कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा संगठन र स्कुल विभागमा विवाद

आनन्द गौतम

ताप्लेजुङ — संगठन र स्कुल विभागमा विवाद देखिएपछि नेकपाको दोस्रो सचिवालय बैठकले पनि जिल्लाको संगठनात्मक संरचनालाइ पूर्णता दिन सकेन । साउन २४ र २५ गते बसेको बैठकले थप गृहकार्य गर्ने भन्दै विभाग गठनलाई थाँती राखेको हो । ६१ मध्ये ५६ वटा वडा कमिटीलाई भने अनुमोदन गरेको छ ।

महत्त्वपूर्ण मानिएका संगठन र स्कुल दुवै विभागमा पूर्व एमालेले दाबी गरको छ । पूर्व माओवादीले भने एक/एकवटा विभाजन गर्न प्रस्ताव गरेको छ । ‘हामीले व्यक्ति छानौं र जिम्मेवारी दिएर जाऔं भन्यौं,’ पूर्व एमालेका एक नेताले भने, ‘उहाँहरू (पूर्व माखोवादी) ले एउटा/एउटा बाँडौं भन्नुभयो त्यसमा कुरा नमिलेपछि थप गृहकार्य गर्ने भनेका छौं ।’


एमाले नेताहरू आफूहरूभन्दा सिनियर भए छोड्ने अन्यथा दुवै विभाग नछोड्ने मनस्थितिमा देखिएका छन् । नेकपा अध्यक्ष विजयप्रकाश वनेम भने केश फुलाएर मात्रै राजनीति नहुने तर्क गर्छन् । ‘राजनीतिको त्याग, तपस्या योगदान हरेक विषयको मूल्यांकन हुन्छ,’ उनले भने, ‘तर तेस्तो कुनै विवाद छैन गृहकार्य नपुगेकाले स्थागित भएको हो ।’


पूर्व एमालेले एक नम्बर निर्वाचन क्षेत्रको क्षेत्रीय संयोजक पनि नछोड्ने भएको छ । माओवादीले भने नरेश न्यौपानेलाई त्यो जिम्मेवारी दिने आश्वासन दिएको छ । नरेश र सुरज ओझाले दाबी गरेपछि सुरजलाई कार्यालय टिममा लगेको माओवादीले निर्वाचन क्षेत्रको जिम्मेवारी नरेशलाई दिन खोजेको हो ।


एमालेका ४ र माओवादीका ३ गरी नेकपाले ७ सदस्यीय कार्यालय टिम गठन गरेको छ । माओवादीवाट अध्यक्ष विजय प्रकाश वनेम, विष्णुकुमार हाङबाङ र सुरज ओझा रहेका छन । एमालेबाट बलबहादुर साम्सोहाङ, गोपाल थोप्रा, मात्रिकाप्रसाद भट्टराई र सन्तोष खतिवडा छन् । यसले पार्टीका कामलाई व्यवस्थित गर्ने उल्लेख छ ।


फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिकाका ५ वटा वडामाभने कमिटी गठन गर्न बाँकी रहेको छ । फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला बाहेकका वडामा वडा इञ्चार्ज तोकिएको अध्यक्ष वनेमले बताए । सह–इञ्चार्ज तोक्ने जिम्मेवारी भने गाउँपालिकालाई दिइएको छ । कमिटीका वरिष्ठ सदस्यमध्येवाट तोक्न भनिएको छ ।


भ्रष्टाचार बढेको ठहर

सरकारी तथा सार्वजनिक निकायमा सेवाग्राहीसँग घूस तथा कमिसन माग्ने, ढिलासुस्ती गर्ने जस्ता क्रयाकलाप बढेको निष्कर्ष नेकपा सचिवालय बैठकले गरेको छ ।


सचिवालयको बैठकले त्यस्ता कार्यलाई तत्काल नियन्त्रण गर्न सम्वन्धित निकायसँग माग पनि गरेको छ । कहाँ कसले कस्ता सेवाग्राहीसँग घूस मागे भन्ने विषय चाहिँ खुलाइएको छैन । यस विषयमा पार्टीका तर्फबाट सुक्ष्म अध्ययन भइरहेको र सार्वजनिक गर्ने अध्यक्ष विजय वनेमले बताए ।

प्रकाशित : श्रावण २८, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?