कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुलाकी सडकको रुट परिवर्तन

तराईका जिल्ला जोड्ने लाइफ लाइनका रूपमा हेरिएको हुलाकी सुरु भएको १४ वर्ष बित्न लाग्दा पनि मोरङमा निर्माण हुन सकेको छैन । विराटनगरको बरगाछी हुँदै सुनसरी जोड्ने सडकलाई अघोषित रूपमा हुलाकी राजमार्ग बनाइएको प्रति स्थानीय असन्तुष्ट छन्
देवनारायण साह

(मोरङ) — इटहरीस्थित हुलाकी राजमार्ग आयोजना इकाईले सुनसरीमा हुलाकी सडक छोडेर अर्कै सडक निर्माण गर्न थालेको छ । सुनसरीस्थित २६ किलोमिटर हुलाकी सडक विराटनगरस्थित भठ्ठीमोड हुँदै जाने केसलीया–चिमडी–लौकही–फूलचौकी सडक भए पनि आयोजनाले विराटनगरको बरगाछी हुँदै जाने केसलीया–चिमडी–लौकही सडक गत वर्षदेखि निर्माण गरिरहेको छ ।

हुलाकी सडकको रुट परिवर्तन

सुनसरीस्थित हुलाकीमार्ग १ अर्ब १६ करोड ७१ लाख ३० हजार ५ सय ४१ रुपैयाँमा ठेक्का लिई शर्मा बिकोइ–सूर्य जेभि काठमाडौंले निर्माण गरिरहेको हो ।


चालु वर्षमा हुलाकी सडक परियोजनाले मोरङको पूर्वमा रतुवामाई नदीदेखि विराटनगरको हाटखोलासम्म मात्रै सडक निर्माणका लागि टेण्डर आहान गरेको छ । एकातिर हाटखोलासम्म मात्रै आयोजनाले सडक निर्माणका लागि टेन्डर आहान गर्ने र अर्कोतिर सुनसरी खण्डमा बरगाछी हुँदै जाने सडकलाई हुलाकी सडकका रूपमा निर्माण गरिरहेबाट हुलाकी सडकको अघोषित रूपमा रुट परिवर्तन भइसकेको स्थानीय मो. नसरुलको भनाई छ । कुनै पनि सडकको रुट परिवर्तनका लागि मन्त्रीपरिषदको बैठकले मात्रै गर्न सक्ने कानुनी व्यवस्था छ । तर यहाँ मन्त्रीपरिषदको निर्णयबिना नै आयोजनाले रुट परिवर्तन गरेर सडक निर्माण गरिरहेको हो ।


‘राजमार्ग सडक बाङ्गोटिङ्गो हुनु हुँदैन तर विराटनगरमा हुलाकी रजामार्गलाई सर्प हिडे जस्तो बाङ्गोटिङ्गो बनाउन खोजिएको छ,’ नसरुलले भने, ‘सडकमा पर्ने घर भत्किने र जग्गा दलालको दबाबमा आयोजना, सडक विभाग र मन्त्रालयले हुलाकी राजमार्गको रुट परिवर्तन गर्न मिल्दैन ।’ उनले जबजरजस्ती रुट परिवर्तन गरे आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । हुलाकी सडक आयोजना इकाई इटहरीका प्रमुख विजयकुमार महतोले चालु वर्षमा मोरङस्थित ४६ किलोमिटर हुलाकी सडकमध्ये पूर्वमा रतुवामाई नदीदेखि हाटखोलासम्म सडक निर्माणका लागि आयोजना टेन्डर आहान गरेको बताए । चालु वर्षमा नै ठेक्का सम्झौता भई आउँदो वर्षबाट निर्माण सुरु हुने उनको भनाई थियो । हाटखोलादेखि केसलिया नदीसम्मको विराटनगर बजार क्षेत्रमा साइड क्लियर नभएकाले ठेक्का हुन नसकेको महतोले बताए । साइड क्लियर नगरी टेन्डर आहान गर्न नमिल्ने भएकाले आयोजनाले हाटखोलासम्म मात्रै टेन्डर गरेको उनको भनार्ई थियो । उनले स्थानीयले रुट परिवर्तनका लागि पहल गरिरहेको स्विकारे । ‘हुलाकी राजमार्गको रुट परिवर्तन कसैले पहल गर्दैमा भइहाल्दैन,’ उनले भने, ‘यसका लागि मन्त्रीपरिषदबाट निर्णय हुनु पर्छ ।’ केही स्थानीयले विराटनगरको हाटखोलाबाट सरस्वतीटोल–शनीहाट–तीनपैनी–बरगाछी हुँदै जाने केसलिया–सुनसरीको चिमडी–लौकही सडकलाई हुलाकी सडकका रूपमा विकास गर्न पहल भने गरिरहेका छन् ।


विराटनगरस्थित भठ्ठीमोड हुँदै जाने केसलिया–चिमडी–लौकही–फूलचौकी हुलाकी सडकको केसलिया–चिमडी खण्ड सडक डिभिजन कार्यालय विराटनगरले निर्माणका लागि ठेक्का प्रक्रिया पूरा गरिसकेको महतोले बताए । ‘आयोजनाको ठेक्केदारले विराटनगरको बरगाछी हुँदै जाने केसलिया–चिमडी–लौकही सडक निर्माण गरिरहे पनि हुलाकी राजमार्ग भने विराटनगरस्थित भठ्ठीमोड हुँदै जाने केसलिया–चिमडी–लौकही–फूलचौकी सडक नै हो, सडकको रुट परिर्वतन हाम्रो अधिकार क्षेत्रमा पर्दैन,’ उनले भने । तराई मधेसको जिल्ला जोड्ने लाइफ लाइन हुलाकी राजमार्ग निर्माण सुरु भएको १४ वर्ष बित्न लाग्दा पनि निर्माण कामले गती लिएको छैन । पूर्वको ४ जिल्ला झापामा ४८, मोरङमा ४६, सुनसरीमा २६ र सप्तरीमा ४६ गरी १ सय ६६ किलोमिटर हुलाकी सडकमध्ये अझै ७२ किलोमिटरमा निर्माण काम सुरु हुन सकेको छैन । अर्थमन्त्री युवराज खतिवडाले बुधबार ०७६/७७ का लागि प्रस्तुत गरेको बजेटमा ३ सय ५० किलोमिटर हुलाकी सडक कालोपत्रेका लागि १३ अर्ब ६३ करोड विनियोजन गरेका छन ।


०६२/६३ को राजनीतिक परिवर्तनपछि हुलाकी राजमार्गको निर्माण सुरु भएको हो । सप्तरीदेखि झापासम्मको १ सय ६६ किलोमिटर सडकको अधिकांश खण्डमा पैदल यात्रा गर्न पनि कठिन छ । यो सडक सप्तरी, मोरङ र झापाका राजविराज, विराटनगर र भद्रपुर जोड्ने छोटो दूरीको मार्ग हो ।

प्रकाशित : असार ७, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?