मुहान सुकेपछि बसाइँसराइ

कान्तिपुर संवाददाता

पाँचथर — कुम्मायक गाउँपालिका पानीका मुहान सुक्न थालेपछि स्थानीय बसाइँ सर्न थालेका छन् । यो आर्थिक वर्ष मात्र २५ घर गाउँबाट बसाइँ सरेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

स्थानीय बसाइँ जान थालेपछि जमिन बाँजिएका छन् । तेह्रथुम जिल्लासँग सिमाना जोडिएको यो गाउँपालिका २ सय २९ वर्ग मिटरमा फइलेको छ । १६ हजारभन्दा बढी जनसंख्या रहेको यो गाउँपालिमा अहिले पुग नपुग १० हजार जनसंख्या रहेको अध्यक्ष चेम्जोङ बताउँछन् ।

सात वर्ष अघिबाट गाउँमा रहेका पानीका मुहान सुक्न थालेका हुन् । स्थानीय लेखनाथ खनाल गाउँका अधिकांश मानिस तराईमा बसाइँ सरेको बताउँछन् । प्रदेश सरकारले सुख्खा ग्रस्त क्षेत्रका रूपमा वर्गीकरण गरेको उक्त गाउँपनलिकालाई केन्द्र र प्रदेश सरकारबाट पानीको समस्या सामाधान गर्न डिप बोरिङ र तमोर लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गरेको भए पनि बसाइँ सराइको क्रम भने रोकीएको छैन ।

गाउँपालिकाका सिम्म्रा, हात्तिपोखरी, हाङठुवा, आहाले लगायत क्षेत्रमा अहिले मानवविहीन हुने अवस्थामा पुगेका छन् । बस्ती पातलीयसँगै एक दुई घरहरूले लगाएका अन्न बाली समेत जङगली जनवारको आहारा हुन थालेको हाङठुवाका किसान रविलाल ढुङगानालेबताए । सुन्तोलाको व्यावसायिक खेती गर्दै आएका कुम्मायक ४ का नरेन्द्र सम्बाहाम्फे अब के खेती गर्ने भनने चिन्तामा छन् ।

सुख्खा लागेसँगै सुन्तोलाका बोट सुक्न थालेका छन् । अघिल्ला वर्षहरूमा ५०–६० हजारको सुन्तोला बेचेको वताए । सुन्तोला मात्र होइन यस क्षेत्रमा मुख्य कृषिउपज मकै, कोदो, धान, बदाम पनि फल्न छोडेका छन् ।

बसाइँ सर्ने क्रमलाई कसरी रोक्न सकिन्छ भन्ने योजना बनाइ रहेको अध्यक्ष चेम्जोङले बताए । डिप बोरिङबाट तत्काल खानेपानी समस्या समाधान गरे पनि सिँचाइको विकल्प समेत खोजिएको उनले वताए । तमोर खोलाको पानीलाई लिफ्टिङ गरी वितरण गर्ने काम अन्तिम चरणमा पुगे पनि त्यसले सिचाइ गर्न कठिन हुने उनले बताए । गाउँपालिकाकी उपाध्यक्ष सिता आचार्यले खानेपानी र सिँचाइका लागि स्थानीय सरकारले पहल गरी रहेकाले गाउँ नछोड्न स्थानीयलाई आग्रह गरिन् ।

ज्ञानु घिमिरे(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ६, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्

डेढ दशकपछि वीरगन्जमा लावां

शिख समुदायमा दाइजो लिनेदिने चलन छैन
शंकर आचार्य

पर्सा — वीरगन्ज चिनी मिल आवास क्षेत्रबाट बिहीबार मध्याह्न बाजागाजासहित जन्ती निस्कियो । जन्ते महिला तथा पुरुष नाच्दै पावरहाउसस्थित शिख समुदायको नयाँ गुरुद्वारा प्रवेशद्वार पुगे । त्यहाँ बधु पक्षले बर पक्षको न्यायो स्वागत गर्छन् ।

बीरगन्जस्थित गुरुद्वारामा गुरुग्रन्थ साहेबलाई साक्षी राखेर विवाह गर्दे सिख समुदायका बेहुला बेहुली । तस्बिर : शंकर/ कान्तिपुर 

अनि बरबधुले गुरुद्वारामा पवित्र धार्मिक ग्रन्थ गुरुग्रन्थ साहेबलाई साक्षी राखेर उनैको चार फेरा (परिक्रमा) गरी जीवनभरि एकअर्काको सुखदुःखमा साथ दिने वाचा गर्छन् ।

