११० वर्षीयालाई सम्मान

महिला दिवस
कान्तिपुर संवाददाता

मोरङ — जहदा गाउँपालिका २ हरिनगरकी १ सय १० वर्षीया पार्वतीदेवी शर्मा शुक्रबार सम्मान गरियो । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उनीलगायत सात जना ज्येष्ठ महिलालाई गाउँपालिकाले सम्मान गरेको हो ।

जहदा गाउँपालिकाले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार सम्मान गरिएका ज्येष्ठ महिला । तस्बिर : देवनारायण साह/कान्तिपुर

गाउँपालिका अध्यक्ष कैलाश मण्डल र उपाध्यक्ष शालो साहले दोसल्ला र एक हजार नगद संयुक्त रूपमा प्रदान गरेर शर्मालगायतलाई सम्मान गरे । शर्माको २ छोरा र १ छोरीमा १० नाति र २ नातिनी, ६ पनाति र ११ पनातिनी र ५ जना जनाति रहेको स्थानीय अजय सिंहले बताए । मध्यम वर्गीय परिवारकी शर्मा अहिले पनि आफ्नो काम आफैं गर्दै आइरहेको उनले बताए । १ सय १० वर्षको उमेरमा पनि हजुरआमाले नित्यकर्म, स्नान, खाना आफैंखाने गरेको उनका नाति महेन्द्र शर्माले बताए ।

‘घरमा हजुरआमालाई स्याहार गर्ने बुहारी, नाति बुहारीलगायत पानतिहरू छन्,’ उनले भने, ‘तर हजुरआमा अझै आफ्नो काम आफैं गरिरहनु भएको छ ।’ अहिलेसम्म खासै कुनै रोगलेसमेत नसमातेको तर कहिलेकाहीँ पखाला लाग्ने गरेको उनको भनाइ थियो । उनको पति कनकिर शर्माको ६८ वर्षको उमेरमा २०३६ सालमा निधन भएका थियो ।

हजुरआमाले बिहान दाल, भात, तरकारी र दूध,दही, बेलुका नास्तामा दही च्युरा र राति रोटी दूध नियमित खाने गरेको महेन्द्रले बताए । वडा ३ की अन्चदेवी राजबंशी पनि सम्मानित भएकी हुन् । उनी बुहारी दुर्गादेवी राजवंशीको सहारामा सम्मान थाप्न जहदा ५ लक्ष्मिनिया चौकमा रहेको गाउँपालिकासम्म आएकी थिइन् । कुप्रो परेर हिँडडुल गर्ने अन्चदेवीको १ छोरा र २ छोरी छन् ।

९२ वर्षीया पुर्णीदेवी मुखिया, ९० वर्षीया सुट्रीदेवी मण्डल, ८७ वर्षीया मक्कुदेवी सोरेन र ८५ वर्षीया संझादेवी साहलाई सम्मान गरियो । गाउँपाकिास्थित ७ वटै वडाबाट १/१ जना महिला ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । गाउँपालिकाले नारी दिवसको अवसर पारेर वृद्धाहरूलाई एकै ठाउँमा राखेर सम्मान गर्दा हर्षित देखिन्थें ।

‘ज्येष्ठ नागरिकको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको हो,’ अहध्यक्ष मण्डलले भने, ‘वृद्धाहरूको सम्मानमा गाउँपालिका यसरी नै लागिपर्नेछ ।’ कार्यक्रममा बोल्दै मण्डलले समाजमा महिलापुरुषबीचको असमानता हटाउनका लागि राज्यको हरेक निकायमा महिलाका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरिनुपर्ने माग गरे ।

कार्यक्रममा जहदा गाउँपालिकाको उपप्रमुख सालो साहले गाउँपालिकाको हरेक वडामा महिलालाई संगठित गरिँदै आएको बताइन् । महिलाहरूको क्षमता र नेतृत्व विकास गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरेको ऊनले बताइन् ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्

महिलालाई कम ज्याला

कान्तिपुर संवाददाता

खोटाङ — अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार दित्तेलमा बृहत् जुलुस भइरहेको थियो । २१ वटा सरकारी तथा गैरसरकारी निकायले आयोजना गरेको र्‍याली तथा सभामा महिला अधिकारकर्मीदेखि महिला नेतृसम्म जुलुसमा सरिक थिए । स्थानीय समीक्षालय हलमा कार्यक्रम भयो ।

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका दिन शुक्रबार खोटाङको मझुवागढी क्षेक्रमा बालबालिकासहित गिटी कुट्दै दित्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० निर्मलीडाँडाकी कुमारी रोका ।तस्बिर : डम्बरसिं राई/कान्तिपुर

त्यसैको नजिक मझुवागढी आसपास सञ्चालन गरिएका ढुङ्गा तथा गिटी खानीमा पसिनाको धारा छुट्टयाएर गिटी कुटिरहेका थिए करिब आधा दर्जन महिला । त्यत्ति मात्र होइन मध्यपहाडी लोकमार्ग निर्माणमा संलग्न महिला कामदारहरू समेत पसिनाको धारा बगाउँदै काम गरिरहेका थिए ।

मझुवागढी क्षेक्रमा गिटी कुटिरहेकी दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० निर्मलीडाँडाकी कुमारी रोकाले दिवसले आफूहरूलाई केही नदिने बताइन् । त्यस्तै त्यही गिटी कुटिरहेकी हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी ५३ वर्षीया फूलसरी राईले पनि दिवसको कुनै अर्थ नरहेको गुनासो पोखिन् । उनीहरू लगायत खोटाङमा निर्माणाधीन विभिन्न विकासे योजनाहरूमा काम गर्ने कामदार महिलाहरूलाई भने दिवसले छोएन ।

समीक्षालयमा भएको औपचारिक कार्यक्रममा धेरैजसो महिला नेतृ तथा अधिकारकर्मीहरूले संविधानमा उल्लेखित बुँदाहरूलाई अक्षरांश पालना गर्नुपर्ने माग राखे । समावेशी र सहभागिताको सन्दर्भमा निक्कै चर्को आवाजहरू गुन्जिए । जुन सत्तामा पुग्ने शब्दहरूले उनिएको भाषण थियो । तर उनीहरूलाई सत्तामा पुग्न भोट हाल्ने महिला मजदुरको पक्षमा भने कुनै शब्द उच्चारण भएन ।

खोटाङमा कामदार महिलाहरू भने समान ज्यालाको आजाव उठाउँन चाहन्छन् । एउटै काममा खटिएका पुरुषले भन्दा दुई सय कम ज्याला पाउँदा दुःख भएको मध्यपहाडी लोकमार्गमा काम गर्ने एक महिलाले बताइन् । उनका अनुसार पुरुषलाई प्रतिव्यक्ति एक हजार हुँदा महिलालाई चाहिँ आठ सय रुपैयाँ मात्र दिएको दुखेसो पोखिन् ।

‘काम एउटै हो ।’ उनले भनिन्, ‘ज्याला भने दुई सय कमी दिन्छन् ।’ उक्त निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले भने पेटी ठेक्कामा काम लगाइएकाले आफूलाई थाहा नभएको बताए । नेपाल निर्माण व्यवसायी संघ खोटाङका अध्यक्ष दिनेश पौडेलका अनुसार जिल्लामा करिब २० हजार कामदारमध्ये १५ प्रतिशत महिला कामदार छन् । यसमध्ये उनीहरू प्राय अर्धदक्ष जनशक्ति भएकाले हेल्परका रूपमा ज्याला पाउने गरेको अध्यक्ष पौडेलको दाबी छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्