कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय संगीत महोत्सवको तयारी

तेह्रथुम — तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको चौकी बजार आसपासमा चैत २२ मा विभिन्न देशका करिब २५ हजार पर्यटकको जमघट हुँदैछ । 

संखुवासभाको मादी नगरपालिकाको सहयोगमा काठमाडौंमा रहेको शक्ति पिक नेपाल नामक संस्थाले स्थानीय तीनजुरे गुराँस क्लवको संयोजनमा एक साता लामो अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सवको आयोजना गर्न लागेको हो ।


यही मेसोमा विश्वभरका २५ हजारभन्दा बढी पर्यटक र संगीतका पारखीहरू चौकी बजारमा भेला हुन लागेको मादी नगरपालिकाका प्रमुख विदुर लिङथेपले बताए । नेपालमै पहिलो पटक हुन लागेको सांगीतिक कार्यक्रमका लागि संखुवासभाको चौकी र मंगलबारे क्षेत्रमा धमाधम पूर्वाधार निर्माण भइरहेको छ ।


‘कार्यक्रमका लागि अहिलेदेखि नै तयारी भइरहेको छ,’ नगर प्रमुख लिङथेपले भने, ‘गुराँस र विदेशी पर्यटकका टेन्टले नयाँ वर्ष अगावै चौकी र मंगलबारे क्षेत्र रंगिनेछ ।’ मादी नगरपालिका १ राँकेधार डाँडामा हुने कार्यक्रममा विश्वका ख्याती प्राप्त संगीत ब्यान्डमा आबद्ध संगीतकर्मीहरूको सहभागिता हुने आयोजक संस्थाले जनाएको छ ।


महोत्सवको संयोजन गरिरहेको स्थानीय तीनजुरे गुराँस क्लवका अध्यक्ष रविन तामाङका अनुसार चैत २२ देखि वैशाख ७ गतेसम्म महोत्सव आयोजना हुनेछ । तर नगरपालिकाले भने एक साताका लागि मात्र दैनिक १ हजार राजस्व जम्मा गर्न लगाएर आयोजकलाई महोत्सवका लागि स्वीकृति दिएको छ ।


गत वर्ष यही सिजनमा आयोजना भएको कार्यक्रममा भने नगरपालिकाले राजस्व लिएको थिएन । तर यस पटकबाट एनदमै न्यून कर लिएर आफ्नो नगरपालिका क्षेत्रमा विदेशी पर्यटक भित्र्याउन लागिएको नगर प्रमुख लिङथेपको भनाइ छ ।


महोत्सवका कारण विश्वको ध्यान संखुवासभाको मादी नगरपालिकामा तानिने उनले दाबी गरे । गुराँसभूमि टिएमजे क्षेत्रको विश्वमा प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । ‘हामीसँग विश्वमै नभएको प्राकृतिक गुराँस वन सहितको सम्पत्ति छ,’ नगर प्रमुख लिङथेपले भने, ‘यिनै प्राकृतिक सम्पत्ति देखाएर विश्वको ध्यान मादीमा केन्द्रीत गर्ने अभियानमा हामी छौं ।’


महोत्सवमा भाग लिन आउने अमेरिका, बेलायत, जर्मनी, रूस, क्यानडा, जापान लगायतका देशका संगीतकर्मीहरूको जमघटले टिएमजे क्षेत्रको मात्र नभई नेपालकै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने चौकी बजारमा लालीगुराँस होटल सञ्चालन गरी बसेका उदय तामाङले बताए ।


कार्यक्रमको तयारी र व्यवस्थापनका लागि ठूलो संख्यामा स्थानीय महिनायता खटिरहेका छन् । गुराँसको राजधानी भनिएको यो क्षेत्रमा भ्रमणका लागि आउनेहरूलाई नयाँ वर्ष २०७६ अन्तर्राष्ट्रिय स्तरको संगीतका साथ मनाउन पाउने अवसर रहने अध्यक्ष तामाङले बताए ।


एकै पटक यति धेरै देशका पर्यटक आफ्नै घर आँगनमा आउने भएपछि चौकी बजार, मंगलबारेदेखि आसपासका गाउँबस्तीका बासिन्दा निकै उत्साहित छन् । सडक मार्गका कारण पछिल्लो समय ओझेलमा परेको यो क्षेत्रको पदमार्ग र पर्यटन व्यवसायले पुनः गति लिने आशा पलाएको चौकी बजारका स्थानीय सुरेश कुमार पाठकले बताए ।


महोत्सवलाई स्थानीयले आफ्नो क्षेत्रको ठूलो र महत्त्वपूर्ण चाडका रूपमा लिएका छन् । विश्वभरका पर्यटकले महोत्सवमा आउन अहिलेदेखि नै अनलाइनमार्फत फाराम भरिरहेको नगर प्रमुख लिङथेपले बताए ।


यहाँसम्म आएका पर्यटकले उच्च पहाडी हावापानी, यहाँको जंगली सुन्दरता र लेकाली जनजीवनमा रमाउन समेत पाउने छन् । महोत्सवलाई संगीत र कलाको पर्वका रूपमा मनाउन १ सय २ देशका विदेशी पर्यटक र कला र संगीतका पारखीहरू समेतको मादी नगरपालिकामा जमघट हुने ९ नम्बर वडाध्यक्ष पासाङ शेर्पाले बताए ।


पर्यटक बस्नका लागि चौकी, मंगलबारे र गुफा बजारको मध्यभागमा रहेको खुला चौरमा टेन्ट टाँगेर पूर्वाधार निर्माण भइरहेको छ । चौरमै खाने, बस्ने, सुत्ने र रमाउने प्रबन्ध मिलाउने गरी बस्दोबस्तीका सामान तयारी गरिरहेको आयोजक संस्थाका कार्यक्रमका प्रबन्धक सुवास केसीले जानकारी दिए ।

प्रकाशित : चैत्र १७, २०७५ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?