जेठ १५ भित्र बजेट सक्न मुख्यमन्त्रीको निर्देशन

मन्त्रालयको वार्षिक प्रगति प्रति असन्तुष्ट
विनोद भण्डारीे

विराटनगर — प्रदेश १ का मूख्यमन्त्री शेरधन राईले चालु आर्थिक वर्षको बजेट आगामी जेठ १५ भित्रमा सिध्याउन मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।


प्रदेश कृषि निर्देशनालयले आइतबार आयोजना गरेको वार्षिक प्रगति समिक्षा बैठकमा राईले जेठ १५ भित्रमा बजेट खर्च गरिनसके आर्थिक वर्षको बाँकी समयमा खर्च गर्न नपाउने सरकारको बटम लाइन रहेको बताए।

‘गतवर्ष केही बाध्यात्मक समस्याका कारण असार मसान्त सम्ममा खर्च गर्न पाउने प्रावधान थियो,’ राईले भने, ‘चालु आर्थिक वर्षदेखि त्यस्ता बाध्यात्मक समस्या र अड्चन देखाएर असार मसान्तसम्म बजेट खर्च गर्न पाइने छैन।’

प्रदेश सरकारले कार्यविधि ढिलो बनाउँदा गतवर्ष वैशाख वा जेठमा आयोजना गरिनु पर्ने मुख्यमन्त्री कप प्रदेश स्तरीय लिग फुटबल प्रतियोगिता बजेट सिध्याउनैका लागि असार १६ देखि ३१ सम्म सञ्चालन गरेर विवादमा परेको थियो। प्रतियोगिताका आयोजकलाई प्रदेश संसदको सार्वजनिक लेखा समितिले छानबिनका लागि सोधपुछ समेत गरेको छ।
आफैले सम्हालेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको वार्षिक प्रगति नतिजा प्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री राईले मन्त्रालयको समर्थन बजेटलाई आधार मान्दा पनि वार्षिक प्रगतिमा सन्तुष्ट रहने अवस्था नरहेको बताए।

यसअघि मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले गत आर्थिक वर्ष आवश्यक जनशक्तिको अभावमा मन्त्रालयलाई विनियोजन गरिएको बजेटको ६० प्रतिशतमात्र खर्च भएको प्रतिवेदन सार्वजनिक गरेका थिए। उनले गत आवमा मन्त्रालयलाई २ अर्ब ४८ करोड समर्थन बजेट विनियोजन भएकोमा आवश्यक जनशक्तिको अभावमा १ अर्ब ४८ करोड मात्र खर्च भएर बाँकी एक अर्ब फिर्ता गएको बताएका थिए। उनका अनुसार चालु वर्ष कृषि मन्त्रालयलाई ४ अर्ब ७ करोड बजेट विनियोजन भएको छ।

गतवर्षको प्रतिकुलता र असहजताका वावदुज मन्त्रालयको प्रगतिमा सन्तोष मान्नुपर्ने बाध्यता रहेको औल्याउदै राईले चालु आर्थिक वर्ष त्यस्तो प्रतिकुलता र असहजता नहुने बताए। उनले अब प्रदेश सरकारका काम र गतिविधिको परीक्षा सुरु हुने बताए।

प्रदेश सरकारले गत आर्थिक वर्ष कृषि अनुदानका नाममा प्रशासनिक खर्चसहित १ अर्ब ४१ करोड रुपैया खर्च गरेको थियो।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले गतवर्ष कृषि मन्त्रालयलाई खर्च गर्न सक्ने शीर्षकमा बजेट रकमान्तर गरेको उल्लेख गर्दै चालु वर्ष त्यसरी बजेट रकमान्तर गर्न नमिल्ने बताए। ‘अब वित्तिय अनुशासनले पनि त्यसो गर्न दिदैन,’ मन्त्री आङबोले भने, ‘बजेटको समस्या होइन, खर्च गर्न सक्ने क्षमता र परिणाममा निर्भर हुन्छ।’

उनले प्रदेश निजामति कर्मचारी ऐन तयारी अवस्थामा रहेको दाबी गर्दै संघीय कर्मचारी ऐन सार्वजनिक भएपछि प्रदेशले पनि निजामति कर्मचारी ऐन संसदमा पेश गर्ने जानकारी गराए।