करिब आधा घण्टामा यो विवाह सकिन्छ । त्यसपछि जन्ती र बेहुली पक्ष एकै थलोमा बसेर भोजका रूपमा लंगर प्रसाद खान्छन् । उनीहरू बेहुला बेहुलीलाई बधाई तथा दाम्पत्य जीवनको शुभकामना दिएर बिदा हुन्छन् । लंगर प्रसादमा रोटी, तरकारीबाहेक अन्य विशेष पकवान थिएन । भारतमा चर्चित ‘चट मगनी, पट व्याह’ शैलीमा भएको विवाह मितव्ययी त थियो नै नेपालमा शिख समुदायको पुरानो गढ मानिएको वीरगन्जमा झन्डै डेढ दशकपछि समुदायकोदोस्रो विवाह पनि थियो । शिख समुदायले विवाहलाई ‘लावां’ भन्छन् ।

पछिल्लो समय विवाहको लगनमा वीरगन्जमै दैनिक दर्जनभन्दा बढी विवाह भइरहेका छन् । साँझ परेदेखि मध्यरातसम्म महानगरको मुख्य सडक ढाकेर आतिशबाजी, अर्केष्ट्रा, गीत, बालमजदुरले बोक्ने बत्तीको झिलीमिली आदिको तामझाम देख्न सकिन्छ । तर यो आदर्श विवाहमा न त लाखौं खर्च गरेर तिलक, दहेज, जिन्सी आदिको लेनदेन भयो नभोजभतेरै गरिएको थियो ।

गुरुद्वाराकै सेवक हरि सिंहकी २२ वर्षीया छोरी सुखप्रित कौर र चिनीमिल आवास क्षेत्र आसपास बस्दै आएका प्रितपाल सिंहका छोरा दलजित सिंहबीच भएको सादगीपूर्ण विवाहको क्षण थियो यो । समुदायको नयाँ गुरुद्वारामा सम्पन्न पहिलो विवाह पनि भएकाले समुदायका अगुवा उत्साहित र खुसी थिए । अगुवा जसपाल सिंहले यो समुदायले विवाह गर्न कुनै लगन विशेष नहेर्ने, वरवधु दुवै पक्षलाई अनुकूल भएको दिन प्रायः गुरुद्वारामा विवाह गर्ने चलन रहेको बताए ।

‘शिख समुदायले विवाहका लागि मुहूर्त, तिथि, मिति हेर्नु पर्दैन,’ उनले भने, ‘दुवै पक्षको सहमतिमा गुरुद्वारामा गुरुग्रन्थ साहेबलाई साक्षी राखेर उहाँको आर्शिवाद थापेर विवाह गरिन्छ ।’ जन्ती लिएर आउने वर पक्षलाई गुरुद्वाराको आँगनमा वधु पक्षले स्वागत गरेपछि दुवै पक्षका अगुवा एकअर्कासँग अंकमालगर्ने विधिलाई ‘मिल्नी’ भनिन्छ ।

त्यसपछि गुरुग्रन्थ साहेबमा उल्लिखित विशेष गुरुवाणी मन्त्रोच्चारणसँगै वरवधुले चारपटक गुरु मण्डपकै (जुन स्थायी रूपले गुरुद्वारामा निर्मित हुन्छ) चार फेरा लगाएर दाम्पत्य जीवन सहयात्राको पवित्र सुरुवात गर्छन् ।

सिंहले गुरु नानकजी महाराजले विवाह शारीरिकमात्र नभई आत्मिक मिलन पनि भएको र विवाहपछि गृहस्थ अवस्थामै संन्यासी व्यवहार गर्न सकिने सन्देश दिएको बताए । वधुका पिता हरिले आफूले एक पैसा दाइजो दिनु नपरेको बताए । ‘एक त शिख समुदायमा दाइजो लेनदेन चल्दैन,’ उनले भने, ‘मैले आफ्नो छोराकोविवाहमा पनि दाइजो मागिन् ।’

बेहुलाका पिता प्रितपालले पनि आफूले बेहुली पक्षबाट दाइजोको चाहना नगरेको सुनाए । ‘शिख समुदायमा दाइजो लेनदेन हुन्न,’ उनले भने, ‘मलाई दाइजोको लोभ छैन, सम्धीजीले संस्कारी र गुणी छोरी दिनु भो त्योभन्दा ठूलो दाइजो के हुन्छ र ।’ बेहुली सुखप्रित स्थानीय जिएपी स्कुलमा शिक्षिका छिन् भने बेहुला दलजित व्यवसायी हुन् । उनको वीरगन्जमै कस्मेटिकको राम्रो व्यवसाय छ ।

समुदायका अर्का अगुवा हरविन्दर सिंह २ दशकयता वीरगन्जमा शिखहरू पातलिंँदै गएपछि विवाह योग्य केटाकेटीले विवाह गर्न उपयुक्त वर वधुसमेत नपाउने स्थिति आएको र धेरैले भारतमै छोरा वा छोरीको विवाह गर्नुपर्ने अवस्था आएको बताए । यस्तो अवस्थामा वीरगन्जमै वर वधु फेला परेर विवाह हुनु एउटा दुर्लभ संयोगजस्तो भएको उनको प्रतिक्रिया थियो ।

