कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आरोहण गुरुकुल : ६ महिनामा पनि बनेन छानो

देवनारायण साह

मोरङ — निर्माण कम्पनीको ढिलासुस्तीले विराटनगरस्थित आरोहण गुरुकुलमा नाटक घर निर्माण कार्य समयमा पूरा हुन सकेको छैन । निर्माण कार्य सम्पन्न गर्ने म्याद सकिएको ६ महिना बितिसक्दा पनि निर्माण कम्पनीले नाटक घरको छानासमेत हाल्न सकेको छैन । भारतीय राजदूतावासको अनुदान सहयोगमा निर्माण भइरहेको छ । 

आरोहण गुरुकुल : ६ महिनामा पनि बनेन छानो

खुस्बु निर्माण सेवा विराटनगरले नाटक घरको ठेक्का प्राप्त गरी २०७४ पुस ५ गतेबाट निर्माण कार्य सुरु गरेको थियो । २०७५ भदौ मसान्तमा निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनीले हालसम्म नाटक घरमा छानासमेत हाल्न सकेको छैन । महानगरले निर्माण कम्पनीलाई म्याद थप गरेको जनायो । निर्माण कम्पनीले ३ करोड ५४ लाख ८० हजारमा नाटक घर निर्माणको ठेक्का प्राप्त गरेको छ ।


ठेक्केदार प्रतिनिधि लक्ष्मीनारायण चौधरीले नाटक घरको निर्माणमा आफूरूले ढिलाइ नगरेको दावी गरे । ‘नाटक घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अब छाना हालेर फल्स सिलिङ हाल्ने काम मात्रै रहेकोले चाँडै निर्माण सक्छौं ।’

महानगरपालिकाका इञ्जिनियर गोपाल पोख्रेलले ३ सय ७० जना बस्ने क्षमताको नाटक घरको निर्माण अबको ६ महिनामा पूरा हुने बताए ।


‘हालसम्ममा करिब ७० प्रतिशत निर्माण कार्य पूरा भएको छ,’ उनले भने, ‘अब बाहिर र भित्रको प्लास्टर, रंगरोगन, माथि

छाना हाल्न र फल्स सिलिङलगायतको काम बाँकी छ ।’ भारतीय दूताबासबाट नाटक घरको डिजाइन, नक्सा ल्याउन भएको ढिलाइले समयमा निर्माण काम पूरा हुन नसकेको पोख्रेलको दाबी छ । नाटक घरसँगै दुई तले मेकप र ड्रेसिङ कोठा, लाइट रूम र शौचालयसमेत निर्माण भइरहेको उनले बताए ।


आरोहण गुरुकुलका अध्यक्ष भैरब क्षेत्रीले निर्माण कम्पनीको ढिलासुस्तीले आउँदो फागुन १५ गतेदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सव नव निर्मित नाटक घरमा मनाउन नपाएको गुनासो पोखे । ‘निर्माण कम्पनीले कहिलेसम्ममा निर्माण कार्य पूरा गर्छ भन्ने नै ठेगान छैन,’ उनले भने, ‘ठेक्केदारले आफ्नै तालमा निर्माण कार्य अघि बढाइरहेको छ ।’


साहित्य, कला, संस्कृतिको केन्द्र मानिएको विराटनगरमा नाटक घरको अभावमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नाटक महोत्सव आयोजना भइरहेको समस्याले भारतीय दूतावासमा यो नाटक घरका लागि पहल गरेको क्षेत्रीले सुनाए । ‘७ बर्ष अगाडि गुरुकुलको प्रांणमा २ सय ४२ जना अट्ने सुशिला कोइराला नाटक घर निर्माण भएको थियो,’ उनले भने, ‘त्यसले यहाँको दर्शकको चाप थेग्न नसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नाटक महोत्सवलगायतका कार्यक्रम गर्न अहिले बन्दै गरेको नाटक घरले सघाउ पुग्छ ।’


महानगरले उपलब्ध गराइदिएको १२ कट्टा जग्गामा १२ वटा कोठा भएको २ वटा भवन र सुशिला नाटक घरमा अर्को नाटक घर थपिने क्रममा छ । बन्दै गरेको नाटक घरको पछाडि खाली रहेको जग्गामा कलाकारहरूका लागि होस्टेल निर्माण गर्ने उनको योजना छ ।

गुरुकुलले मुलुकका लागि सफल रंगकर्मीहरू उत्पादन गर्न सफल भएको छ ।


अध्यक्ष क्षेत्रीका अनुसार हालसम्ममा गुरुकुलबाट सुनिल पोख्रेल, रामभजन कामत, मिलन नेपाली, मुकेश कर्ण, उव सापकोटालगायतका सफल रंगकर्मी उत्पादन भइसकेका छन् । तत्कालीन अध्यक्ष प्रदिप श्रेष्ठले २०३७ सालमा गुरुकुल स्थापना गरेको थियो ।


गुरुकुलका महासचिव विवश पोख्रेलले साहित्य, कला, संस्कृतिको संरक्षणका लागि नाटक घर आवश्यक भएको बताए । ‘सहरको सभ्यता त्यहाँको नाटक घरले झल्किन्छ,’ उनले भने, ‘बन्दै गरेको नाटक घरले यहाँ कला क्षेत्रको सम्भाव्यतामा वृद्धि भएको छ ।’ यसअघि भएको सानो आकारको एउटा मात्रै नाटक घरले साहित्यिक र कलासम्बन्धी कार्यक्रम एकै दिन गर्न अप्ठ्यारो हुने गरेको थियो तर अब बन्दै गरेको अर्को नाटक घरले यो समस्या समाधान हुने उनको विश्वास छ ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?