प्रकाशित : श्रावण १९, २०७६ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्

एनआरएन कतारमा त्रिपक्षीय प्रतिस्पर्धा

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतारको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जसमा कपिलवस्तुका मोहम्मद मुक्तदा मुसलमान, सुनसरीका तेज कटुवाल र नुवाकोटका रामचन्द्र माझीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु एकदशक बढी देखि कतारमा कार्यरत छन् । 

एनआरएनको आगमी कार्यकालका लागि उनीहरुले उम्मेदवार दर्ता गरेका हुन्। अगस्ट २३ तारिखमा एनआरएन कतारका लागि मतदान हुनेछ। ४२ सय ९८ जनाले मतदान गर्न पाउनेछन्।

कतारबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रतिनिधिका लागि ७ जनाबीच प्रतिस्पर्धा हुँदैछ। जसमा होमनाथ शर्मा, कृष्णबहादुर हमाल (केवी), रमेश भट्ट, बुधवल गुरुङ, युवराज शर्मा, धनबहादुर बलायर र मोहम्मद शाकिर अलीले उम्मेदवारी दर्ता गरेका हुन। उनीहरु मध्ये चार जना निर्वाचित हुनेछन्।

एनसीसीको प्रथम उपाध्यक्षमा उत्तम गुरुङ र नारायण भण्डारी (समाजसेवी), द्वितीय उपाध्यक्षमा शिवबहादुर खड्का, टंककुमार खड्का (कुमार खड्का) र ईश्वर काफ्लेबीच प्रतिस्पर्धा हुँदैछ। महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेल र सरिता गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।

महासचिवमा पदम गिरी र लोकमाया क्षेत्री, सचिवमा डिल्लीराम भट्टराई, अफसर अली खान, प्रेमबहादुर चलाउने र नेत्रकुमार भुजेल (नियम भुजेल)बीच प्रतिस्पर्धा हुँदैछ।

कोषाध्यक्षमा रामप्रसाद गौतम र विनोदप्रसाद वसौला, सहकोषाध्यक्षमा मोहमद तनबीर रोजा र बुद्धबहादुर पाण्डे, युवा संयोजकमा श्यामकुमार डाँगी र रविन मगर, महिला संयोजकमा अम्बिका खत्री र नानु घले ब्लोन बीच प्रतिस्पर्धा हुँदैछ।

सदस्यहरुमा नरेश श्रेष्ठ, ओमबहादुर क्षत्री (सन्तोष), ज्वाला शाही, शेख अमावुल्लाह, मो. अकिल अहमद, शेख अब्दुल राजिक, घनश्याम जैशी, सेवक विक, मनप्रसाद मगर, बालकृष्ण न्यौपाने, डेगबहादुर भारती (सुमन भारती), मो. इन्दाज आलम, सुनिलकुमार घिमिरे, झविन्द्र आचार्य, सविन्द्र श्रेष्ठ, सजय रजक, भवानीप्रसाद कोइराला, गोपाल खतिवडा, केशवराज कार्की, अब्दुल खालिक शेख, अवधेशकुमार मण्डल, कृष्ण शाह, भोजबहादुर साउँद, कृष्ण पन्थी, दिपजङ शाह, सुरेश परियार, विवेक पुलामी मगर, विष्णुबहादुर खड्का, केशवप्रसाद खनाल, गजेन्द्र राई, राजु राई, रमेश कनौजे थापा र राकेश श्रेष्ठवीच प्रतिस्पर्धा हुँदैछ। १८ जनाको लागि ३३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।लेखा समितिको संयोजकमा मुक्तार आलम र महेश्वर मण्डल बीच प्रतिस्पर्धा हुँदैछ।

गैरआवसीय नेपाली संघ कतारले कतारमा अझै सरकारी अनुमति पाएको छैन। यो कतारस्थित नेपाली दूतावासमा सुचिकृत छ। यसअघि पनि सहमतिमा नेतृत्व चयन नभएपछि नेपाली दूतावासभित्र मतदान भएको थियो। कतारको नियम अनुसार मतदान गराउनको लागि सरकारी अनुमति लिनुपर्छ।

प्रकाशित : श्रावण १९, २०७६ १८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्