बेहुला दलजित र बेहुली सुखप्रितले स्वदेशमै विवाह गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘हामीले जन्मभूमिमै र नयाँ गुरुद्वारामा विवाह गर्ने संयोग पनि जुर्‍यो,’ दलजित र सुखप्रितले एक स्वरमा भने, ‘वीरगन्जमा डेढ दशकपछि समुदायको यो पहिलो विवाह भएकाले हामी उत्साही छौं ।’

कुनै समय ५ सयभन्दा बढी शिख परिवार वीरगन्जमा थिए । द्वन्द्वकालमा मुख्य पेसा यात्रु तथा मालवाहक सवारी चलाउन कठिन भएपछि कतिपयले व्यवसायमा ठूलो घाटा व्यहोरे । धेरैले व्यापार नै छाडेर पलायन भए ।

हाल वीरगन्जमा करिब ५० शिख परिवार पानीटंकी, आदर्शनगर, मूर्ली, तेजारथ टोललगायतमा बसोबास गर्छन् । यहाँका शिख समुदायको वर्तमान पुस्ता पुर्ख्यौली गाडीको व्यवसायबाहेक अन्य बन्द व्यापारमा पनि लागेको छ । युवाहरू उच्च शिक्षा हासिल गरी रोजगारी तथा थप शिक्षाका लागि बिदेशिएका छन् ।

शिख समुदायका पुराना तथा वर्तमान पुस्ताले पनि पहाडी समुदायका ब्राम्हण, क्षेक्री महिलासँग अन्तरजातीय विवाह गरेका छन् । हाल वीरगन्जमा यो समुदायका व्यत्ति मारवाडी, पहाडी र मधेसी समुदायसँग साझेदारीमा पनि व्यापार गरिरहेका छन् ।

शिखहरू स्थानीय समाजमा छिट्टै घुलमिल हुने, स्थानीय भाषा बोल्ने, सामाजिक कार्यमा हातेमालो गर्न पछि पर्दैनन् । गुरु नानकजीलाई मूल धर्म पुरुष मान्ने यो समुदाय गुरुद्वारामा बडो श्रद्धापूर्वक पूजाअर्चना गर्छन् । मूर्ती पूजामा विश्वास नगर्ने यो समुदायले सबै धार्मिक समारोहमा पवित्र धार्मिक ग्रन्थ गुरुग्रन्थको पूजा गर्छन् ।

गुरु नानकले दिएको पाँच केश (कपाल), कंघा (काइयो), कडा (बाला), कछेरा (कट्टु) र कृपान (तरबार) जहिल्यै सँगै बोक्नुपर्ने नियमको यो समुदायले पालना गर्दै आएको छ ।

शेरे पन्जाबको रूपमा प्रसिद्ध पन्जाबका तत्कालीन राजा रन्जित सिंहसँग नेपालका तत्कालीन प्रधानमन्त्री अमरसिंह थापाको प्रयासमा करिब डेढ शताब्दीअघि दुवै मुलुकबीच दौत्य सम्बन्ध कायम भएको थियो । ब्रिटिस शासकले रन्जित सिंहकी तेस्री रानी जिन्द कौरलाई कैदी बनाएको केही समयपछि कौर आफ्ना सुसारे र सेवकहरूको सहयोगले कैदबाट भागेर नेपालगन्जको बाटो हुँदै नेपाल आएपछि उनलाई काठमाडौंमा ससम्मान शरण दिइयो ।

केही वर्षपछि लन्डनमा रहेका रानी जिन्द कौरका छोराले उनलाई लन्डन लगेपछि उनीसँगै आएका थुप्रै सुसारे र सेवक नेपालगन्ज र आसपासको शिखनपूर्वा, बनकटवा, जमुनाहालगायत गाउँमा सधैंका लागि बसे । यसरी नेपालमा शिख समुदायको प्रवेश करिब १ सय ५० वर्षअघि भएको मानिन्छ ।

नेपालगन्जपछि वीरगन्ज नाकाबाट झन्डै साढे ६ दशकअघि शिख समुदायको प्रवेश भएको हो । भारतको जम्मुबाट काहान सिंह, करतार सिंह, इशर सिंह, लाल सिंहलगायतको समूह ट्रक लिएर नेपाल प्रवेश गर्‍यो ।

यो मालबाहक सवारीसँगै नेपालमा व्यावसायिक ढुवानी सेवाले पनि जन्म पायो । नेपालमा राजमार्गको सञ्जाल बढदै गएपछि शिख समुदाय पनि क्रमशः रोजगारी र व्यवसायका लागि नेपाल भिक्रिने त्रम बढ्यो । यो समुदायले नेपालको यात्रु र मालबाहक सवारीलाई व्यावसायिक रूपमा नेपालमा स्थापित गरायो ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्