बिरामीको चाप थेग्नै मुस्किल

कान्तिपुर संवाददाता

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको संख्या अत्यधिक भएको छ । यसले गर्दा प्रतिष्ठानलाई बिरामीको चाप थेग्न मुस्किल हुन थालेको छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । तस्बिर : कान्तिपुर

प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐयरका अनुसार दैनिक ३ हजारदेखि ३ हजार ५ सय जना उपचारका लागि आउने गरेका छन् । अन्य जिल्लाबाट रिफर भएर आएका बिरामीले सहज उपचार समेत पाउन सकेका छैनन् ।

डा. ऐयरले भने, ‘सामान्य प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरे निको हुने बिरामीदेखि जटिल रोग भएका बिरामी एउटै काउन्टरमा भेला भएपछि भिड भएको हो । टर्सरी सेन्टरका रूपमा विकास भए पनि तत्काल ल्याब रिपोर्ट दिने, ओपीडीमा सहजै चिकित्सक भेट्ने र आफ्नो रोगबारे जानकारी लिने इच्छा सबैको भए पनि त्यो व्यवस्था गर्न सकिएको छैन ।हामी प्रयास गरिरहेका छौं ।’

आईसीयू, इमर्जेन्सी, शल्यक्रिया, प्रसूति र मेडिसिन कक्षहरू विस्तार गर्ने भनिए पनि बेलाबेलामा आइरहने एकपछि अर्को लफडाले बिरामीका लागि प्रतिष्ठान साँघुरिएको डा. ऐयरले बताए । शल्यक्रिया विभागका एक चिकित्सकले आफ्नो नाम नबताउने सर्तमा भने, ‘शल्यक्रिया कक्षकै अभाव भएको छ । अढाइदशक अघि १५ जना शल्यक्रिया गर्ने अवधारण अनुसार डिजाइन गरेको शल्यक्रिया कक्षमा अहिले पालो–पालो शल्यक्रिया गर्नुपर्छ । २४ घण्टामा ९० भन्दा बढी शल्यक्रिया गर्नुपरेको छ । न्युरो र बालरोगको शल्यक्रियाको कक्ष एउटै भएकाले पालो गर्नु परेको हो ।’

उनका अनुसार प्रतिष्ठानमा हाडजोर्नी, इएनटी, आँखा, न्युरोलोजी, कार्डियो थोरासिक, पेडियाट्रिकका सुपर स्पेसियालिटी सर्जरी पनि थपिएका छन् । तर, शल्यक्रिया कक्षको अभावले बिरामीलाई कुनै सर्जनले दिएको प्लान र समय तालिका अनुसार काम गर्न खोज्दा अर्को टिमले त्यो कक्षमा काम गरिरहेको हुन्छ । ती चिकित्सकले भने, ‘कक्ष अभावले कतिपय अवस्थामा ६ महिनापछि गर्ने गरी समयसार्नु पर्ने अवस्था छ ।’

प्रसूतिको अवस्था झन् बेहाल छ । एउटै शय्यामा ४ जना गर्भवतीलाई राख्नुपर्ने अवस्था छ । प्रसूति विभागका चिकित्सक डा. सूर्य रिमालले भने, ‘शय्या थोरै छ । पूर्वका अधिकांश जिल्लाबाट गर्भवती आउँछन् । कहाँ राख्ने, केमा राख्ने ? बन्दै गरेको मातृ तथा शिशु उपचार केन्द्रको भवन भूत बंगला भयो ।’

दक्ष चिकित्सक र जनशक्ति हुँदा हुँदै पनि प्रसूति विभागमा शय्या पाउनै मुस्किल भएको गुनासो बिरामीहरूले गर्दै आएका छन् । प्रतिष्ठानसँग मुटुसम्बन्धी दक्ष चिकित्सक हुँदा हुँदै पनि शल्यक्रियाका लागि थप कक्ष अभावले पालो पर्खिनु पर्ने अवस्था छ । डाइलाइसिसको त पालो पाउनै गाह्रो हुने गरेको छ ।

