कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९० वर्षमा आदर्श विद्यालय

विद्यालयले २८ माघमा ९० औं वार्षिकोत्सव तथा अभिभावक भेला गर्दैछ

विराटनगर — विराटनगर ७ स्थित आदर्श माध्यमिक विद्यालयले ९० औं वार्षिकोत्सव मनाइरहेको छ । यो काठमाडौंको दरबार हाई स्कुलपछिको मुलुककै दोस्रो ठूलो विद्यालय हो । 

९० वर्षमा आदर्श विद्यालय

विद्यालयको आकर्षक भवन, कक्षापिच्छै प्रोजेक्टर, सीसीटीभी क्यामेरा, तालिमप्राप्त उत्कृष्ट विषय शिक्षक, विशाल चौर, सुन्दर फूलबारी, पुस्तकालय, थुप्रै प्रयोगशाला छन् । पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा र मनमोहन अधिकारीले पनि यसै विद्यालयमा पढेको बताइन्छ ।


१ बिघा १७ कठ्ठा ३ धुर जग्गामा फैलिएको यो विद्यालयमा अहिले १ हजार ९ सय ३७ छात्रछात्रा अध्ययनरत छन् । राणा शासनविरुद्ध आन्दोलनको थालनी गर्ने स्वर्गीय कृष्णप्रसाद कोइरालाले केही विद्यार्थी भेला पारेर १९८६ सालमा यो विद्यालय स्थापना गरेका थिए । पूर्वाञ्चलको १६ वटै जिल्लाका बालबालिका पढ्ने आदर्श विद्यालयले २८ माघमा ९० औं वार्षिकोत्सव तथा अभिभावक भेला गर्दैछ । ‘९० बसन्त पार गरेको अवसरमा अहिले साता व्यापी शैक्षिक, सांस्कृतिक र खेलकुदसम्बन्धी प्रतियोगिता एवं वार्षिकोत्सवको तयारीमा व्यस्त छौं,’ उक्त विद्यालयका प्राचार्य ५५ वर्षीय तुलसीप्रसाद दुलालले भने ।

महानगरकै सबैभन्दा पुरानो उक्त विद्यालयमा १० हजार ३ सय ८६ पुस्तक, ६२ कम्प्युटर, ४६ ल्यापटप, स्मार्ट बोर्ड र गीत एवं कार्टुन चित्रमार्फत पढाउन ४३ बालबालिका भएको शिशु कक्षामा ४० इन्चको एलसीडी टीभी छ ।


विज्ञान, व्यवस्थापन र शिक्षा संकायका सबै विषयबाहेक उक्त विद्यालयमा विहानी पख ऐच्छिक कम्प्युटर, तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ (डीकम), डिप्लोमा इन सिभिल इन्जिनियरिङ, १८ महिने प्राविधिक एसएलसीको पढाइ हुन्छ । निजी विद्यालयको दाँजोमा सस्तो शुल्कमा यहाँ प्राविधिक विषयको पढाइ गराइन्छ । एसईई उत्तीर्ण भएकाको हकमा सहुलियत शुल्क एवं छात्रवृत्तिमा विद्यालयले प्राविधिक विषय पढाउने प्रबन्ध मिलाएको प्राचार्य दुलाले बताए ।

प्रकाशित : माघ २७, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?