मेची–महाकाली यात्रा

कान्तिपुर संवाददाता

ताप्लेजुङ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादी आन्दोलन फेरि उठ्ने आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी ओलीलाई बुझाएको २२ बुँदे ज्ञापन पत्र कार्यान्वयनमा दबाब दिने उद्देश्यले सुरु भएको मेची–महाकाली यात्रा शुभारम्भ गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट मेची–महाकाली यात्रा सुरु गर्दै राप्रपा ।तस्बिर : आनन्द गौतम/कान्तिपुर

आफ्नो पार्टीका केन्द्रीय नेतालाई लिएर आएका अध्यक्ष थापाले मुलुकलाई विखण्डनबाट जोगाउन सम्भावित द्वन्द्वबाट मुक्त गराउन र समृद्ध मुलुक बनाउन फरक ढंगले लाग्नुपर्नेमा जोड दिए । सरकारले आफूहरूको मागलाई बेवास्ता गरे चैतदेखि संघर्ष गर्ने थापाको चेतावनी छ । उनले यो यात्रा कुनै जाति,भाषाभाषी वा पार्टीको विरुद्धमा नभएको बताए ।

अब नेपाली परिवेश सुहाउँदो नेपाली राजनीतिको मध्यमार्गी बाटो अवलम्बन गर्नुपर्ने उनको जोड छ । गाई, स्वयम्भूको प्रतीक समेत गाडीमा लिएर आएका थापाले नेपालको नक्सामा पूजा गरेर यात्रा सुरु भएको घोषणा गरेका थिए ।

घुमीफिरी रुम्जाटार भनेजस्तो फेरि माओवादी द्वन्द्व सुरु हुन लागेको उनले दाबी गरे । केही दिनअघि एनसेलको टावरमा भएको आक्रमण यस्सको संकेत भएको उनको बुझाइ छ । देश टुक्र्याउने विरुद्ध प्रशासन मौन रहेको उनले आरोप लगाए ।

‘राजनीतिक दलको अदूरदर्शिता अकर्मण्यताका कारण पहिलोपटक राष्ट्र विखण्डनको आवाज उठेको छ,’ थापाले थपे, ‘म प्रधानमन्त्रीलाई प्रश्न गर्छु, तपाईंले हिजोको दिनमा कहिल्यै नझुक्ने दृढता व्यक्त गर्नुभयो, त्यही भएर जनताले दुई तिहाइ बहुमत दिए । तर कुन शक्तिको दबाब र प्रभावले गर्दा केपी ओली निरीह र लाचार बन्नुभएको छ ?’

तराईलाइ स्वतन्त्र भन्दा सरकारको प्रशासन यन्त्र किन मौन बस्यो भन्दै उनले प्रश्न गरे । इतिहासमा विभिन्न राजनीतिक परिवर्तन भएर व्यवस्था फेरिए पनि देश टुक्र्याउने आभाष कहिल्यै नभएको उनले दाबी गरे ।

राष्ट्र विखण्डन, माओवादीको पुनरावृद्धि धार्मिक आक्रमणका कारण मुलुकमा समस्या पैदा भएको राप्रपाको बुझाइ छ । जनताका झुपडीमा बसेर परिवर्तनका नाममा मकै भटमास खाएका नेताहरू रातारात करोड/अरबपति भएको भन्दै थापाले २०४७ सालपछिको सम्पत्ति छानबिन गर्न आफ्नो पार्टीले माग गरेको बताए । त्यसअघिका नेता तथा प्रशासन यन्क्रका व्यत्तिहरू दिवंगत भइसकेका र बाँकी रहेकाहरू पनि राजनीतिक रूपमा दोहोरिएकाले ४७ सालपछिको मात्रै कुरा उठाइएको सांसद राजेन्द्र लिङदेनले प्रस्टीकरण दिए ।

नेताहरू औषधोपचारकालागि सिंगापुर, जापान अमेरिकाजाने तर जनता भने सिटामोलखान नपाएर र सुत्केरी महिलाले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने क्रमको अन्त्य हुनुपर्नेमा थापाको जोड थियो ।

प्रकाशित : फाल्गुन १६, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

उडेको एक मिनेटमै हेलिकप्टर पहरोमा

दुर्घटनामा मन्त्री अधिकारीसहित सातैको मृत्यु
आनन्द गौतम

माथिल्लो फेदी, ताप्लेजुङ — पाथीभराको मौसम बुधबार बिहान खुलेको थियो । बिहानैदेखि हेलिकप्टरले भेडेटारबाट यात्रु ओसारिरहेका थिए । सिम्रिक एयरले चार खेप यात्रु भेडेटारबाट ल्याइसकेको थियो । करिब १ बजेतिर मन्त्री अधिकारीसहितको टोली पाथीभरा मन्दिरमा दर्शनका लागि एयर डाइनेस्टीको हेलिकप्टरबाट ओर्लियो । 