एमआरआई उपकरण पुरानो भएकाले अधिकांश बिरामीलाई प्रतिष्ठानले अन्यत्र पठाउने गरेको छ ।निमित्त उपकुलपति प्राडा गुरुप्रसाद खनालले आफू भर्खरै प्रतिष्ठान दैनिक सञ्चालनको अधिकार लिएर आएकाले बिरामीको चाप व्यवस्थापन गर्नु नै पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ‘सबै काम एकै पटक गर्न सकिन्न । विस्तारै सुधार्दै जाने छौं ।’

प्रकाशित : श्रावण २८, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

सामुदायिक स्कुलमा प्रमाणपत्रको २ हजार

सन्तोष सिंह

धनुषा — जनकपुरस्थित सकल भवन कन्या माविका विद्यार्थी आँचल साहलाई प्रमाणपत्रका लागि विद्यालयले २ हजार रुपैयाँको बिल थमायो । उनका अभिभावकले जनकपुरधाम उपमहानगरपालिकामा प्रमाणपत्रको पैसा असुलेको गुनासो गरे ।


‘हामी रिक्सा चलाएर परिवार पालिरहेका छौं । पैसा लाग्दैन भनेर छोरीलाई सरकारी विद्यालयमा पठायौं,’ आँचलका अभिभावकले भने, ‘बेलाबेलामा परीक्षा शुल्क तिर्नुपर्छ । प्रमाणपत्र लिन २ हजार तिर्नुपर्छ । छोराछोरीलाई कसरी पढाउने ?’

अभिभावकको गुनासो उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव मिहिलाल यादवले विद्यालयले विद्यार्थीबाट २ हजार रुपैयाँसम्म असुलेर शोषण गरेको बताए । ‘प्रमाणपत्रका लागि २ सय ५० रुपैयाँ दस्तुर तोकिएको छ,’ यादवले भने, ‘विद्यालयले तोकिएको भन्दा बढी शुल्क लिन पाइँदैन ।’ विद्यार्थीले तिरेको बढी शुल्क फिर्ता हुने उपसचिव यादवले बताए ।

तर, विद्यालयको कुनै आय स्रोत नभएकाले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिनु परेको सकल भवन कन्या माविका प्रधानध्यापक मोदनारायण राउतले बताए । ‘शिक्षा कार्यालयबाट रकम तिरेर ल्याएको प्रमाणपत्र नबुझाउँदा विद्यालयलाई आर्थिक भार पर्छ,’ प्रअ राउतले भने, ‘आर्थिक भार मिलाउनका लागि विद्यार्थीबाट थप शुल्क संकलन गर्नु परेको छ ।’

एसईई उत्तीर्ण विद्यार्थीबाट धनुषाका अधिकांश सामुदायिक विद्यालयले प्रमाणपत्र बापत २ हजार रुपैयाँसम्म असुलेको पाइएको छ । प्रमाणपत्रको दस्तुरबापत मात्र २ सय ५० रुपैयाँ लिने व्यवस्था छ । तर विद्यालयले बिल काटेरै विद्यार्थीबाट मनोमानी शुःल्क असुलिरहेको छ । विद्यालय व्यवस्थापन समितिबाटै निर्णय गरी विद्यालयले विद्यार्थीबाट चर्को शुल्क असुल्ने गरेको पाइएको हो ।

ग्रामीण क्षेत्रका विद्यालय प्रमाणपत्रबापत विद्यार्थीबाट १५ सय रुपैयाँ शुल्क लिएको पाइएको छ । विद्यालयले मनोमानी शुल्क असुली गरेको कुनै गुनासो नै नआएको शिक्षा विकास तथा समन्वय इकाई धनुषाले जनाएको छ ।

गुनासो आएपछि विद्यालयले असुलेको बढी रकम तत्काल फिर्ता गर्न लगाउने इकाई प्रमुख बरखु प्रसाद रजकले बताए । संकटमोचन मावि जनकपुरका प्रधानाध्यापक बलराम साहका अनुसार विद्यालयको आय स्रोत केही नहुँदा विद्यार्थीबाट शुल्क लिनुपरेको छ ।

प्रकाशित : श्रावण २८, २०७६ १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्