१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

होमस्टेले लोभ्याउँदै पर्यटक

विप्लव भट्टराई

इलाम — सोमबार साँझ सन्दकपुर गाउँपालिका १ को देउराली पुग्दा सोमबहादुर राईको घरको रौनक भिन्न थियो । काठ, जस्ता र मालिङ्गोको चित्राले चिटिक्क सजिएको घर अगाडि आकर्षक ढंगले सजाइएको आँगनमा हातमा माला लिएर स्थानीय स्वागतका निम्ति तयार थिए । बाँसबाट सुन्दर ढंगले बनाइएको गेटबाट भित्र छिर्नासाथ उनीहरूले माला लगाइदिँदै अतिथिको स्वागत गरे ।

होमस्टेले लोभ्याउँदै पर्यटक

स्वागत सकिना साथ भुटेको मकै, गुन्द्रुकको सुप, चिमफिङ र टिम्मुरको अचार अनि सेल रोटीले थाल भरेर अतिथिलाई नास्ता गराए । झिसमिस पानीसँगै धुम्म परेर चिसिएको मौसममा स्थानीयले दिएको सत्कारसँगै रैथानै खाद्यवस्तुले पाहुना पनि फुरुङ्ग देखिन्थे ।

निक्कै नौलो लाग्ने यो क्रियाकलापले पर्यटकीय माइपोखरी क्षेत्रमा होमस्टेको अभ्यास हो भन्ने अनुभूति पाउन मुस्किल थिएन । अथाह पर्यटीय सम्भावना बोकेको सन्दकपुर गाउँपालिकाका विभिन्न पर्यटन केन्द्रमा पुग्ने पाहुनालाई लक्षित गर्दै स्थानीयले माइपोखरी देउराली सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

नेपालसहित भारतको सिक्किममा रहेकासमेत सफल होमस्टेको अवलोकन गर्दै स्थानीय ९ नौ घरले सामुदायिक होमस्टे सञ्चालन थालेका हुन् । ‘केहीअघि होमस्टे सञ्चालनमा ल्याइएपछि अहिले अतिथि आउने क्रम सुरु भएको छ,’ होमस्टे सञ्चालक जीवन शिवाले भने, ‘अपुग भएका कुराहरू थप्दै आगन्तुकको चाहनाअनुसारको व्यवस्थापनमा जुटेका छौं ।’

यहाँका ९ घरमा सञ्चालित होमस्टेमा ५० धेरैलाई खान र वस्नको व्यवस्था गर्न सक्ने क्षमता छ । होमस्टे सञ्चालकले यस क्षेत्रका पर्यटकीय स्थललाई समेटर टुर प्याकेज निर्माण गरिरहेका छन् । सन्दकपुर क्षेत्रमा रहेका माइपोखरी, सन्दकपुर, छिन्टापु, टोडे झरना, ढापपोखरी, मावुथामलगायत पर्यटकीय क्षेत्रलाई समेटेर टुर प्याकेज वनाउदै आफ्नो होमस्टे प्रवद्र्धन गर्ने उनीहरूको लक्ष्य छ ।

‘नयाँ भएकाले अझै पनि सिक्ने क्रममा छौं,’ होमस्टे सञ्चालक समितिकी सचिव लिलादेवी भट्टराईले भनिन्, ‘पर्यटकीय स्थलको घुमघामसँगै स्थानीय उत्पादनको अधिकतम प्रयोग गर्दै यहाँको कलासंस्कृति पस्कने हाम्रो चाहना हो ।’ यो क्षेत्रमा राई, लिम्बू, शेर्पा, ब्रम्हाण, क्षेत्री, दलित लगायतको बसोबास रहेकाले ती जातिको परम्परागत संस्कृति र भेषभूषालाई पनि होमस्टेको आकर्षणका रूपमा प्रयोग गर्ने अभ्यास उनीहरूको छ ।

होमस्टेका लागि घर सजाउने, आकर्षक फूलबारी र बगैंचा निर्माण गर्नेदेखि अतिथि सत्कार र स्थानीय उत्पादनको प्रयोगमा उनीहरूले अलिकति पनि कन्जुस्याइँ गरेका छैनन् । कृषिमा निर्भर यी घरपरिवारलाई हामेस्टेमार्फत जीविकोपार्जनका लागि हौस्याउनेमा चाहि कञ्चनजङ्घा भूपरिधि संरक्षण तथा विकास पहल नेपाल नामक संस्था हो ।

जैविक विविधता तथा जैविकमार्ग संरक्षणको दृष्टिले महत्त्वपूर्ण नेपाल, भारत र भूटानका कञ्चनजङ्घा भूपरिधिभित्रको २५ हजार वर्ग किमि क्षेत्रफलमा यो कार्यक्रम सञ्चालित छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतिय विकास केन्द्र (इसिमोड) ले यी तीन देशमा नै एकीकृत संरक्षणको कामलाई सहजीकरण गरिरहेको छ । जैविक विविधताले भरिपूर्ण यो क्षेत्रको संरक्षणमा स्थानीयवासीलाई पनि समेटदै लैजाने उद्देश्यले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र रिकाष्टले यो कार्यक्रम सञ्चालन गरिरहेको हो ।

‘संरक्षण र आयआर्जनलाई सँगसँगै अघि बढाउने उद्देश्यले होमस्टेलाई प्रर्वद्र्धन गरेका छौं,’ रिकाष्टमा आवद्ध प्राध्यापक यादव उप्रेतीले भने, ‘कार्यक्रमअन्तर्गत झापाको बाहुनडाँगी र पाँचथरको फालेलुङ गाउँपालिका क्षेत्रमा पनि विभिन्न काम सञ्चालनमा छन् ।’

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय सभा अध्यक्ष दाबी गर्ने माओवादीको निर्णयले सत्ता गठबन्धनमा के असर पर्ला ?