वर्षाका कारण तेह्रथुममा ५० बढी घरमा क्षति

चन्द्र कार्की

तेह्रथुम — अविरल वर्षाका कारण जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । पहिरोका कारण जिल्लाभर ५० बढी घरमा क्षति पुगेको छ । पहिरोले घर बगाउने अवस्था आएपछि धेरैले घर छाडेर अन्यत्र बसिरहेका छन् । पहिरोमा पुरिएर १० वटा बढी चौपाया मरेका छन्।

लालीगुराँस नगरपालिका २ वसन्तपुर बजारका ७ बढी घरमा पहिरोले क्षति पुर्‍याएको छ । बसपार्क छेउमा रहेका रत्नबहादुर कार्की, खेम कार्की, डिल्ली कार्की, हेम सुवेदी लगायतको घरमा पहिरोले क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार जिल्लाभर २१ वटा घरमा मात्र पहिरोले क्षति गरेको उल्लेख छ । तर स्थानीय तह आफैले सङ्कलन गरेको पीडितको तथ्याङक भने धेरै छ । छथर गाउँपालिकामा मात्र २० बढी घरमा बाढी पहिरोले क्षति पुर्‍याएको अध्यक्ष सन्तबिर लिम्बुले बताए ।

गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धी आपत्कालीन बैठक बसेर पीडितलाई जतिसक्दो चाँडो राहत पुर्‍याउने निर्णय गरेको प्रवक्ता राजन नेपाली बताए । त्यस्तै फेदाप, आठराई, मेन्छ्यायाम गाउँपालिकामा पनि पहिरोले ठुलो क्षति गरेको छ । त्यस्तै म्याङलुङ र लालीगुराँस नगरपालिकामा पनि बाढी र पहिरोले क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको स्थानीय सरकार प्रमुखहरुले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईका अनुसार धेरैको घरमा पहिरोले क्षति गरेको छ । प्रशासनमा २१ जनाको घरमा पहिरोले क्षति गरेको विवरण उपलब्ध भएको उनले बताइन् । प्रभावित सम्म पुगेर सहयोग गर्न स्थानीय सरकार समक्ष समन्वय गरेर काम गरिरहेको प्रशासनले जनाएको छ ।

पहिरोका कारण जिल्लाका अधिकांश घर उच्च जोखिममा रहेको र उनीहरूलाई सतर्क रहन भनिएको प्रजिअ होमागाईले बताइन् । अविरल वर्षाका कारण पहिरो खस्दा वसन्तपुर–म्याङलुङ सडक खण्डको दर्जन बढी स्थानमा सडक अवरुद्ध भएको छ ।

त्यस्तै म्याङलुङ सङ्क्रान्ति सडकमा पनि १ सय बढी स्थानमा पहिरो झरेर अवरुद्ध भएको छ । जिल्लाका स्थानीय तहले करोडौँ रकम खर्च गरेर भर्खरै मात्र निर्माण गरेका १ सय बढी सडक पनि बाढी पहिरोका कारण अवरुद्ध भएका छन् ।

सिंधुवा शुक्रबारे, शुक्रबारे म्याङलुङ, जिरीखिम्ती मोराहाङ, म्याङलुङ लुमुघाट लगायतका सदरमुकाम जोड्ने १० बढी सडक अवरुद्ध भएका छन् । यी सडकका दर्जनौँ स्थानमा सवारी फसेका छन् ।

प्रकाशित : असार ३०, २०७६ १७:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

भोजपुरका सिँचाइ डिभिजन इन्जिनियर १ लाख ८० हजार घूससहित पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुखलाई अख्तियारले १ लाख ८० हजार घूससहित रंगेहात पक्राउ गरेको छ ।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घूस लिँदै गर्दा सोमबार मध्यान्ह १२ बजेतिर रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

षडानन्द नगरपालिका-१३ स्थित छाँगे खोला सिँचाइ आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफराक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारीबाट इन्जिनियर यादवले सो रकम लिएको बताइएको छ।

करिब ९८ लाख लागत अनुमान रहेको सो सिँचाइ आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको कार्यालय स्रोतले जनाएको छ। उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिसन दिए मात्र मूल्याङ्कन गरी बिल पास गरिदिने बताउँदै आएका थिए।

आर्थिक वर्षका अन्त्यमा कार्यालयमा उपभोक्ताहरुको कामको चापलाई छाडेर हिँडेका इन्जिनियर यादव कार्यालय नजिकै रहेको फुपू भदैनी खाजा घर एण्ड लजमा घूस रकम लिन पुगेका थिए। अख्तियारको इटहरीबाट खटिएको टोलीले सोही होटलबाट उनलाई रंगेहात पक्रेको थियो।

भोजपुर नगरपालिका वडा नं. १० भैसिपंखा खुरिलास्थित सिँचाइ आयोजनाको भुक्तानी तथा फरफराकमा समेत इन्जिनियर यादवले आलटाल गरेपछि आफूले बाध्य भएर अख्तियार गुहार्नुपरेको र भ्रष्टाचारीलाई नंग्याइएको सो सिँचाइका उपभोक्ता चक्रबहादुर कार्कीले बताए।

योजनाको काम सकेर तीनदित लगाएर फरफराक लिन आएका सुरुवाले सिँचाइ आयोजनाका अध्यक्ष नवराज गुरुङले दुखेसो पोख्दै भने ‘तीनदिन लगाएर हिँड्दै आइयो भुक्तानी पाइएला भनेको त कार्यालयमा यस्तो भयो अब पैसा पाउन कतिदिन कुर्नुपर्ने होला थाहा छैन असारको दिनमा यत्रो दिन यतिकै खेर जाने भयो। ’

प्रकाशित : असार ३०, २०७६ १७:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×