कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी वनमा आकर्षण बढ्दै

कान्तिपुर संवाददाता

धनकुटा — चारैतिर हरियाली वन छ । थरिथरिका रहर लाग्दा बोटबिरुवा र घाँसे चौरमा रमाउँदै जरायो, खरायोलगायत पशुपन्छी चरिरहेका देखिन्छन् । कतिपय खेती गर्न छाडेर रुखो भएका पाखा छिचोल्दै पुगिने पाख्रिबास नगरपालिका १, सान्नेमा रहेको छिन्ताङदेवी कृषि फर्मअन्तर्गत निजी वनमा उक्त दृश्य नियाल्न सकिन्छ ।

निजी वनमा आकर्षण बढ्दै

पछिल्लो समय निजी वनतर्फ सर्वसाधारणको चासो बढ्दै गएको अवस्थामा उक्त वन उदाहरणीय बन्दै छ । एक सय रोपनी क्षेत्रफलमा दर्जनौं प्रजातिका सयौं वनस्पति रहेको उक्त वन जिल्लाकै नमुना बनेको छ ।


निजी वनमा उत्कृष्ट कहलाएको वन नियाल्ने जोकोहीलाई आकर्षित गर्छ । वर्षौं पहिले आफैंले बिक्री गरेको जग्गा पुनः खरिद गरेर निजी वनको सुरुवात गरेको कृषि फर्मका सञ्चालक नवीन दाहालले बताए । उनले चौबिसे गाउँपालिका ८ वसन्तटारका तिलक कार्कीको सहकार्यमा वन व्यवस्थापन गर्दै आएका छन् ।


३ वर्ष पहिले सुरु गरेको वन व्यवस्थापन छोटै अवधिमा रहरलाग्दो अवस्थामा छ । १ सय रोपनी क्षेत्रफलमा रहेको वनमा रुद्राक्ष, पाउलियनिया, मलेसियन सखुवा, अस्ट्रेलियन टिकका रुख रहेको सञ्चालक दाहालले जानकारी दिए । यसैगरी साढे २० हजार कफीको बिरुवा समेटिएको छ । सयौं बोट मलेसियन सखुवा, टिक र २५ हजार पाउलिनिया, ५ सय रुद्राक्ष वनमा रहेको छ । उक्त क्षेत्रलाई कफीको पकेट क्षेत्र बनाउन स्थानीयले जोड दिँदै आएका छन् ।


निजी वनबाटै स्थानीयलाई समेत कफीको बिरुवा वितरण गरिँदै आएको छ । ‘हामीले आफ्नो व्यक्तिगत फाइदा मात्र नहेरी समग्र यस क्षेत्रको विकासका लागि पकेट क्षेत्रको माग गर्दै आएका हौं,’ दाहालले भने, ‘उपयुक्त हावापानी र भूगोलका कारण कफीको पकेट क्षेत्र घोषणा गरिदिन सके खेर गएका जमिनको सदुपयोग हुने ठानेका छौं ।’ हालसम्म १ करोड रुपैयाँ लगानी रहेको अर्का सञ्चालक कार्कीले जानकारी दिए । निजी वनका लागि राज्यबाट सहुलियत दरमा कृषि ऋण पाउन नसकेको उनले गुनासो पोखे ।


१० वर्षमा प्रतिफल मिल्ने गरी हाल लगानी मात्र गर्दै आएको सञ्चालक बताउँछन् । वन क्षेत्रमा १ हजार बकाइनोको बोट रोपेर १ सय उन्नत जातको खसीबाख्रा पालन गर्ने सोचमा रहेको कार्कीले बताए । निजी वनमा सर्वसाधारणको आकर्षण बढ्न सके खेर गएका जमिन सदुपयोग हुने प्रदेश सांसद निरन राईले प्रतिक्रिया दिए । जिल्लामा पछिल्लो समय निजी वनमा सर्वसाधारणको आकर्षण बढ्दै गएको वन कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?