कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उच्च शिक्षाका लागि घन्टौं पैदल

मोरङ — मोरङका केही स्थानमा माध्यमिक र उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले डेढ घण्टाभन्दा बढीको बाटो धाउनुपर्ने बाध्यता छ ।

विराटनगरदेखि करिब ९० किलोमिटर पूर्वात्तरको मिक्लाजुङ–६ खोकरबारी, कालीजोर र लालमाटी बस्तीका एसईई उत्तीर्ण किशोरकिशोरी उच्च शिक्षाका लागि एकतर्फी डेढ घण्टाभन्दा बढी हिँडेर क्याम्पस धाउन बाध्य छन् ।


पहाडी भूबनोट भएको यो गाउँपालिकामा एकमात्र उच्च माध्यमिक विद्यालय छ । वडा ३ धोवेनी बजारस्थित कालिका उच्च माध्यमिक विद्यालयमा पुग्न खोकरबारी, कालीजोर र लालमाटीका किशोरकिशोरीलाई ठयाक्कै डेढ घण्टा लाग्छ । आधाभन्दा बढी बाटो जंगल क्षेत्रमा पर्छ । ‘दैनिक तीन घण्टाभन्दा बढी हिँड्नुपर्छ,’ दुई वर्षसम्म दैनिक तीन घण्टा हिँडेर कक्षा ११ र १२ को पढाइ सकेका खोकरबारीका उदय सापकोटाले भने, ‘त्यहाँ नपढ्ने हो भने उर्लाबारी, दमक र विराटनगर झरेर डेरा बसेर पढ्नुको विकल्प छैन ।’


खोकरबारीका हरि घिमिरे, सुनिता थापा, पवन तामाङ, लालमाटीका मन्जिल तामाङ कालीजोरकी निशा गौतमसहित तीन बस्तीका २५ जना किशोरकिशोरी दैनिक एकतर्फी डेढ घण्टाभन्दा बढी समय पैदल हिँडेर कालिका उच्च माविमा कक्षा ११ र १२ अध्ययन गर्दै छन् ।


माध्यमिक तहसम्म अध्ययन गर्न पनि खोकरबारी, लालमाटी र कालीजोरका बालबालिकालाई कम्तीमा एक घण्टासम्म हिँड्नुपर्ने बाध्यता छ । वडा ४ को छत्रपुरमा सरस्वती माध्यमिक विद्यालय छ । त्यो विद्यालय पुग्न बालबालिकालाई कम्तीमा एक घण्टा समय लाग्छ । विकल्प नभएपछि लामो बाटो हिँडेर विद्यालय आउने गरेको कालिका उच्च माविका प्राचार्य मातृकाप्रसाद न्यौपानेको बताए ।


यो उच्च माविमा शिक्षा र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को पढाइ हुन्छ ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?