कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमै कारखानाले किसानलाई सहज

वार्षिक ४० हजार केजी तयारी चिया प्रशोधन गर्ने लक्ष्यका साथ स्थापित कारखानाले २ सय ५० जनालाई रोजगारी
चन्द्र कार्की

तेह्रथुम — चार दशकअघि बारीका कान्लामा चियाका बिरुवा रोप्दै गर्दा गाउँमै चिया कारखाना सञ्चालनमा आउला भन्ने लालीगुराँस नगरपालिका सोल्मामा किसानले कल्पना गरेका थिएनन्  । चियाका बेर्ना झांगिएर बगान हुँदै गर्दाको चार दशक समय सोल्मासहित जिल्लाका किसानले धेरै हण्डर र दुःख खेपे  ।

गाउँमै कारखानाले किसानलाई सहज

एक वर्षयता गाउँमै सविधायुक्त चिया प्रशोधन उद्योग खुलेपछि हजारौं किसानलाई राहत पुगेको छ । जिल्लाका ९ वटा चिया सहकारीले आफ्नै चिया प्रशोधन कारखाना पाएका छन् । चिया किसानलाई यो खुसी भित्र्याउने काम भने डेनमार्क सरकारको सहयोगमा उन्नति समावेशी वृद्धि सहयोग कार्यक्रमले गरेको हो ।

चियाको हरियो पत्ति प्रशोधन गर्ने कारखाना खुलेपछि सोल्मासहित सुङनाम, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ, हमुरजुङ, पञ्चकन्या, आङदिम वसन्तपुर, फुलेक, दांगपा र छिमेकी जिल्ला धनकुटा र संखुवासभाका साना चिया किसानले समेत ठूलो राहत पाएका छन् । यी स्थानका किसानले व्यावसायिक चिया खेती गर्दै आएका छन् ।

साना चिया किसानलाई लक्षित गरी लालीगुराँस नगरपालिका ९ सोल्मामा सञ्चालनमा ल्याइएको चिया प्रशोधन कारखानाका कारण किसानले रोजगारी र आम्दानी दुवै पाएको सिंहदेवी चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक शंकर खनालले बताए । सिंहदेवी चिया उत्पादक सहकारी संस्थाले नै किसान समेतको लागत सहभागिता गराएर उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा कारखाना सञ्चालनमा ल्याएको हो ।


जिल्लामै चियाको हरियो मुना प्रशोधन गर्ने कारखाना नहुँदा धेरै किसानले चियाको मुना टिप्नै छाडेका थिए । मुना टिपेका किसानले पनि धनकुटाको हिलेमा रहेको चिया प्रशोधन कारखानामा बिक्रीका लागि लानुपर्ने बाध्यता थियो । त्यहाँका कारखानाले पत्ती ढुवानी गर्न सवारी साधन समयमा नपठाउँदा सातामा एक दिनमात्र पत्ती टिप्नुपर्ने बाध्यता किसानले झेल्दै आएका थिए । कारखानाले समयमा पत्तीको रकम भुक्तानी नदिने अर्को समस्या वर्षौंदेखि थियो ।

पत्ती टिप्न ढिलाइ हुँदा मुना फक्रिने र फक्रिएका मुना कारखानाले लिन नमान्दा किसानले बर्सेनि नोक्सान व्यहोर्दै आएका थिए । जिल्लामै कारखाना खुलेपछि भने किसानका सबै समस्या हटेको कारखानका प्राविधिक वीरबहादुर बस्नेतले बताए । कारखाना सञ्चालनमा आएपछि किसानले सातै दिन मुना टिप्न पाएको उनले बताए ।


हिलेमा रहेको चिया प्रशोधन कारखानाले हरियो पत्तीको प्रतिकेजी ५६ रुपैयाँ मात्र मूल्य दिँदै आएको तर, जिल्लामै कारखाना खुलेपछि प्रतिकेजी ६५ रुपैयाँ मूल्य पाउन थालेको किसान अग्नि खनालले बताए ।