सबैले पाथीभरा दर्शन गरे । त्यहाँ स्वर्गद्वारीका फलाहारी बाबा लोकनाथ अधिकारी, किराँत धर्मगुरुका अगुवा चन्द्रकुमार शेर्मासँग मन्त्री टोलीको भेट भयो । उनीहरूले तस्बिर खिचाए । त्यहीबीच लोकनाथले मन्त्रीलाई सोधे, ‘तपाईंलाई दोष लागेको छ, तपाईं त्यो दोषबाट मुक्त हुनुहुन्छ ?’ मन्त्रीले हाँस्दै भने, ‘मैले केही गल्ती गरेको छैन, म दोषमुक्त हुनेछु ।’ यति भनेर उनी बिदा भए ।

त्यहीबीच हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीले मौसम बिग्रिन थालेको भन्दै छिटो जान आग्रह गरे । टोली हतार–हतार उड्यो ।
लगत्तै ठेचुङका स्थानीयले पाथीभराबाट ओरालो लाग्दै गरेको हेलिकप्टर देखे । सिधै उड्नुपर्ने हेलिकप्टर ओरालो लागेको देखेपछि उनीहरू झस्किए । हेर्दाहेर्दै हेलिकप्टर जंगलभित्र छिर्‍यो । माथिल्लो काफ्लेपाटीकी इन्द्रमाया भट्टराईले ठूलो आवाज सुनिन् ।

‘बेस्सरी हुरी चलेको थियो, त्यही बेलाठूलो आवाज आयो,’ उनले भनिन्, ‘आगो लागेको देखियो ।’ उनको घरबाट दुर्घटनास्थल स्पष्टै देखिन्छ । हेलिकप्टर ठूलो ढुंगामा ठोक्किएको थियो । दुर्घटनालगत्तै फुङलिङ–१०, फुरुम्बुका शुक्रवीर भट्टराईले माथिल्लो फेदीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज उमानाथ पौडेललाई फोन गरे, ‘हेलिकप्टर तलतिर आएको थियो, खसेजस्तो छ । आगो लागिरहेको छ ।’

त्यसपछि पौडेलसहितका स्थानीय दौडेर घटनास्थलतर्फ लागे । उपचार सामग्री बोकेर उनीहरू ४५ मिनेटमा घटनास्थल पुगेका थिए । ‘हेलिकप्टर ठूला दुई टुक्रा भएर बलिरहेको थियो, शव पूरै जलेको थियो,’ उनले कान्तिपुरसँग भने, ‘मन्त्री अधिकारीको छाती र टाउको ओडारको कापमा परेकाले चिन्यौं ।’

हेलिकप्टर तलतिर गएपछि पाथीभरा मन्दिरका पुजारीले पनि माथिल्लो फेदीका इन्द्रनारायण भट्टराईलाई फोन गरेर जानकारी दिएका थिए । ‘माथि जानुपर्ने हेलिकप्टर तलतिर गयो, के भयो हेर्नुस् है,’ उनले भनेका थिए ।

हेलिकप्टर खसेको पुष्टि भएपछि माथिल्लो फेदीबाट प्रहरी र थप स्थानीय तारेढुंगा भीरतर्फ लागे । अस्थायी प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासी घटनास्थल पुगेर उद्धारमा जुटे । स्याउला भाँचेर आगो निभाए र शव एक ठाउँमा जम्मा गरे । घटनास्थलमा रहेका पाथीभरा मन्दिरका कर्मचारी उमिद लिम्बूले भने, ‘हेलिकप्टर जलिरहेको थियो । प्रहरी पुगेपछि उनीहरूसँगै उद्धार गर्न थाल्यौं ।’
फुङलिङ नगरपालिका–१०, तारेभीरमा बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको शव उठाउन मौसम बाधक भयो । घटनास्थलमा बुधबार हिमपात भएकाले शव उठाउन समस्या परेको हो । पर्यटनमन्त्री अधिकारीसहित चारको शव भने बुधबारै सुकेटार विमानस्थल पुर्‍याइएको छ ।

दुर्घटनामा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा रेडियो इन्जिनियर वीरेन्द्रप्रसाद श्रेष्ठ र सिभिल इन्जिनियर ध्रुवदास भोछिभोय, प्रधानमन्त्री कार्यालयका अधिकृत युवराज दाहाल, मन्त्रीका अंगरक्षक जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीको ज्यान गयो ।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले घटनास्थलबाट तीन शव रातिसम्म माथिल्लो फेदीमा ल्याउने प्रयास भइरहेका बताए । घटनास्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी रहेको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जनाए । घटनास्थलबाट माथिल्लो फेदी पुगेका प्राथमिक स्वास्थ्य केन्द्र इन्चार्ज उमानाथ पौडेलले घटनास्थलमा बाक्लो हिमपात भइरहेको बताए ।

प्रकाशित : फाल्गुन १६, २०७५ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्