कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेवारिसको उपचार

सुनसरी — धनकुटाको तमोरस्थित मूलघाटमा बेवारिसे अवस्थाका एक बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले उद्धार गरी उपचार गरेका छन् । सन्तोष लिम्बु नाम गरेका ती बिरामीको शरीर र हात खुट्टा कुहिएर किरा परेको अवस्थामा चिकित्सकले फेला पारेका थिए ।

प्रतिष्ठानमा गत शनिबारदेखि सर्जिकल वार्डमा भर्ना गरेर ५१ वर्षीय लिम्बुको उपचार भइरहेको जुनियर रेसिडेन्सियल वेल्फेयर सोसाइटी (जेआरडव्लुएस) का अध्यक्ष डा कविराज पौडेलले बताए । उनका अनुसार प्रतिष्ठानको सर्जरी युनिटमा लिम्बुलाई भर्ना गरिएको छ ।


प्रतिष्ठानका जेआरएसडब्लुएसका चिकित्सक डा उज्ज्वल गौतम र अन्य स्वास्थ्य टोली धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिरमा रहेका वृद्धवृद्धाको उपचार र स्वास्थय परीक्षण तथा अन्य चिकित्सकीय अनुसन्धानका लागि गएका बेला वेवारिस अवस्थामा ती लिम्बुलाई फेला पारेका थिए । शरीरभरी किरा परेको अवस्थामा भएपनि स्थानीयहरूले भने छिछि दुरदुर गर्दै आएका थिए ।


पौडेलले भने, ‘बेवारिसे अवस्थामा सिकिस्त बिरामी फेला परेपछि चिकित्सक टोलीले मानवीयता धर्म पुरा गर्न तत्काल एम्बुलेन्स बोलाएर प्रतिष्ठानमा ल्याएर उपचार सुरु गर्‍यौं । उनी अल्कोहोलिक डपेन्डेन्स भएको थाहा भयो । शरीरका विभिन्न ठाउँ कुहेको र किरा मार्नका लागि थप उपचार गर्दै छौं । तर उनको आफन्त नभएको पनि जानकारी भयो ।’ चिकित्सकहरूले लिम्बुको सहोदर भाइ पनि नजिकै रहेको पत्ता लगाएर उनलाई कुरुवा बनाएर ल्याएको पौडेलले बताए ।


लिम्बुको औषधी उपचारमा लाग्ने सम्पूर्ण खर्च र कुरुवालाई दिनुपर्ने खाना प्रतिष्ठानका जेआरडब्लुएसका टिम, प्रतिष्ठान पुर्व विद्यार्थी, नर्स र प्रतिष्ठानले व्यहोरिरहेको पौडेलले बताए । उनले भने, ‘लिम्बुको सुधार भइरहेको छ तर उनको आर्थिक अवस्था दयनीय रहेछ । आर्थिक सहयोग गर्ने दाताहरूले पनि सहयोग गरिदिए निको भएर लिम्बुले जीवन यापन गर्न सहज हुने थियो ।’


कुरुवा बनेका असारबहादुर लिम्बुले भने, ‘हाल धनकुटा नगरपालिका ९ साविक दांगपामा ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएका थिए । भाउजूले पनि १५ वर्षअघि नै छाडेर अर्कैसँग गइन् । ज्यालामजदुरी गर्दागर्दै शरीरभरि घाउ निस्केर थलापरे । उपचार गर्न आर्थिक अभावले त्यतिकै बसेका थिए ।’


आफूलाई उद्धार गर्ने चिकित्सकहरूलाई साक्षात भगवान सम्झेको बताए । उनले भने, ‘आर्थिक अभावले म उपचारविहीन र बेवारिसे अवस्थामा जता पायो त्यही बस्दै आएको थिए । शरीरभरि खै कसरी घाउ पलायो र किरा पर्‍यो । थाहा भएन । अब त बाँच्छु भन्ने आशा पलाएको छ ।’


प्रकाशित : जेष्ठ ८, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?