कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरमा पार्किङ व्यवस्थित गर्न माग

(मोरङ) — प्रदेश सभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभामा शून्य समयमा बोल्दै प्रदेशका सहरमा पार्किङ व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले प्रदेश सरकारले ऐन ल्याएरै भए पनि पार्किङ व्यवस्थित गर्दै त्यसलाई आम्दानीको स्रोतसमेत बनाउन माग गरेका हुन् । 

विराटनगर, इटहरी, धरान, दमक, काँकडभिट्टा, भद्रपुरलगायतका सहरमा सडकमा नै सानादेखि ठूला सवारी साधन पार्किङ हुँदै आएकाले दुर्घटनाको जोखिम बढ्नुका साथै सहर अस्तव्यस्त देखिएको छ ।


‘स्थानीय तहले व्यवस्थित पार्किङ स्थल निर्माण गरेर पार्किङ शुल्कलाई आम्दानीको स्रोत बनाउनु पर्छ,’ उनले भने, ‘हाम्रो प्रदेशमा पार्किङबाट २ अर्ब बढी आम्दानी हुने देखिन्छ ।’ व्यवस्थित पार्किङले सहरको सुन्दरता वृद्धि, दुर्घटना न्यूनीकरण र आमदानीको स्रो वृद्धि हुने कामलाई कार्यान्वयन गर्न प्रदेश सरकारले तत्काल ऐन ल्याउनु पर्ने उनको भनाई थियो । अर्का सांसद शिवनारायण गनगाईले सुनवर्षी ९ मा मस्जिदमा निर्माणाधीन शौचालयमा निसासिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे । निर्माणाधीन शौचालयको सेफ्टी ट्यांकीभित्र सेटरिङ खोल्न पसेकालाई उद्धार गर्न एकपछि अर्को व्यक्ति पसेपछि चार जनाको निसासिएर मृत्यु भएको थियो ।

सांसद प्रकाशप्रताप हाङगामले फाक्तालुङ गाउँपालिकाका असिना पीडित कृषकलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरे ।


उनले प्रदेश सरकारले सामानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदका लागि छुट्टाछुट्टै पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बजेट विनियोजनले अपमानित भएको बताए । ‘समान हैसियत भएका प्रत्यक्ष र समानुपातिक सांसदको हैसियत पूर्वाधार विकास कार्यक्रमले तल–माथि भएको छ,’ उनले भने, ‘प्रत्यक्ष निर्वार्चितलाई ३ करोड र सामानुपातिकलाई ५० लाख विनियोजन गरेर समानुपातिकको कम हैसियत देखिन गएको हो ।’ उनले यसले समानुपातिक

सांसदहरू समाजमा आलोचित हुन थालेको बताए ।


प्रकाशित : असार २२, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?