दिक्तेल सडक खण्डको कालोपत्रे तीव्र
खोटाङ — मध्यपहाडी लोकमार्ग अन्तर्गत बाझेच्यानडाडाँ–दिक्तेल सडक खण्डको कालोपत्रे तिब्र गतिमा भइरहेको छ । अवधि सकिए पनि काम अपूरै हुँदा चौतर्फी दबाब आएपछि कालोपत्रेको कामले गति लिएको हो ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो सडक खण्डको (८८ किलोमिटर) मध्ये दारुलाडाडाँ–दिक्तेलसम्मको १८ किलोमिटर सडकको कालोपत्रे यसै असारभित्र सक्ने गरी काम बढाइएको निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले बताए । अन्य सडक खण्ड भने आगामी वर्ष मात्र सकिने सेर्पाले सुनाए ।
यो सडकको चारवटा प्याकेजमा ठेक्का लागेको थियो । एक नम्बर र दुई नम्बर प्याकेजको २०७२ वैशाख २ गते, तीन नम्बर प्याकेज २०७२ असार १६ गते र चार नम्बर प्याकेजको २०७२ चैत १६ गते दुई वर्षभित्र सक्ने गरी रमण गोल्डेन गुड जेबी कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो ।
यसमध्ये एक र दुई नम्बरको प्याकेजको अवधि थपेर आगामी असारसम्म पुर्याइएको छ । तीन र चार नम्बर प्याकेजको अवधि आगामी चैतसम्मका लागि थपिएको छ । सेर्पाका अनुसार एक नम्बर च्यानडाडाँ–पेलुङसम्मको (१० किलोमिटर) ५० प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (८ किलोमिटर) ६० प्रतिशत, तीन नम्बर प्याकेज दारुला–कालिखोला (९ किलोमिटर) ८० प्रतिशत र चार नम्बर प्याकेज कालिखोला–दिक्तेल (९ किलोमिटर) ९५ प्रतिशत काम सकिएको छ ।
त्यसो त करिब एक अर्ब, नौ करोड, १९ लाख रुपैयाँको लागतमा सम्पन्न हुनु पर्ने यो सडक बेलामा नसक्दा अब यसको लागत करिब सवा अर्ब पुग्ने भएको छ । पेटी ठेक्का, बेलामा सडक पुल नबन्नु लगायतका कारण ढिलाई भएको सेर्पाले बताए ।
यस सडक खण्डमा आठ पुलमध्ये चार वटा मात्र सकिएको छ । सकिएको चार वटा सडक पुलको ठेक्का गोल्डेन गुड निर्माण कम्पनीले लिएको थियो । उक्त निर्माण कम्पनीले ठेक्का लिएको कालिखोला, लप्सेखोला, दाम्देखोला र साप्सुखोला सडक पुल सकिएर सञ्चालनमा आइसकेको छ । अन्य चारवटा सडक पुल भने अत्तो पत्तो छैन ।
यो सडक खण्डमै पर्ने भुल्के खोलाको पुल निर्माण सुरु गर्नासाथ वर्षादा कारण बन्द भएको छ । यहाँ रहेको धार्मिक तथा पर्यटकीय भुलभुलेलाई असर पर्ने भएकाले उक्त पुल केही तल्तिर सार्नु पर्ने हुदाँ निर्माणमा ढिलाई भएको निर्माणमा संलग्न सगरमाथा घिमिरे निर्माण सेवा सम्बद्ध कृष्णप्रसाद घिमिरेले बताए । भालुखोला, छेपेखोला र मेवा खोलाको सडक पुलको भने ठेक्कै लागेको छैन । पुल नबन्दा सडक निर्माणमा समस्या भएको सेर्पाले सुनाए ।
प्रकाशित : असार ५, २०७६ १०:१३