प्रतिकेजी ९ रुपैयाँ बढी मूल्य पाउँदा पत्ती बिक्रीबाट आम्दानी समेत बढेको अर्का चिया किसान राम खनालले बताए । पहिले २ सय ५० केजी सातामा चियाको पत्ती बिक्री गर्दै आएका खनालले अहिले त्यति नै बगानमा ४ सय २२ केजीसम्म बिक्री गर्दै आएका छन् । किसानले पत्ती टिप्न छाडेर झाडीमा परिणत भएका चिया बगान कारखाना सञ्चालनमा आएपछि गोडमेल र काटछाँट गरेर व्यवस्थित बनाएका छन् ।

यस्ता बगानबाट पनि पत्ती टिपाई सुरु भएको चिया किसान बालकुमारी मगरले बताइन् । कारखानामा अत्याधुनिक चिया सर्टिङ मेसिन जडान गरिएको छ । हरियो पत्तीको मुख्य उत्पादन स्थलमै प्रशोधन कारखाना स्थापना भएपछि जिल्लाका १ हजार ३ सयभन्दा बढी चिया किसान लाभान्वित भएको संस्थाका अध्यक्ष टेकबहादुर मगरले बताए ।


उन्नति समावेशी वृद्धि कार्यक्रमबाट प्राप्त १ करोड १३ लाख रुपैयाँको सहयोगमा संस्थाले ३ करोड रुपैयाँ लागतमा प्रशोधन कारखाना सञ्चालनमा ल्याएको हो । बाँकी रकम सहकारी संस्थाले सेयर रकम र ऋण खोजेर जुटाएको हो ।
कारखानामा प्रशोधन गरिएको हरियो पत्तीलाई संस्थामार्फत नै ग्रेडिङ, प्याकेजिङ र बजारीकरण गरिएको छ ।

किसान एक्लैले यस्ता कारखाना स्थापना गरेर सञ्चालन गर्न नसक्ने भएकाले सहकारी संस्थाले सञ्चालनमा ल्याएको लालीगुराँस नगरपालिकाकी उपप्रमुख तिला पोखरेलको भनाई छ । यो सहकारीमा १ सय ४४ जना साना चिया किसान आबद्ध छन् । कारखानाको दैनिक ३ सय केजी हरियो पत्ति प्रशोधन गर्ने क्षमता छ । वार्षिक ४० हजार केजी तयारी चिया प्रशोधन गर्ने लक्ष्यका साथ कारखाना स्थापना गरिएको सहकारी संस्थाले जनाएको छ ।


त्यसका लागि वार्षिक २ लाख केजी हरियो पत्ती आवश्यक पर्ने कारखानाले जनायो । १ लाख ५० हजार केजी हरियो पत्ती सोल्मामा उत्पादन हुने र बाँकी पत्ती जिल्लाका अन्य क्षेत्रबाट ल्याइने व्यवस्थापक खनालले जानकारी दिए । जिल्लाका साना चिया किसानले वार्षिक २ लाख केजी हरियो पत्ती उत्पादन गर्दै आएका छन् ।


चिया प्रशोधन कारखाना खुलेपछि किसानका बगानदेखि कारखानासम्म २ सय ५० जनाभन्दा बढीले रोजगारी पाएका छन् । कारखाना खुलेपछि किसानले चिया उत्पादन क्षेत्रफल बढाउने र साना चिया किसानको संख्या समेत बढ्ने आशा सहकारीले लिएको छ ।


कारखानामा प्रशोधन भएको अर्ग्यानिक चिया केही स्थानीय बजारमा, ३० प्रतिशत नेपाली बजारमा, २५ देखि ३० प्रतिशत भारतीय बजार र ३० प्रतिशतसम्म तेस्रो मुलुक निर्यात गर्ने लक्ष्य रहेको सहकारीले जनाएको छ । कारखानाबाट ब्ल्याक, ग्रिन, हाइट, गोल्डेन, रेड, अर्थोडक्स, स्मोकलगायत चिया तयार हुने कारखानाका प्राविधिक बस्नेतले जानकारी दिए ।

प्रकाशित : असार २९, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?