दुई खोलाको भँगालोबीच १० जना अलपत्र, एकजना बेपत्ता

कान्तिपुर संवाददाता

विराटनगर — उदयपुरको चौदण्डीमा खोलाको भंगालोबीच १० जना अलपत्र परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित कालीखोला र लामा खोलाको दोभाननजिक सञ्चालित क्रसरमा काम गर्ने मजदुर अलपत्र परेका हुन् ।

प्रहरीका अनुसार उक्त क्रसर उद्योगका सुरक्षा गार्ड बेपत्ता भएका छन् । भंगालोबीच फसेका केही भारतीयसहित १० जना कामदार अलपत्र परेका छन् । खोलामा उर्लेको बाढीका कारण उनीहरु सुरक्षित स्थानसम्म जान सकेका छैनन् ।


स्थानीय बासिन्दा समेतको सहयोगमा प्रहरीले अलपत्र परेकाहरुको उद्धार गर्ने प्रयास भइरहेको जनाएको छ । केही दिनयता भएको अबिरल वर्षाका कारण काली र लामा खोलामा उर्लेको बाढीका कारण आसपास क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।

प्रकाशित : असार २८, २०७६ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्

त्रियुगा नदीको बाँध फुटेर पाँच सय घर डुबानमा

रासस

गाईघाट — चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् ।


प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार त्रियुगा नदीको बाँध फुटेर पूरै त्रियुगा नदी तपेश्वरी क्षेत्रमा प्रवेश गरेपछि अहिले सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेनाको टोलीले दुई सय जनाको उद्धार कार्य गरिसकेको छ भने अन्यको पनि उद्धार कार्य जारी राखेको छ । तपेश्वरी क्षेत्रमा थप क्षति हुन नदिन नेपाली सेना र सशस्त्र प्रहरी इटहरीबाट समेत थप सामग्री मगाएर उद्धार कार्य शुरु गरिएको प्रजिअ खड्काले बताए ।

पूरै तपेश्वरी गाउँनै त्रियुगा नदीको डुबानमा परेको र हेलिकप्टर मगाउन प्रयास गरिए पनि उडान हुन नसक्ने अवस्था रहेका कारण अहिले प्रदेश १ इटहरीसहित जिल्लाका सुरक्षाकर्मी ‘जेटबोट’ परिचालन गरेर तपेश्वरीमा उद्धारकार्यमा जुटेका प्रजिअ खड्काले जानकारी दिए । अहिले नै रेडक्रससहित औषधि, लत्ताकपडा खानेकुराका लागि सहयोग गर्ने टोली पनि तपेश्वरीतर्फ पठाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै कटारी नगरपालिकाको कटारी बजारस्थित तावा खोला किनारका पच्चीस घर मुसहरबस्तीसमेत डुबानमा परेपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको प्रजिअ खड्काले बताए ।

प्रकाशित : असार २८, २०७६ १४:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×