कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्मीमा कानका रोगी बढे

जितेन्द्र साह

विराटनगर — गर्मी मौसममा कानका बिरामी ह्वात्तै बढेका छन् । बढी आर्द्रताले कानमा ढुसीको संक्रमण भएर कान चिलाउने, दुख्ने र भारी महसुस गर्ने बिरामीहरू बढी अस्पताल आउने गरेको चिकित्सकले बताए ।

रानीस्थित विराटनगर आँखा अस्पतालको कान विभाग प्रमुख डा.रविन आचार्यले वर्षभरि नै कानको बिरामी आउने गरे पनि असारदेखि असोजसम्म बढी चाप हुने गरेको जनाए । उनका अनुसार दिनहुँ औसत ८५ जना आउने गरे पनि गर्मीमा त्यो संख्या दैनिक १ सय ५० सम्म पुग्छ ।


उनले उपचार गर्नुभन्दा रोग लाग्नै नदिने सिद्धान्तअनुरूप जाने हो भने कानमा तेल वा फोहोर पानी पर्नै दिन नहुने बताए । ‘शरीरको अन्य अंगजस्तै कानलाई सुक्खा राख्न सफा कपडा वा कपासले नियमित पुछ्नुपर्छ,’ डा.आचार्यले भने । जाडोमा चिसोले गर्दा रुघाखोकी र योसँगै एलर्जीले कान दुख्ने तथा पाक्ने समस्या देखिने गरिएको उनले बताए । ‘रुघाखोकीका बारेमा समुदाय धेरै सचेत भइसकेका छन्, जाडोमा तातोपानी र झोल पदार्थ खाँदा निको हुन्छ भन्ने बुझेका छन्,’ उनले भने, ‘त्यही भएर अस्पतालै आइपुग्नु पर्दैन, गर्मीमा भने जँचाउनै पर्छ ।’


आँखा र कानको उपचारमा अब्बल मानिएको यो अस्पतालमा गत वर्ष २७ हजार १ सय ४७ ले कान परीक्षण गराएको देखिन्छ । अस्पतालले तीमध्ये १ हजार ३ सय ४९ जनाको कानको शल्यक्रिया गर्‍यो भने २ सय ९४ को हेयरिङ एड वितरण गरेको छ ।

अस्पतालका प्रबन्धक कुमार पृथुले कानको आधुनिक उपचार सेवा उपलब्ध गराएको बताए । कानका बिरामीमध्ये आधा नेपाली र आधा भारतीय हुने गरेको उनले सुनाए । पृथुले भने, ‘वरिपरि धेरै उपचार केन्द्र खुले पनि कानको गतिलो उपचार सेवा उपलब्ध नभएकाले यो अस्पतालमा कानका बिरामीको चाप बढेको हो ।’


अस्पतालका कान विशेषज्ञ आचार्यले दिनहुँ कानका तीन ठूला र पाँच सामान्य खालको शल्यक्रिया गरिरहेको बताए । ‘महिनामा औसत १ सय २५ जनाको शल्यक्रिया गर्छौं,’ उनले भने । यसमा फुटेको कानको जाली र बीच भागको कुहिएको ससानो हड्डीको शल्यक्रिया हुने गरेको उनले बताए । ‘कानको बीच भागमा पानी जम्दा जालीमा ससानो प्वाल पारेर निकाल्नुपर्छ,’ उनले भने, ‘कानको जालीमा स–सानो मासु पलाउँदा औषधि लगाएर खुर्किने वा डढाउने गर्छौं ।’


वयस्कमा कान नसुन्ने समस्या, बालबालिकामा कान पाक्ने र ४० वर्ष नाघेकामा शल्यक्रिया नै गर्नुपर्ने समस्या बढी हुने गरेको प्रबन्धक पृथुले जनाए । कानको शल्यक्रिया गर्न ३० मिनेटदेखि दुई घण्टासम्म लाग्छ । अस्पतालका अनुसार यो वर्ष जनवरीदेखि जुनसम्म कानका १३ हजार ८ सय बिरामीले प्रत्यक्ष सेवा लिएका छन् । तीमध्ये ८ सय १ जनाको कानको विभिन्न खाले शल्यक्रिया गरिएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?