।


रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुनः मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी ४ घण्टा ३० मिनेटमा तय गरी आइपुग्ने उनले बताए । ‘भक्तजनका लागि रथयात्राको दर्शन र पूजा गर्न ४० ठाउँमा विश्राम दिने व्यवस्था छ,’ उनले भने ।


सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ बनाइएको छ । रथको अग्रभागको दायाँ र बायाँ गरी दुवैपट्टि ७५ फिट लामो रथ तान्ने लठ्ठा निर्माण गरिएको अध्यक्ष ओझाले बताए । रथको दायाँ लठ्ठा पुरुष र बायाँ महिला भक्तजनले तान्ने परम्परा छ ।


रथयात्रामा यसपालि हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाइने छ । रथको मध्यभागमा राधाकृष्णको प्रतिमा राखेर ९ जना पण्डितको समूह र प्राविधिक टोली रहने ओझाले बताए । रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, सम्प्रदाय, धर्म संस्कृति झल्कने झाँकी, भजन मण्डली र प्रदेश १ प्रहरीको सांगीतिक ब्यान्ड रहनेछ । रथयात्रा मार्गमा विभिन्न लोक नृत्य समेत प्रदर्शन गरिनेछ । यात्रा व्यवस्थित बनाउन १८ उपसमिति बनाइएको छ ।


रथयात्रा महोत्सवको अवसरमा १ लाख १ हजार राशिको पोखरमल धर्मसंस्कृति पुरस्कार विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत प्रपन्नाचार्यलाई प्रदान गर्ने ओझाले बताए । उक्त पुरस्कार रथयात्राको अवसरमा १३ वर्षदेखि निरन्तर स्थानीय उद्योगी राठी परिवारले प्रदान गर्दै आएको छ ।


१९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ सालदेखि रथयात्राको निर्माण गरी कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा छ । मन्दिर निर्माणका लागि सज्जन पौडेल, सोमराज मुखिया पौडेल र कृष्णप्रसाद पौडेलले प्रदान गरेको जग्गामा १९८८ सालमा पण्डित इन्द्रलाल भट्टले मन्दिर स्थापना गरी खट यात्रा सुरु गरेका थिए ।


रथयात्रामा सुरक्षा निगरानी कडा सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । अधिकारीका अनुसार रथयात्रा सुरक्षाका लागि १५ प्रहरी र सादा पोसाकमा २ सय परिचालन गर्ने योजना सार्वजनिक गरेको छ । उनले रथयात्रा अवधिभर कुनै किसिमको अवाञ्छित गतिविधि हुन नदिनका लागि ड्रोन क्यामेराले समेत निगरानी गरिने बताए ।

प्रकाशित : भाद्र ७, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?