कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराएको दुई दिनपछि जंगलमा भेटिइन् २ वर्षीय बालिका

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको सिरिजंघा गाउँपालिका-१ कि २ वर्षीय बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छन् । घरैबाट हराएकी उनलाई सदरमुकाम फुङलिङबाट गएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलिले जंगलमा भेट्टाइ परिवारको जिम्मा लगाएको हो । 

हराएको दुई दिनपछि जंगलमा भेटिइन् २ वर्षीय बालिका

छोरी बेपत्ता भएपछि पीडा सहन नसकि बिष सेवन गरेकी बालिकाकी आमा सरस्वता इवारामको भने धरानको घोपामा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।


साउन १२ गते दिउँसो साढे ३ बजे आफ्नै हजुरबुबासँग खेल्दै गरेकी बालिका अचानक हराएकी थिइन् । घरपरिवार र आफन्तले खोजतलास गर्दा नभेटाएपछि सिनाम प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरी हवल्दारको नेतृत्वमा सशस्त्र प्रहरी समेत र गाउँलेले रातभर खोजी गरेका थिए । असार १३ गते इलाका प्रहरी कार्यालय तेल्लोकबाट थप जनशक्ति परिचालित भएको थियो ।


असार १४ गते आमाले ‘राइनो’ नामक विष सेवन गरेपछि प्रहरी र स्थानीयले स्ट्रेचरमा बोकेर मेची राजमार्गको गणेशचोकसम्म र त्यसपछि एम्बुलेन्समा लगाएर उपचारकालागि पठाएका थिए ।


एक सय भन्दा बढीको टोली लिएर खोजीमा निस्किएको थापा टोलीले घरबाट करिव एक किलोमिटरको दूरीमा रहेको खरबारीमा रोएर थाकेको अवस्थामा बालिका फेला पारेको थियो । थापाका अनुसार भेट्नासाथ स्थानीय स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गराइएको छ र स्वास्थ्यकर्मीले बालिकाको अवस्था सामान्य रहेको बताएका छन् ।

प्रकाशित : श्रावण १५, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?